मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीमा थुनछेक बहस सुरु
सूर्यदर्शन सहकारी ठगीमा थुनछेक बहस सुरु

— सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, गोर्खा मिडियाकै पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलगायत सात जनाको मुद्दामा मंगलबार जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।


जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछाने, जोशीका साथै रामबहादुर खनाल, लीला पछाई, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको बयान सकिएपछि थुनछेक बहस सुरु गरिएको हो ।

प्रतिवादीमध्ये आरती गुरुङको अन्तिम बयान मंगलबार सकिएको थियो । त्यसपछि सातै जना प्रतिवादीका हकमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस सुरु भएको हो । पहिलो दिन कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले बहस गरे ।

उनीहरूले प्रहरीको अनुसन्धान प्रतिवेदन, पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदन, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनसमेतका आधार, कारण र प्रमाणबाट सातै जना प्रतिवादीलाई फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्नुपर्ने तर्क गरे ।

बुधबार क्रमैसँग सरकारी वकिलको बहस हुने र त्यसपछि जाहेरवालाका तर्फका कानुन व्यवसायी र त्यसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘थुनछेक बहसका क्रममा सरकारी वकिलले सबै प्रतिवादीका हकमा सजायको मागदाबीअनुसार बहस गरेका छन्,’ उनले भने, ‘प्रतिवादीको दाबीअनुसार व्यक्तिपिच्छे थुनछेक आदेश आउन सक्छ ।’

स्रेस्तेदार खनालका अनुसार महान्यायाधिवक्ताको कार्यालयबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता विष्णुराज गौली, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गर्नेछन् ।



‘थुनछेकमा लाग्ने समय प्रतिवादीले कति संख्यामा कानुन व्यवसायी राखेका छन् भन्नेमा भर पर्छ,’ स्रेस्तेदार खनालले भने, ‘इजलासले पनि छिटो सक्ने गरी बहस व्यवस्थापन गर्न सक्छ । इजलासले कति समयसम्म त्यो बहसलाई सुन्छ, उही कुरा दोहोरिराख्यो भने इजलासले व्यवस्थित गर्ने ढंगले सोच्ला । यति नै दिनमा सकिन्छ भन्न सकिँदैन ।’

कास्की प्रहरीको हिरासतमा रहेका मध्ये लामिछाने, जोशी, पछाई र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ भने मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको हकमा सहकारी ठगीमा मात्रै अभियोग बुझाइएको छ । २०६५ असार १ मा तदर्थ सञ्चालक समिति गठन हुँदा मीना अध्यक्ष थिइन् । उनी गण्डकी प्रदेशसभाको पहिलो कार्यकालमा एमालेबाट समानुपातिक सांसद थिइन् । तदर्थ समितिमा उपाध्यक्ष रहेका कृष्णबहादुर उनका बुबा हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका मध्ये अन्य ९ जना पुर्पक्षका लागि विभिन्न जिल्लाका कारागारमा छन् । २०८० असोज १८ मा १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएकामा पक्राउ परेका कैलाशकुमार दर्लामी, कुमार रम्तेल, प्रमोद भट्टराई, अनुज नकर्मी, शिवबहादुर गुरुङ र भवीश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

गत पुस ७ मा पूरक अभियोग दर्ता गर्दाका ४४ प्रतिवादीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।

सूर्यदर्शनको पूर्वउपाध्यक्षसमेत रहेका उनीविरुद्ध कास्की अदालतमा पनि सहकारी ठगी कसुरमा मुद्दा चलेको छ । सुप्रिम सहकारी ठगीको अभियोगमा रूपन्देही कारागारमा पुर्पक्षमा थुनामा रहेका ओमप्रकाश गुरुङ पनि सूर्यदर्शन ठगीमा जोडिएका छन् । सूर्यदर्शनसँगै जोडिएका लीलाबहादुर गुरुङ नख्खु कारागारमा पुर्पक्षमा थुनामा छन् । उनीविरुद्ध ललितपुरको कल्याण उपकार सहकारीको बचत अपचलनको अभियोगमा पनि मुद्दा चलिरहेको छ ।

पुर्पक्षका लागि कास्की कारागारमा रहेका दर्लामी २०७४ असोज ३ यता सूर्यदर्शन सहकारीमा दुईपल्ट उपाध्यक्ष भएका थिए । रामेछापको लिखु तामाकोशी–७ का उनी गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । गोर्खा मिडियासहित जीबी राई समूहका विभिन्न कम्पनीमा ऋण प्रवाहलगायतका निर्णयमा उनी संलग्न रहेको अभियोगपत्रमा उल्लेख छ ।

