— विभिन्न उतारचढावबीच सन् २०२४ बिदा हुने तरखरमा छ । यस वर्ष नयाँ नेतृत्व चयनका लागि विश्वका ७० भन्दा देशमा चुनाव भयो । तीमध्ये कतिपय देशमा अप्रत्यासित चुनावी नतिजा आयो । त्यसका साथै विगतमा जस्तै यस वर्ष पनि शक्तिराष्ट्रहरूमा भएका राजनीतिक, आर्थिक लगायतका घटनाक्रमले संसारको ध्यान खिचे ।
खासगरी रुस–युक्रेन र पश्चिम एसियामा जारी युद्ध वर्षभर नै समाचारका शीर्षक बने । दक्षिण एसियाली देशहरू भारतको संसदीय चुनाव, बंगलादेशमा शेख हसिनाको पतन र श्रीलंकाको राजनीति अनुरा कुमारा दिसानायकेको उदय पनि चासोका विषय रहे ।
वर्षको अन्त्यतिर अमेरिकी राष्ट्रपतीय चुनाव र ट्रम्पको पुनरागमन, सिरियामा बसर अल असदको पतन, दक्षिण कोरियामा विकसित राजनीतिक घटनाक्रमबारे विश्वभर चर्चा भयो । वर्षकै अन्तिम साता अजरबैजान र दक्षिण कोरियामा भएका विमान दुर्घटनाले भने आममानिसको मन चसक्क बनायो ।
सन् २०२४ मा विश्वका ७० भन्दा बढी देशका दुई अर्ब मानिसले मताधिकार प्रयोग गरे । महाशक्ति अमेरिका, विश्वकै ठूलो लोकतन्त्र भारत, भौगोलिक हिसाबमा विश्वकै ठूलो रुस, सबैभन्दा धेरै मुस्लिम जनसंख्या रहेको इन्डोनेसिया, सबैभन्दा बढी जनघनत्व भएको बंगलादेश लगायतका जनताले आफ्नो देशको नेतृत्व चयनका लागि मतदान गरे ।
विश्वमा धेरै जनसंख्या भएका १० मध्ये ८ देश भारत, इन्डोनेसिया, बंगलादेश, पाकिस्तान, रुस, अमेरिका, ब्राजिल, मेक्सिकोमा सन् २०२४ मा चुनाव भयो । यस वर्ष चुनाव भएका देशमा विश्वको ४१ प्रतिशत जनसंख्या र कुल गार्हस्थ उत्पादन ४२ प्रतिशत छ । चुनाव भएकामध्ये कतिपय देशको नतिजा भने अप्रत्यासित देखियो ।
अमेरिकामा ट्रम्पको पुनरागमन
गत नोभेम्बरमा भएको चुनावमा उल्लेखनीय पुनरागमन गर्दै डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए । ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । जितका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक पर्नेमा ट्रम्पले ३ सय १२ मत पाए । ह्यारिसले २ सय ९२ इलेक्टोरल मत प्राप्त गरिन् ।
ट्रम्पले निर्णायक ठानिएका ‘स्विङ स्टेट्स’मा जित निकाल्दै अमेरिकी इतिहासकै विरलै पुनरागमन गरेका हुन् । यसअघि १८८५ देखि १८८९ सम्म राष्ट्रपति रहेका ग्रोभर क्लेभल्यान्ड १८९३ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्प २०२० मा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए ।
बाइडेनसँग पराजित हुँदा ट्रम्पले चुनावी नतिजा अस्वीकार गरेका थिए । त्यसक्रममा ट्रम्पले कार्यकर्तालाई उक्साएका कारण २०२१ जनवरी ६ मा संसद् भवन क्यापिटोल हिलमा दंगा मच्चिएको थियो । त्यसयताका चार वर्षमा उनले विभिन्न झमेला झेले । उनीविरुद्ध संघीय र विभिन्न राज्यका अदालतमा मुद्दा दायर भए । तीमध्ये केही मुद्दामा उनी दोषी ठहर भए ।
गत जुलाईमा पेन्सलभानियामा आयोजित चुनावी सभामा एक बन्दुकधारीले ट्रम्पलाई मार्ने प्रयास पनि गरेका थिए । अधिकारीहरूका अनुसार ट्रम्पलाई ‘हत्या गर्ने उद्देश्य’ले करिब १३० मिटर टाढाबाट गोली प्रहार गरिएको थियो । हत्या प्रयासबाट जोगिए पनि उक्त गोली ट्रम्पको कानमा लागेर सामान्य घाइते भएका थिए ।
श्रीलंकामा दिसानायकेको उदय
