— मकवानपुरमा रहेका सहकारीबाट उत्पादित सामग्रीको तीनदिने प्रदर्शनी तथा बिक्री मेला हेटौंडामा सुरु भएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको अवसरमा मंगलबारदेखि यो मेला सुरु भएको हो ।
वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले मेला र सहकारी संघको नवनिर्मित भवनको उद्घाटन गरे । मेलामा कृषि सहकारीहरूले समेत उत्पादन गरेका हस्तकला, खाद्य, मसला, दुग्धजन्य सामग्री सहितका ४३ स्टल राखिएका छन् । मेला १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रदेशकी उद्योग मन्त्री सुकुमाया तामाङले यस्ता प्रदर्शनी र मेलाले उद्यमीहरूलाई उत्साह प्रदान गर्ने बताइन् । जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले भनिन्, ‘यो मेलाबाट सहकारीले गर्दै आएको कामले थप बजार पाउने विश्वास हामीले लिएका छौं ।’
हेटौंडा उपमहानगरपालिका-२ मा सहकारी संघले करिब २ कठ्ठा क्षेत्रफल रहेको जमिनमा ३ करोडको लागतमा भवन निर्माण गरेको हो । यो भवन निर्माण गर्न प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाखभन्दा बढी र संघको जगेडा कोषबाट बजेटको व्यवस्था गरिएको संघले जनाएको छ ।