— बुटवल–गोरुसिंगे सडक ४ लेन विस्तारका क्रममा ७ हजार १ सय ७५ रुख काटिने भएको छ । वन मन्त्रालयको समन्वयमा निर्माण व्यवसायीले रुख काट्ने अनुमति पाएको हो । अहिले सडक क्षेत्रमा परेका रुखको मार्किङ गर्ने काम अन्तिम चरण पुगेको छ । रुख कटानपछि सडकको निर्माण अघि बढ्ने आयोजनाले जनाएको छ ।
वि.सं. २०१९ मा निर्माण भएको पूर्व–पश्चिम राजमार्गको बुटवलदेखि चन्द्रौटासम्मको सडक खण्ड विस्तार हुन लागेको हो । सुरुमा एक लेनमा निर्माण गरिएको सडक २०३५/३६ मा दुई लेनमा विस्तार भएको थियो । बुटवलदेखि चन्द्रौटासम्म एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झण्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा विस्तार हुनेछ ।
पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झण्डै ५० किलोमिटर सडक निर्माण सुरु भएको हो । १९ किलोमिटर दूरीको गोरुसिंगे–चन्द्रौटा खण्ड दोस्रो चरणमा निर्माण गरिनेछ । दोस्रो चरणको ठेक्का र बुटवलको तिनाउमा सिग्नेचर पुलका लागि पनि विश्व बैंकसँग सम्झौता भइसकेको छ । अहिले बुटवलदेखि गोरुसिंगे खण्डमा रुखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुंगा, गिट्टी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन र सडकको नापजाँच गर्ने काम भइरहेको छ ।
पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ ।
सडक क्षेत्रमा पर्ने रुखहरूको नम्बरिङ सकिएर वन मन्त्रालयको अनुमतिमा अहिले मार्किङको काम भइरहेको र त्यसपछि रुख कटान सुरु हुने बुटवल–गोरुसिंगे सडक परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् । ‘सडक निर्माणका लागि निर्माण कम्पनीसँग १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सम्झौता भएर काम अघि बढेको छ,’ उनले भनिन्, ‘३ वर्षभित्र काम सक्ने गरी निर्माण गर्न कम्पनीले सामग्री निर्माणस्थलमा व्यवस्थापन गर्नेदेखि अब रुख कटानको काम सुरु भएको छ ।’ सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । काम आशिष निर्माण सेवाले गर्नेछ ।
सम्झौताको तीन वर्षभित्रै काम सक्ने निर्माण व्यवसायी विजय गौलीले बताए । रुख कटान र विद्युत्का पोल स्थानान्तरणपछि सडक किनारको एकातर्फबाट निर्माणको काम सुरु हुने गरी परियोजनाले डिजाइन गरेको छ । ‘पहिला सडकको एकातर्फको भागमा मात्र काम हुनेछ,’ उनले भनिन्, ‘त्यसपछि अर्कोतर्फ काम हुने र दुईतर्फ सडक निर्माण भएपछि मात्र बीचको कालोपत्र भत्काएर काम गर्ने गरी हामीले कन्ट्रक्सन डिजाइन गरेका छौं ।’
पूर्व–पश्चिम राजमार्ग भएको र दैनिक हजारौं सवारी ओहोरदोहोर गर्ने भएकाले सवारीसाधन र यात्रुलाई सास्ती नहुने गरी निर्माणका काम हुने उनले बताइन् । आयोजना कार्यालयका अनुसार सडक विस्तारका क्रममा बुटवल–गोरुसिंगे सडक खण्डमा पर्ने रूपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका क्षेत्रमा २ हजार ६ सय १३, कञ्चन गाउँपालिका क्षेत्रमा १ हजार ३ सय २६ रुख काटिने छन् । त्यस्तै कपिलवस्तुको चार नम्बर र गोरुसिंगे क्षेत्रमा ३ हजार २ सय ३६ रुख काटिने इन्जिनियर न्यौपानेले बताइन् ।
३० पुल, १४९ कल्भर्ट र ६ अन्डर पास बन्ने
बुटवल–चन्द्रौटा खण्डको धेरै स्थान जंगल क्षेत्रमा पर्छ । रूपन्देहीको तिनाउ पुलपारिको उत्तरी क्षेत्र, सालझण्डीदेखि गोरुसिंगे क्षेत्रको उत्तर र दक्षिण दुवै क्षेत्रमा घना जंगल छ । ठूलो जंगल भएकाले यस क्षेत्रमा धेरै वन्यजन्तुको बासस्थान छ ।
सडक विस्तारका क्रममा वन्यजन्तु संरक्षण ऐन अनुसार उनीहरूका लागि पनि सहज आवतजावत गर्ने सडक निर्माण योजना बनेको छ । त्यही अनुसार धेरै जंगल क्षेत्र भएको सालझण्डीदेखि पिपरासम्म र वनगाईदेखि गोरुसिंगे क्षेत्रमा १ सय ४९ वटा कल्भर्ट निर्माण गर्ने आयोजनाले जनाएको छ । तीमध्ये तीन वटा वन्यजन्तु आवतजावत गर्ने अन्डरपास र अन्य पानी बग्नसमेत मिल्ने गरी निर्माण हुनेछन् ।
सालझन्डी–पिपरा खण्डमा चारवटा, कोइली–घेरुवा–वनगाई–गोरुसिंगे क्षेत्रमा ६ वटा अन्डर/ओभरपाससहितका कल्भर्ट निर्माण हुने आयोजनाले जनाएको छ । राजमार्ग स्तरोन्नतिपछि सडक सुरक्षा बढ्नुका साथै यात्राको समय ३० प्रतिशतले घटाउने उद्देश्यका साथ सरकारले सडक विस्तार र ठूला सडकहरूको निर्माण अवधारणा अघि सारेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
‘अहिले निर्माणको चरणमा रहेको बुटवल–नारायणगढ सडक र बुटवल–चन्द्रौटा सडक त्यही उद्देश्यअन्तर्गतका पूर्वाधारको विकासमा सहयोग पुर्याउने सडक हुन्,’ उनले भने, ‘नेपालका प्रदेश र छिमेकी मुलुकहरूसँगको व्यापारिक साझेदारी एवं यातायातको कनेक्टिभिटी र आर्थिक सम्भाव्यताको ढोका खोल्न निर्माणाधिन सडकहरूले सहयोग गर्नेछन् । तर, निर्माणको समयमा हुने ढिलासुस्तीले आयोजनाप्रति नै वितृष्णा बढ्ने गरेको छ ।’
बुटवल–चन्द्रौटा सडक समयमै निर्माण गर्ने, सवारीसाधन र यात्रुलाई सास्ती नहुने विषयमा संवेदनशील बनेर काम गर्न सुरु गर्नुपर्ने उनले बताए । ठूला आयोजनाहरूले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितका पूर्वाधार विकासका संरचना पनि थपिंदै जाँदा थप आर्थिक सम्भावनाका ढोका पनि खुल्ने उनले बताए ।