आर्थिक संकटबाट बाहिरिन संघर्षरत श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति बने । पहिलो पटक दोस्रो चरणको मतगणनामा पुगेको चुनावमा उनले सजिथ प्रेमदासालाई पराजित गरेका हुन् । योसँगै श्रीलंकाको राजनीतिमा राजापाक्ष परिवारको हालीमुहाली सकिएको छ । यसअघि दिसानायकले १९९९ र २००५ को राष्ट्रपतीय चुनावमा पनि पराजित भएका थिए ।
देशमा व्याप्त भ्रष्टाचार रोक्ने र सुशासन कायम गर्ने बताएका दिसानायकेले अप्रत्यासित रूपमा विजय हासिल गरेका हुन् । सेप्टेम्बर २४ मा संसद् भंग गरेका उनले उनले नोभेम्बर १४ मा चुनाव गराएका थिए । उक्त चुनावमा उनको दल जनथा भिमुक्ति पेरामुना (जेभीपी) विजयी भयो । २ सय २५ सदस्यीय संसदमा पीपीपीले १ सय ५९ सिट जितेको हो ।
दिसानायकेको पार्टी जेभीपी चीननिकट मानिन्छ । पार्टीका संस्थापक रोहाणा विजेविराले १९८० को दशकमा भारतलाई ‘श्रीलंकाको दुश्मन’को रूपमा चित्रण गरेका थिए । १९८७ मा श्रीलंका र भारतबीच भएको सम्झौतालाई जेभीपीले विरोध गर्दै आएको छ । श्रीलंकामा जेभीपीको भारतविरोधी र चीननिकट छवि रहेको भए पनि दिसानायकेले भारत र चीन दुवैसँगै सन्तुलित र सौहार्दपूर्ण सम्बन्ध चाहेको बताउँदै आएका छन् । पछिल्लो समय भारतसँग सम्बन्ध सुधार गर्दै गएका दिसानायकेले दुई साताअघि भारतको भ्रमण गरिसकेका छन् ।
श्रीलंकाको इतिहासकै खराब आर्थिक संकटका कारण सुरु भएको आन्दोलनपछि सन् २०२२ को जुलाईमा राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेका थिए । त्यसको एक सातापछि विक्रमासिंघे श्रीलंकाको संसद्बाट राष्ट्रपतिमा नियुक्त भएका थिए । तर उनले आन्दोलनको जनादेशलाई बेवास्ता गरेका र राजापाक्ष परिवारलाई अभियोग लाग्नबाट बचाएको आरोप लागेको थियो । जसका कारण विक्रमासिंघे राष्ट्रपतीय चुनावमा तेस्रो पटक हार बेहोर्न बाध्य भए ।
मोदीलाई जनताको लगाम
भारतका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री पदमा ‘ह्याट्रिक’ गरे । यद्यपि, पछिल्लो चुनाव भने उनको दलले सरकार गठनका लागि बहुमत ल्याउन असफल भए । जसका कारण मोदीले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । यसको अर्थ मोदीले तेस्रो कार्यकाल भने आफूले चाहेअनुसार चलाउन नपाउने भएका हुन् र भारतमा गत अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको चुनावमा मोदीको दल भाजपा २ सय ४० सिटमा सीमित भयो । त्यसअघि सन् २०१४ र २०१९ मा भएका चुनावमा भने भाजपाले सरकार गठनका लागि आवश्यक पर्ने २ सय ७२ सिट ल्याएको थियो ।
Year 2024: From the return of Trump to the fall of the dictatorदक्षिण एसियाली देश पाकिस्तान र बंगलादेशमा पनि यसै वर्ष चुनाव भए । पाकिस्तान र बंगलादेशका चुनाव विवादित भएसँगै राजनीतिक तनाव बढ्यो । जसका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्न बाध्य भइन् ।
त्यस्तै, पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई तोसाखाना (सरकारी स्वामित्वको विभाग)बाट पाएका उपहारसम्बन्धी अभियोगमा तीन वर्षको जेल सजाय तोकी उनलाई जेल हालियो । त्यसका साथै पाकिस्तानी निर्वाचन आयोगले खानलाई पाँच वर्ष चुनावी प्रतिस्पर्धाका लागि अयोग्य घोषित गर्यो । पछिल्लो समय भने खानमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनको दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का समर्थकहरूले आन्दोलन गरिरहेका छन् ।
