— नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य सचिव तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 'नोट अफ डिसेन्ट' लेखेका छन् । घिसिङले लेखेको 'नोट अफ डिसेन्ट'लाई प्राधिकरणका सञ्चालक सदस्यद्वय रतन ऐर र भरत आचार्यले समेत समर्थन गरेका छन् ।
पहिलो पटक प्राधिकरण सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक तथा बाेर्डका सदस्य सचिव घिसिङले नोट अफ डिसेन्ट लेखेका हुन् ।डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटरको अध्ययन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । प्राधिकरणले समिति गठन भएलगत्तै विद्युत् नियमन आयोगमार्फत गठन हुनुपर्ने समिति मन्त्रालयबाट बनेकाले अवैध भन्दै आएको छ ।
सोही विषयलाई ऊर्जामन्त्री खड्काले गत पुस ४ मा बसेको बोर्ड बैठकमा छलफलका लागि राखेका थिए ।
समितिको तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले नै दिनुपर्ने माग ऊर्जामन्त्री खड्काको थियो । त्यसकालागि मन्त्रालयले समितिलाई आवश्यक तथ्यांकदेखि सेवासुविधासमेत उपलब्ध गराउन भन्दै प्राधिकरणलाई पत्र काटेको छ । तर प्राधिकरणले अवैध समितिलाई तथ्यांक उपलब्ध नगराउने स्पष्ट पारेको थियो ।
मन्त्रालयले पत्र काट्दासमेत केही जवाफ नआएपछि समितिका सदस्यलाई सेवासुविधादेखि तथ्यांक उपलब्ध गराउने विषयले गत पुस ४ मा बसेको प्राधिकरणको बोर्ड बैठकमा प्रवेश पाएको थियो । उक्त समितिमा छलफल भए पनि माइन्युट हुन बाँकी थियो । मंगलबार समितिलाई सेवासुविधा दिने निर्णयको माइन्युटमा हस्ताक्षर भएको थियो ।
त्यसरी भएको निर्णयमा घिसिङले 'नोट अफ डिसेन्ट' लेखेको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले बताए । घिसिङको फरकमतमा सदस्यहरू रतन ऐर र भरत आचार्यले समर्थन जनाएको ती सदस्यले जानकारी दिए ।
मिश्र संयोजकत्वको समिति अदालत वा विद्युत् नियमन आयोगमार्फत बन्नु पर्ने ती सदस्यको भनाइ छ