— राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले मालदार र बद्नाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा वाग्लेले भन्सार प्रणाली सुधार्नुपर्ने बताए । भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन बनाउनुपर्ने उनको भनाइ थियो ।
ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उल्लेख गर्दै उनले भन्सारमा आउने सामान रोक्न कागजात नमिल्ने भन्दै तजबिजीमा काम गर्ने प्रवृत्ति रोक्ने कानुन बनाउन आवश्यक रहेको बताए ।
‘भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्छ । ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्नेतिर जानुपर्छ । भन्सार नीतिमार्फत निर्मुल बनाउन सकिँदैन । तजबिजीमा काम गर्ने प्रवृत्ति छ । त्यसलाई रोक्ने कानुन बनाउनुपर्छ । भन्सारमा तजबिजि लगाएर काम गर्ने प्रवृत्तिलाई निर्मुल बनाउनुपर्छ,' वाग्लेले भने, 'भन्सार प्रणालीलाई डिजिटल, डिजिटलाइजेशन, अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्छ । भन्सार छली गरेर पक्राउ पर्यो भने उठ्नै नसक्ने खालको कारबाही भयो भने भन्सारमा सुधार ल्याउँछ । बद्नाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र राम्रा अभ्यासहरु आएका छन् । भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक छ । सुधारको लागि राजनीतिक प्रतिवद्धता छ । मालदार र बदनाम अड्डालाई हामीले रुपान्तरण गर्नुपर्छ ।’
वाग्लेले श्रम, स्वच्छ ऊर्जा, निर्यात गर्ने वा नेपालमा आयात प्रतिस्थापन गर्ने वस्तुरुमा भन्सार शुल्क कम हुनुपर्ने धारणा राखेका थिए । उनले निर्यातजन्य वा पुँजी निर्माणमा काम लाग्ने वस्तुहरूमा कम भन्सार राख्नुपर्ने उल्लेख गरेका थिए । सरकारले मनलाग्दी भन्सार दर अपनाउने गरेको भन्दै भन्सार दर राख्नुको आधार पुष्टि गर्नुपर्ने व्यवस्था ऐनमा हुनुपर्ने वाग्लेको सुझाव थियो ।