सहकारीको बिगो दाबी गरिएको १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँमा सामूहिक दायित्वसहित उनको व्यक्तिगत दायित्व ७१ लाख रुपैयाँ मागदाबी गरिएको छ । उनले बयानका क्रममा २०७८ फागुन ८ मा राजीनामा स्वीकृत भएको बताए पनि सहकारी रजिस्ट्रारको कार्यालयमा उनको राजीनामा स्वीकृत भएको भेटिएको थिएन ।

उनले २०७९ माघ ९ मा सूर्यदर्शन सहकारीको बैठकमा उपाध्यक्षको हैसियतमा उपस्थित भएर काठमाडौंको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडसँग एकीकरणका लागि स्वीकृति लिनेसम्बन्धी निर्णयमा समेत हस्ताक्षर गरेका छन् । उनलाई न्यायाधीश रामचन्द्र शर्माको इजलासले २०८० पुस १६ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

रम्तेल भने गोर्खा मिडिया नेटवर्कका सेयरधनी तथा खाता सञ्चालक हुन् । उनी जीबी राई समूहका सबै सहकारी र कम्पनीमा जोडिएका छन् । गोर्खा मिडियामा उनको १७ प्रतिशत सेयर छ । लामिछानेले ग्यालेक्सी टीभी छाड्ने बेला बिक्री गरेको सेयर उनले सकारेका थिए ।

रम्तेल नेपालगन्जको समानता सहकारीको सचिव, बुटवलको सुप्रिम सहकारीको सचिव, चितवनको सानो पाइला सहकारीको पूर्वकोषाध्यक्ष, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको कोषाध्यक्ष र वीरगन्जको सानो पाइला सहकारीको कोषाध्यक्षसमेत हुन् । उनले विभिन्न मितिमा २ करोड रुपैयाँ ऋण लिएको कागजात भेटिए पनि उक्त ऋणका लागि ऋण समिति एवं सञ्चालक समितिबाट निर्णय भएको देखिँदैन ।

रम्तेलका हकमा प्रमाण ऐन, २०३१ को दफा १४ बमोजिम सहकारी संस्थाबाट संकलन भएको कर्जा अभिलेख रजिस्टर (जीबी र रविलाई ऋण दिएको अभिलेख) प्रमाणका रूपमा लिनुपर्ने अभियोगपत्रमा उल्लेख छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा झूटा विवरण पेस गरी सेयर हस्तान्तरण गरेको प्रमाणसमेत अभियोगपत्रसँगै बुझाइएको छ ।

सूर्यदर्शनबाट अपचलन गरी गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको ५ करोड ६१ लाख रुपैयाँ जीबी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेलसहित १२ जनाबाट असुल गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ । सामूहिकबाहेक व्यक्तिगत रूपमा रम्तेलको बिगो २ करोड रुपैयाँ दाबी गरिएको छ । उनलाई न्यायाधीश केशव बाँस्तोलाको इजलासले २०८० असोज १९ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

पोखरामा मोटर पार्ट्सको व्यवसाय गर्दै आएका नकर्मी सूर्यदर्शनका पूर्वसचिव हुन् । उनको कार्यकालमा ७१ करोड २७ लाख ७५ हजार ४ सय ९३ रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धानमा देखिएको छ । उक्त रकम अन्य प्रतिवादीसँगै नकर्मीले सामूहिक रूपमा बहन गर्नुपर्ने दायित्वभित्र राखिएको छ । उनलाई न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले २०८१ भदौ ५ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

एमालेनिकट युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ सूर्यदर्शनको सञ्चालक समितिका पूर्वसदस्य हुन् । सहकारी ठगीमा उनलाई सामूहिक दायित्वबाहेक व्यक्तिगत रूपमा १७ करोड ८ लाख ५ हजार २ सय ४९ रुपैयाँ बिगो मागदाबी गरिएको छ । पोखरा–४ नालाको मुखमा सूर्यदर्शन सहकारीले खरिद गरेको घर उनका नाममा सारिएको थियो ।

उक्त घर धितो राखेर सहकारीले राष्ट्रिय सहकारी बैंकबाट ऋणसमेत लिएको थियो । सूर्यदर्शनको कारोबार बन्द भएपछि १ करोड ९२ लाख रुपैयाँ बराबर मूल्य कायम गरी उक्त घरजग्गा गत असार ३१ मा राष्ट्रिय सहकारी बैंक लिमिटेडका नाममा कायम भएको छ । सहकारीको बचत अपचलन गरी गुरुङले हाउजिङमा लगानी गरेको, ९ वटा घर बनाएर लाभ लिएको अभियोगपत्रमा उल्लेख छ ।

