— पोखराबाट बनारसका लागि तय भएको बुद्ध एयरको उडान स्थगित भएको छ । चिनियाँ ऋणमा निर्माण भएको पोखरा क्षेत्रीय विमानस्थललाई बीआरआई परियोजनासँग जोडेकै कारण भारतले बनारस उडान अनुमति नदिएको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले दाबी गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको मंगलबार हुने २६औं वर्षगाँठको साइत पारी शुक्रबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एभिएसन मिटमा बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्नलगत्तै चीनले उक्त विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको अभिव्यक्ति दिएकै कारण पोखराबाट बुद्धले तय गरेको पहिलो अन्तर्राष्ट्रिय उडान स्थगन गर्नुपरेको खुलासा गरेका हुन् । यसअघि बुद्धले बनारस उडानको अनुमति प्राप्त नभएकोबारे आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।
बुद्धले २ वर्षअघि पोखरा विमानस्थल उद्घाटनमा त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान एटीआर–७२ विमानमार्फत भारतको बनारस गर्ने घोषणा गरेको थियो । तर, अन्तिम समयसम्म भारतबाट अनुमति नपाएपछि बुद्धले पोखरा क्षेत्रीय विमानस्थलको धावनमार्गमा पहिलो परीक्षण उडानमा मन बुझाउनु परेको थियो ।
यो विमानस्थल उद्घाटनको अघिल्लो दिन ०७९ पुस १६ गते काठमाडौंस्थित चिनिया दूतावासले यसलाई बीआरआई सहयोगको प्रमुख परियोजना भएको भनी सामाजिक सञ्जालमा लेखेको थियो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोह भोलि बिहान ११ बजे हुने भएको छ । यो नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो । नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’
भोलिपल्ट (०७९ पुस १७ गते) पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटनमा पुगेका नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई’ का लागि पोखरा विमानस्थल उज्ज्वल कार्य बनेको’ भनी सम्बोधन गरेका थिए । त्यस्तै २०८० असारमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका थिए । पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत छनले यस्तो बताएका थिए ।
बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखराबाट पहिलो बनारस उडानमा भारतबाट पनि ‘ग्रिन सिग्नल’ प्राप्त भएपछि अनुमतिको प्रक्रिया थालिएको बताए । ‘पोखरा बनारस उडान अनुमति त्यसबेला नेपालमा तीन दिनभित्र प्राप्त भएको थियो’, कार्यकारी अध्यक्ष बस्नेतले भने,‘त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत बनारस उडानका लागि भारतसँग अनुमति माग्यौँ । आवेदन हाल्यौं । तर, त्यो फाइल अझै घुम्दै छ । भारतले उडान अनुमति दिन्न भनेन तर त्यो फाइल घुम्दै छ ।’
बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखरा विमानस्थल बीआरआईअन्तर्गत हो/होइन सरकारले भनिदिनुपर्ने बताए । ‘हामीले बुझेको भारतले बीआरआईका कारण हामीलाई बनारस अनुमति दिएन । भारतले अनुमति नदिए त्यो विमानस्थलबाट हाल एटीआर विमानबाट भारतबाहिर उडान गर्न सम्भव छैन,’ उनले भने ।
कार्यकारी अध्यक्ष बस्नेतले चासो राखेको विषयमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कभित्र नरहेको बताए । उनले हालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा भएको सम्झौता हस्ताक्षरमा पोखरा क्षेत्रीय विमानस्थल उल्लेख नभएको बताए । ‘बीआरआईको अवधारणा सन् २०१३ मा आएको हो । नेपालले बीआरआईमा आबद्ध हुन सन् २०१७ मा हस्ताक्षर गरेको हो । तर पोखराको शिलान्यास सन् २०१६ मै भएको थियो,’ एमाले सचिवसमेत रहेका भट्टराईले भने ।
पोखरामा चीनले २ सय १५ दशमलव ९६ मिलियन अमेरिकी डलर (२७ अर्ब हाराहारी) ऋण लगानी गरेको छ । यसमा २५ प्रतिशत निर्ब्याजी रकम बाँकी ७५ प्रतिशत ऋण रहेको छ । सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
२०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणबीच २०१६ जुनमा अनुदान ऋण सम्झौता भएको थियो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गरेको थियो । ३ हजार ८ सय ९९ रोपनी क्षेत्रफलमा सन् २०१७ जुलाई ११ बाट निर्माण प्रारम्भ भएको थियो । २०२३ जनवरी १ तारिखबाट विमानस्थल सञ्चालनमा आएको थियो ।