त्यस्तै, ताइवानमा स्वतन्त्रता पक्षधर सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)का लाई चिङ–ते (विलियम लाई) राष्ट्रपतिमा विजयी भए । उनी नेतृत्वको डीपीपी ताइवान चीनबाट स्वतन्त्र हुनुपर्ने पक्षमा छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भने ‘ताइवानलाई चीनमा गाभ्न अपरिहार्य भएको’ दोहोर्याउँदै आएका छन् ।
यसै वर्ष भएको चुनावमार्फत मेक्सिकाले पहिलो महिला राष्ट्रपति पाए । सन् २०२४ को जुन २ मा भएको चुनावमार्फत मेक्सिको सिटीकी पूर्वप्रमुख ६१ वर्षीया क्लाउडिया सेइनबउम पार्दो राष्ट्रपतिमा निर्वाचित भइन् ।
प्राकृतिक स्रोतका धनी इन्डोनेसिया र भेनेजुएलामा पनि यसै वर्ष चुनाव भयो । इन्डोनेसिया विश्वकै ठूलो मुस्लिम जनसंख्या रहेको देश हो । फेब्रुअरीमा भएको चुनावमा प्रवोओ सुविआन्तो राष्ट्रपतिमा चुनिए । अमेरिकालगायत पश्चिमा देशका लागि भने उनी टाउको दुखाइको विषय हुन् ।
निकै चासोको विषय बनेको छ । खासगरी अमेरिकाको ‘ब्ल्याक लिस्ट’ मा रहेका पूर्वजर्नेल प्रबोवो सुबिआन्तोको लोकप्रियता अमेरिकी नेतृत्वका लागि टाउको दुखाइको विषय बनेको छ । सुहार्तो युगका जर्नेल सुबिआन्तोलाई मानवअधिकार दुरुपयोगको अभियोगका कारण अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।
गत जुलाईमा भेनेजुएलामा भएको चुनाव भने निकै विवादित भयो । लामो समयदेखि राष्ट्रपति रहेका निकोलस मडुरो तेस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरियो । तर चुनावमा व्यापक धाँधली भएको र मतगणनाको तथ्यांक सार्वजनिक नगरिएपछि विरोध प्रदर्शन सुरु भयो ।
राजधानी काराकस र अन्य सहरमा हजारौं प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । ह्युमन राइट्स वाचका अनुसार कम्तीमा २३ प्रदर्शनकारी मारिए । मडुरोले आफ्ना राजनीतिक विरोधीहरू र विदेशी शक्तिहरूलाई दक्षिण अमेरिकी देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाउँदै विरोध प्रदर्शनको दोष लगाए । उनले पूर्ण मतगणना गर्ने र तथ्यांक सार्वजनिक गर्ने बताएका भए पनि हालसम्म गरिएको छैन ।
त्यस्तै, यस वर्ष युरोपेली संसदका ७ सय ५१ सिटका लागि चुनाव भयो । युरोपेली संघ अन्तर्गतका करिब ४० करोड जनताले प्रतिनिधि चयन गरे । त्यसैगरी, दक्षिण कोरिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, एल साल्भाडोर, माली, सेनेगल, इरान लगायतका देशमा पनि यसै वर्ष चुनाव भयो ।
हसिनाको बहिर्गमन
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना गत जनवरीमा भएको विवादास्पद चुनावमा विजयी भइन् । तर गत जुलाई र अगस्टमा विद्यार्थी नेतृत्वको देशव्यापी प्रदर्शन चर्केपछि भने ७७ वर्षीया हसिना देश छाड्न बाध्य भइन् । १६ वर्ष लामो शासन अन्त्य भएसँगै हसिनाले भारतमा निर्वासित जीवन बिताइरहेकी छिन् ।
उनको बहिर्गमनसँगै नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । पछिल्लो समय बंगलादेशले हसिनालाई फर्काउन पहल गरिरहेको छ । ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिना र उनको कार्यकालका विभिन्न मन्त्री, सल्लाहकार, सैन्य अधिकारीलाई ‘मानवता र नरसंहारविरुद्धको अपराध’ मुद्दामा पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।
