— नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् ।
काठमाडौंमा मंगलबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनै पनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताएका हुन् । उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता हुने प्रस्ट पारे । उनले नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिष्ट पार्टीहरुले गम्भीरतापूर्वक नलिएको गुनासो गरे ।
क्रान्तिकारीहरुको एउटा सही विचार, संगठनको ध्रुविकरण बनाउन आफूहरु लागेको उनको भनाइ छ । ‘बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे । त्यो कुरा होइन,' उनले भने, 'जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाईमा माओवादी केन्द्र वा अरु क्रान्तिकारी पार्टीको बीचमा गम्भीर नभएसम्म हामीले सहकार्यलाई मोर्चामार्फत कायम राख्दै एउटा ध्रुविकरणतर्फ लैजाने भनेका हौँ । क्रान्तिकारीहरुको एउटा सही विचार, संगठनको ध्रुवीकरण बनाउनुपर्छ भनेर लागेका हौँ ।’
महासचिव चन्दले बदलिएको सन्दर्भ, जनताको चाहना, जनताको सुझाव, पार्टीले गरिरहेको राजनीतिक अभ्यासको निष्कर्षबाट निर्वाचनमा भाग लिने निर्णय गरेको बताए ।