— पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारी थालेका छन् । तीन दशकभन्दा लामो समय एमालेको राजनीति गरेका उनी अब भने गैरकम्युनिस्ट पार्टी बनाउने योजनामा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि फरक मत राख्दै आएका रावलले २०७८ मा भएको दसौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि कुनै जिम्मेवारीमा नरहेर पनि उनले निरन्तर फरक मत राखेका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका उनी दूरी बढ्नुअघि ओलीसँग निकट रहेर संविधान निर्माण र शान्ति प्रक्रियाका काममा सक्रिय भएका थिए ।
पछिल्लो समय विवादास्पद व्यवसायी मीनबहादुर गुरुङको दानबाट केन्द्रीय कार्यालय बनाउने निर्णय पार्टीले गर्दा पनि उनले आपत्ति जनाएका थिए । त्यसमा पार्टीले स्पष्टीकरण सोध्दा उनले जवाफ दिएनन् । त्यसपछि रावललाई गत साताको सचिवालय बैठकबाट संगठित सदस्यसमेत नरहने गरी एमालेले कारबाही गरेको हो ।
रावलले अब देशभक्त समाजवादी पार्टी बनाउने सोचमा रहेको निकटस्थ नेतालाई बताएका छन् । ‘त्यसअघि कस्तो पार्टी बनाउनेबारे पूर्वबाट सुझाव संकलन र एमाले अध्यक्ष ओलीको निरंकुश र तानाशाही प्रवृत्तिको भन्डाफोर गर्नुपर्छ,’ उनको भनाइ छ ।
रावलको नयाँ पार्टी गठनमा एमालेको चिनिएका नेता सहभागी हुन्छन् कि हुँदैनन् भन्ने टुंगो लागेको छैन । ‘एमालेमा रहेका असन्तुष्ट नेता, विगतमा कांग्रेससँग जोडिएर अलग भएका र असन्तुष्ट बनेका नेता समेटेर पार्टी बन्छ,’ रावल निकट एक नेताले भने, ‘तर अहिले पार्टीको नाम, विचारधारा, कार्यदिशा तय भइसकेको छैन ।’
नयाँ पार्टी गठन गर्न लागेको चर्चाका बीच रावलले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो आगामी राजनीतिक योजनाबारे स्पष्ट पार्ने बताएका छन् । रावलको गृहजिल्ला अछामका एमाले सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहले नयाँ पार्टी गठनलगायतका तयारीमा छलफल भइरहेको बताए ।
‘बाहिर चर्चामा आएजस्तो बुधबार नै पार्टी गठनको घोषणा भने हुने होइन । तर देशव्यापी रूपमा सञ्चालन हुने छलफल र परामर्शपछि चाँडै उहाँ ठोस निष्कर्षमा पुग्नुहुन्छ ।’ रावलको नेतृत्वमा सबै विचार समूहका देशभक्त अटाउने पार्टी गठन हुने उनको भनाइ छ । ‘कम्युनिस्ट पार्टी नामको अर्को पार्टीको औचित्य छैन,’ उनले भने ।
रावलसँग भेट गरेका नेताहरू भने पार्टी गठनको तयारीमा लागिसकेको दाबी गर्छन् । सोमबार सुदूरपश्चिम प्रदेशसभामा स्वतन्त्र सांसद डडेलधुराका तारा जोशी र अहिले बीपी कांग्रेसमा उपसभापति रहेका डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्लले रावलसँग भेटघाट गरेका थिए । ‘उहाँले सबै विचार समूहका व्यक्ति अटाउन सक्ने पार्टी गठनको योजना सुनाउनुभएको छ,’ सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्यसमेत रहेका मल्लले भने, ‘उहाँ जत्तिकै उचाइ र देशभक्त नेताको पहिचान भएका नेताले आह्वान गरेमा साथ दिने सवालमा सोच्नैपर्ने हुन्छ ।’
सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य कृष्णराज सुवेदीले रावल नयाँ पार्टी गठनको परामर्शमा रहेको बताए । ‘बुधबारको पत्रकार सम्मेलनमा उहाँले एमाले नेतृत्वले गरेको अन्यायपूर्ण व्यवहारको चिरफार गर्नुहुनेछ,’ उनले भने, ‘सबै विचार समूहका व्यक्ति अटाउन सक्ने पार्टी गठनको छलफल भइरहेको छ । अब कम्युनिस्ट शब्द झुन्डिएका पार्टी गठन गर्नुको अर्थ छैन ।’
सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडिन एवं राजनीतिशास्त्रका प्राध्यापक मुकुन्द कलौनीले रावलसामु नयाँ पार्टी बनाउने चुनौती रहेको बताए । ‘उनले बनाउने पार्टीको राजनीतिक विचारधारा सांगठनिक संरचना स्पष्ट भइसकेको छैन,’ उनले भने, ‘महत्त्वाकांक्षा मात्रै हो भने गतिलो पार्टी बन्न सक्दैन । स्पष्ट नयाँ विचार अघि बढाउने सशक्त टिम र देशव्यापी संगठन चाहिन्छ ।’
अरू पार्टीभन्दा देश र जनतालाई सम्बोधन गर्न सक्ने दृष्टिकोण भए मात्र बलियो पार्टी बन्न सक्ने प्राध्यापक कलौनीको भनाइ छ । उनले नेपालका अधिकांश राजनीतिक पार्टी ‘दबाब समूह’ जस्ता भएको बताए । ‘नेपालका नेताहरूमा अधिनायकवादी चरित्र हावी छ,’ उनले भने ।
पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी पार्टी सचिवालयले गरेको कारबाहीप्रति एमालेका केही नेताले असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि गरिएको कारबाही गलत भएको उनीहरूको भनाइ छ ।
रावलका समर्थक मानिने एमाले केन्द्रीय सदस्य झपट रावलले तीन नेतामाथि गरिएको कारबाही आगामी केन्द्रीय कमिटीको बैठकबाट फिर्ता हुनुपर्ने बताए । ‘जनताको बहुदलीय जनवाद लोकतन्त्रको उच्चतम अभ्यासको सिद्धान्त हो । पार्टीमा कुरा नै राख्नै पाइएन भने त्यसको कुनै अर्थै हुँदैन,’ केन्द्रीय सदस्य रावलले भने, ‘पार्टीभित्र अन्तरसंघर्ष र अन्तरविरोध हुन सक्छ । त्यसलाई समाधान गर्ने विधि पनि छन् । तर अहिले समस्या चर्काउनेहरू बढी भएकाले यस्तो अवस्था आएको हो ।’ उनले एमाले कार्यकर्ता नेतृत्वकहाँ जाने, भ्रमपूर्ण कुरा लगाउने, फोटो खिच्ने प्रवृत्ति हावी रहेको बताए ।
केन्द्रीय सदस्य रावलले एमालेमा अहिले चटपटे (जे मन पर्छ, त्यस्तै स्वाद दिने) प्रवृत्तिको बोलवाला रहेको टिप्पणी गरे । ‘त्यस्तो प्रवृत्तिको अन्त्य गर्नैपर्छ,’ उनले भने । पूर्वउपाध्यक्ष रावलले नयाँ पार्टी गठनको तयारी गरेको विषयमा पनि उनले कुनै प्रतिक्रिया दिएनन् । ‘त्यसबारेमा सोचेकै छैन,’ उनले भने, ‘अहिले नै कुनै टिप्पणी गर्नु हतार हुन्छ ।’
रावलकै समर्थक रहेका अर्का केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले पनि पार्टीले छलफलको मौकासमेत नदिएर रावललगायत नेतामाथि गरेको कारबाही फिर्ता गर्नुको विकल्प नभएको बताए । ‘छलफलकै मौका नदिएर सिधै पार्टीबाट निष्कासन गर्नु सरासर गलत हो,’ उनले भने, ‘तीनै जना नेतामाथिको कारबाही फिर्ता लिएर काममा फर्काउनु पार्टीको हितमा हुन्छ ।’
एमाले स्थायी कमिटी सदस्य कर्ण थापा पनि पूर्वउपाध्यक्ष रावलमाथि गरिएको कारबाहीप्रति सन्तुष्ट देखिँदैनन् । उनले आफ्ना विमति एकपछि अर्को गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । ‘असल नियतका साथ साधारण छलफलबाट समाधान गर्न सकिने विषयलाई झनै जटिल बनाउने व्यवहारले संसारै बदल्ने कुरा गर्दा अपत्यारिलो हुन्छ कि ?’ भीम रावललगायतका नेतामाथि पार्टीले गरेको कारबाहीप्रति लक्ष्य गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ठन्डा दिमागले सोचौं । देश आवेग, उत्तेजना, निराशा र असन्तुष्टि वा विरोधले बन्दैन । सबैका अनुभव र योग्यतालाई मिलाएर एक लयमा काम गर्दा मात्रै सही परिणाम निकाल्न सकिन्छ ।’
त्यसै प्रसंगमा उनले ‘धृतराष्ट्रको पुत्रमोह र दुर्योधनको सत्तामोह जगाउन र त्यसलाई उपयोग गर्न सकुनीले आफ्ना सबै ज्ञान, अनुभव र समय लगाएर महाभारत युद्ध भएको, लाखौंको रगत बगेको र करोडौंको धनराशि नोक्सान भएको’ उल्लेख गरेका छन् ।