अगस्ट ८ मा पदभार ग्रहण गरेका युनुसले हसिना सरकारविरुद्धको आन्दोलनका क्रममा विद्यार्थी र मजदुरसहित करिब १ हजार ५ सय जनाको ज्यान गएको र १९ हजार ९ सय ३१ जना घाइते भएको दाबी गरेका थिए । हसिनाले भने युनुस नेतृत्वको अन्तरिम सरकारले बंगलादेशमा ‘नरसंहार’ गरेको र हिन्दुहरूलगायत अल्पसंख्यकहरूको रक्षा गर्न असफल भएको आरोप लगाउँदै आएकी छन् ।
कोरियामा देखिएको जनताको शक्ति
दक्षिण कोरियाका राष्ट्रपति युन सुक यओलले संकटकालीन ‘मार्सल ल’ लागू गरेपछि उनीमाथि महाभियोग लगाइएको हो । राष्ट्रपति युनले दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी डिसेम्बर ३ मा मार्सल कानुन लागू गरेका थिए । तर आफ्नो दल पिपुल्स पावर पार्टी (पीपीपी) सहितका राजनीतिक दल र जनताको विरोधपछि युन केही घण्टामा नै मार्सल कानुन फिर्ता गर्न बाध्य भए ।
राष्ट्रपतिले मार्सल कानुन घोषणा गरेको केही समयमै दक्षिण कोरियाका राजनीतिक दल र सांसदहरूले युनको घोषणालाई तत्कालै गैरकानुनी र असंवैधानिक भएको बताए । युनकै दल पीपीपीका नेताहरूले समेत राष्ट्रपतिको कदम गलत भएको बताए । त्यसका साथै, विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता ली जे–म्यङले राष्ट्रपतिको घोषणाको विपक्षमा मतदानका लागि सांसदहरूलाई संसद्मा भेला हुन आहृवान गरे ।
लगत्तै संसदमा भएको मतदानमा सांसदहरूले राष्ट्रपतिको निर्णयको विपक्षमा मतदान गरे । संसदमा उपस्थित सबै १ सय ९० सांसदहरूले मार्सल कानुनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनको घोषणा अमान्य घोषित भयो । ३ सय सदस्य रहेको संसदको बहुमतले निर्णय गरेपछि राष्ट्रपति युन आफ्नो निर्णय उल्टाउन बाध्य भए ।
दक्षिण कोरियाली संसद्ले राष्ट्रपति युन सुक यओलविरुद्धको महाभियोग प्रस्ताव पास गरिसकेको छ । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वतः निलम्बित भए । महाभियोगको अन्तिम निर्णय भने नौ सदस्यीय संवैधानिक अदालतले गर्नेछ । तीमध्ये ६ न्यायाधीश महाभियोगको पक्षमा रहेको खण्डमा राष्ट्रपति पद रिक्त हुनेछ । त्यसको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ ।
युन निलम्बनमा परेसँगै प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपति भएका थिए । तर कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि उनविरुद्ध पनि संसद्ले महाभियोग पारित गरेको छ ।
सिरियामा असदको पतन
सिरियमा २४ वर्षदेखि एकछत्र शासन गरिररहेका राष्ट्रपति बसर अल असद पनि यसै वर्ष देश छोडेर भाग्न बाध्य भए । सशस्त्र विद्रोहलाई दबाउने नाममा वर्षौंदेखि जनतामाथि नै बर्बर दमन गर्दै आएका असद विद्रोहीले राजधानी दमास्कस नियन्त्रणमा लिएसँगै भागेर रुसको मस्को पुगे ।
सन् २०११ को विद्रोह दबाएयता असदले विद्रोहीको चुनौती सामना गर्दै आएका थिए । रुस र इरान उनको पक्षमा थियो भने अमेरिका विपक्षमा । दुवै पक्षले एक–अर्कालाई परास्त गर्ने बहानामा सिरियाली बस्तीहरूमा बम हमला गर्दै आएका थिए । तर पछिल्लो समय विद्रोही प्रभावशाली भएपछि असद संकटमा परे ।
टर्कीसँगको सीमा क्षेत्रमा पर्ने इडलिबमा मात्र कब्जा जमाएको इस्लामवादी हायात तहरिर अल–साम (एचटीएस) ले अलेप्पो, होम्स गर्दै दमास्कस नियन्त्रणमा लिएका हुन् ।
सिरियामा एक दशकभन्दा लामो गृहयुद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाए । तीमध्ये ३० हजार भन्दा बढी त बालबालिका मात्रै छन् । करिब अढाइ करोड जनसंख्या रहेको सिरियाका करिब आधा जनसंख्या कुनै न कुनै रूपमा विस्थापित भएको छ ।