२०८० असार २ मा उनले सूर्यदर्शन सहकारीका तर्फबाट गोर्खा मिडियाका अध्यक्ष जीबी राईसँग एक करारनामा कागजमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता कागजमा गोर्खा मिडियाको मूल्यांकन १ अर्ब २५ करोड रुपैयाँ रहेको र गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा सूर्यदर्शनका सदस्यहरूको ३० करोड रुपैयाँ बराबरको बचत रकम सेयरबापत सुरक्षण गरिएको उल्लेख छ । उक्त लिखतको रोहवरमा सञ्चालक समिति अध्यक्ष थानबहादुर बुढा मगरले समेत दस्तखत गरेको देखिन्छ । उनलाई न्यायाधीश वसन्तजंग थापाले २०८० पुस १८ मा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेशमा उक्त लिखतबारे उल्लेख गरेका छन् ।

सूर्यदर्शन सहकारीका सञ्चालक समिति सदस्य भवीश्वर अर्याल जीबी राई समूहले सञ्चालन गरेका ६ वटा सहकारी, उनका कम्पनीको सफ्टवेयर व्यवस्थापनको काम गर्थे । डिजिटल अभिलेखको जिम्मा उनैको हुन्थ्यो । अन्तरसहकारी रकमान्तर गर्न उनी सघाउँथे ।

छविलाल जोशीको घरमा रहेको नेचर हर्ब्सको कार्यालयमा हार्ड डिस्क भेटिएपछि प्रहरीले सफ्टवेयर विश्लेषणमा उनको सहयोग लिएको थियो । उनी पदमा रहँदा ५३ करोड १५ लाख १० हजार ५ सय ८७ रुपैयाँ हिनामिना भएको देखिन्छ । व्यक्तिगत दायित्वतर्फ १५ लाख ५१ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनलाई शिवबहादुर गुरुङसँगै पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

सूर्यदर्शनका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई रहेको अवधिमा गोर्खा मिडियामा १ करोड ८३ लाख ५ हजार रुपैयाँ गएको देखिन्छ । उक्त बिगो उनीसहित सामूहिक रूपमा असुलउपर गर्नुपर्ने अभियोगपत्रमा छ । उनलाई न्यायाधीश रामचन्द्र शर्माको इजलासले २०८० माघ २९ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनी २०७८ कात्तिक ९ यता दुई कार्यकाल सञ्चालक समिति सदस्य भएका थिए । सहकारीमा रकम हिनामिना हुनुमा उनी पनि जिम्मेवार देखिएको अभियोगपत्रमा उल्लेख छ ।

कास्की कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ६ जनाविरुद्ध यसअघि सहकारी ठगीमा मात्रै मुद्दा चलेको थियो । न्यायाधीशले किटानी जाहेरी दरखास्त, घटना विवरण कागज, खानतलासी बरामदी मुचुल्का, प्रतिवादीले अदालतमा गरेको बयान, लेखा परीक्षक सागर भण्डारीको कागज, सहकारीको वित्तीय स्थितिका सम्बन्धमा पोखरा महानगरपालिकाको विश्लेषणात्मक प्रतिवेदनसमेतका आधार, कारण र प्रमाणबाट फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए ।

दफा ६७ को उपदफा (१) (ख) बमोजिम तीन वर्षभन्दा बढी कैदको सजाय हुन सक्नेअन्तर्गतको कसुरको अभियोग लागेको अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भए वा कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार भए अदालतले त्यस्तो अभियुक्तलाई कारण खुलाई पुर्पक्षका लागि थुनामा राख्ने प्रावधान छ ।

थप अभियोग लैजाने क्रममा यी ६ जनाविरुद्ध पुस ५ मा संगठित अपराधमा समेत मुद्दा चलाइएको छ र बिगोसमेत बढाइएको छ । यसअघि १ अर्ब ३५ करोड बिगो माग गरिएकामा थप अभियोग लैजाने क्रममा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो माग गरिएको छ ।

उक्त रकम हिनामिना एवं अपचलन गरी सहकारी ठगी गरेको तथ्य अनुसन्धानबाट स–प्रमाण पुष्टि हुने भन्दै सहकारी ऐन, २०७४ बमोजिम कारबाहीको माग गरिएको छ । आपराधिक समूहको लाभका लागि आपराधिक समूहसँग मिलेर उक्त समूहको सदस्य भई जानीजानी सहकारीको बचत रकम अपचलन गरेकाले संगठित अपराध निवारण ऐन, २०७० बमोजिम पनि कारबाही गर्नुपर्ने अभियोगपत्रमा छ ।

उनीहरूलाई सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को (घ) तथा (घ) (६) बमोजिम सजाय गरी उपदफा (१) को (घ) बमोजिम कुल बिगोबमोजिम जरिवाना गर्नुपर्ने र संगठित अपराधतर्फ संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ (क) र (ग) बमोजिम सजाय हुनुपर्ने माग गरिएको छ ।

रवि लामिछानेविरुद्ध पनि सहकारी ठगी र संगठित अपराधमा यिनै दफा आकर्षित छन् । उनीसहित जीबी राई, छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलेको छ । सम्पत्ति शुद्धीकरणमा १५ वर्षसम्म सजाय र बिगोको दोब्बर जरिवाना मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...