असद सन् २००० जुलाई १७ मा सिरियाको राष्ट्रप्रमुख बनेका हुन् । सन् २००० जुन १० मा पिता हाफिज अल–असदको मृत्यु भएकै दिन संविधान संशोधन गरेर राष्ट्रपति बन्न पाउने न्यूनतम उमेर ४० वर्षको साटो ३४ वर्ष बनाउँदै असदलाई राष्ट्रपति बन्ने बाटो खुला गरिएको थियो । सुधारवादी नेताका रूपमा परिचित असद कालान्तरमा विरोधीलाई दबाउने बहानामा तानाशाह बने ।
दक्षिण कोरिया र अजरबैजानमा विमान दुर्घटना
वर्षको अन्त्यतिर दक्षिण कोरिया र अजरबैजानमा ठूला विमान दुर्घटनामा परे । थाइल्यान्डको राजधानी बैंककबाट १ सय ७५ यात्रुसहित उडेको जेजु एयरको जहाज दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार बिहान दुर्घटना भयो ।
दुर्घटनामा चालक दलका चार सदस्यसहित १ सय ७९ जनाको मृत्यु भयो । चालकदलका ६ सदस्यमध्ये जहाजको अन्तिम सिटमा रहेका दुई क्याबिन क्रुको भने ज्यान जोगियो । अमेरिकी बोइङ ७३७–८०० द्वारा सञ्चालित जेजु एयरको उडान नम्बर–२२१६ को विमानको अवतरणका क्रममा पाङ्ग्रा (ल्यान्डिङ गियर) नखुलेका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
त्यस्तै, अजरबैजानको एउटा यात्रुवाहक विमान बुधबार कजाकस्तानमा दुर्घटनामा पर्यो । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको हो । दुर्घटनामा ३८ जनाको ज्यान गएको थियो । विमान अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको विमानमा अजरबैजानका ३७, रुसका १६ कजाकस्तानका ६, किर्गिस्तानका ३ यात्रु थिए ।
चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा रहेको विमान क्यास्पियन सागरतर्फ मोडिएर कजाकस्तानतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको अमेरिकाको दाबीपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले माफी मागेका थिए ।
पश्चिम एसिया र युक्रेनमा युद्ध
प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच अघिल्लो वर्ष सुरु भएको युद्ध यस वर्ष पनि जारी रह्यो । हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध सुरु भएको थियो । तर हमासको समर्थनमा उत्रिएपछि लेबनानी समूह हिजबुल्लाह र इजरायल पनि युद्धमा होमिएका थिए ।
इजरायल र हेजबुल्लाह भने करिब १४ महिनापछि युद्धविराम गरेका छन् । युद्धविराम अनुसार इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने तथा इजरायल र हेजबुल्लाह दुवैले लेबनान–इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटर पर रहन सहमत भएका हुन् ।
हमास र इजरायलबीच भने युद्ध जारी छ । सन् २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सय जनाको ज्यान गएको थियो । त्यसका साथै, हमासले इजरायली भूमिबाट २ सय ५१ जनालाई अपहरण गरेर लगेको थियो । तीमध्ये सय भन्दा बढी बन्धक वार्ताका रिहा गरिएको छ भने केहीलाई इजरायली सेनाले मुक्त गरिसकेको छ । अझै हमासको नियन्त्रणमै रहेका ९६ मध्ये ६२ जना जीवितै रहेको इजरायली अधिकारीहरूको अनुमान छ ।
१४ महिना लामो युद्धका क्रममा गाजामा कम्तीमा ४६ हजार जनाले ज्यान गुमाइसकेका छन् । गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार मारिनेमध्ये अधिकांश महिला र बालबालिका छन् । १ लाख ७६ हजारभन्दा बढी घाइते भइसकेका छन् । करिब ११ हजार हराइरहेको जनाइएको छ ।
त्यस्तै, रुस–युक्रेनबीच करिब तीन वर्षदेखि युद्ध जारी छ । रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । रुसले केही सातामै युक्रेनमाथि पूर्ण नियन्त्रण कायम गर्ने अनुमान गरिएको थियो । तर यस अवधिमा रुस आफ्नो लक्ष्यमा पुग्न असफल मात्र भएको छैन, युक्रेनी सेनाले कडा टक्कर पनि दिइरहेको छ ।
पछिल्लो समय भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा समेत आक्रमण गर्ने धम्की दिन थालेका छन् । त्यसका साथै रुसी सेनाले पछिल्लो समय युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्ष्य गरी ठूला आक्रमणहरू गरेको छ ।
पुटिनको ‘चुनावी नाटक’
अमेरिका र उसका सहयोगी देशसँगको सम्बन्ध थप चिसिइरहेका बेला रुसले गत मार्च १५ देखि १७ सम्म राष्ट्रपतीय चुनाव गर्यो । चुनावबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी ६ वर्षे कार्यकालका लागि चुनिए । नाममात्रका प्रतिद्वन्द्वी रहेको चुनावको नतिजासँगै पुटिन सन् २०३० सम्म सत्तामा रहनेछन् ।
Year 2024: From the return of Trump to the fall of the dictatorपछिल्लो पटक २०१८ मा निर्वाचित भएका पुटिनले २०२१ मा थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गर्ने कानुन ल्याएका थिए । जसका कारण उनी सन् २०३६ सम्म राष्ट्रपति हुन पाउने कानुनी बाटो खुला छ ।
रुसी राष्ट्रपतीय चुनावलाई युक्रेनमाथि आक्रमण गर्ने पुटिनको निर्णयप्रतिको जनमतसंग्रहका रूपमा पनि हेरिएको थियो । चुनावी नतिजाले पुटिनको लोकप्रियता खस्किएको देखिएको छ । युक्रेनमाथि पूर्ण रूपको आक्रमण सुरु गर्ने पुटिनको निर्णय भने केही हदसम्म प्रत्युपादक पनि देखिएको छ । यसले विध्वंसकारी परिणामहरू निम्त्याएको छ र रुसले पनि ठूलो संख्यामा हातहतियार, सैन्य शक्ति र आर्थिक नोक्सानी व्यहोरेको छ ।
भारत–क्यानडा तनाव
गत अक्टुबरमा क्यानडाले सिख कार्यकर्ताको हत्यामा भारतीय एजेन्ट संलग्न रहेको आरोप लगाएपछि दुई देशबीच तनाव चर्कियो । क्यानाडाली अधिकारीहरूले आफूहरूसँग भारतीय सरकारी एजेन्टहरूले क्यानडाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने गतिविधिहरूमा भाग लिएको प्रमाणहरू रहेको बताएका थिए ।
संघीय रोयल क्यानेडियन माउन्टेड पुलिसले ‘भारतीय एजेन्टहरूले क्यानडामा गम्भीर आपराधिक गतिविधिमा भाग लिएको प्रमाण फेला पारेको,’ जनाएको थियो ।
यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२३ मा क्यानडा सरकारले भारत र प्रमुख क्यानाडाली सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको सम्भावित सम्बन्धबारे छानबिन गरिरहेको बताएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । उक्त मुद्दामा आफ्नो संलग्नता अस्वीकार गरेको भारत ट्रुडोप्रति निकै रुष्ट बन्यो ।
गत अक्टोबरमा अर्को आरोप सार्वजनिक भएपछि क्यानडाले ६ जना भारतीय कूटनीतिक र कन्सुलर कर्मचारीलाई देश छाड्न आदेश दिएको थियो । विदेश मामिलामन्त्री मेलानी जोलीले निज्जर मामलामा केहीलाई ‘चासोका व्यक्ति’ का रूपमा हेरिएको बताएकी थिइन् ।
क्यानडा सरकारको कदमपछि भारतले पनि ६ जना क्यानाडाली कन्सुलर कर्मचारीलाई देश छाड्न आदेश दिएको थियो । ‘अनुसन्धानको बहानामा, राजनीतिक लाभका लागि भारतलाई जानाजान बदनाम गर्ने रणनीति हो,’ क्यानडाको आरोप अस्वीकार गर्दै भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।