। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त हुन नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै उनले कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताए ।
‘कुनैपनि परियोजना तर्जुमा गर्नुभन्दा पहिले त्यसको आवश्यक्ता, सान्दर्भिकता र लगानीको प्रतिफलमा हामीले विशेष ध्यान दिनुपर्छ । हाम्रो समस्या केछ भने हामी लहडको भरमा निर्णय लिन्छौं,’ अध्यक्ष नेपालले भने, ‘योजना बनाउँछौं, परियोजना तय गर्छौं, लगानी गर्छौं तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफल प्राप्त गर्नकै लागि गर्ने हो । त्यत्तिकै पैसा डुबाउनका लागि लगानी गर्ने होइन ।’
विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गर्दै उनले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न पनि गरे ।
‘कतिपय ठाउँहरूमा डोमेस्टिक एयरपोर्टहरू निर्माणको काम हुन थालिरहेको छ । १६ भन्दा बढी विमानस्थलहरुमा जहाज ओर्लिंदैनन्, जहाज पुग्दैनन्,’ नेपालले भने, ‘त्यो संख्या अझै १८ पुगिसकेको होला । त्यसको पनि अर्को पटक रिपोर्ट आओस् । विमानस्थल सञ्चालनको स्थिति र विमानस्थलको उपयोगको बारेमा जानकारी पाउनुपर्यो ।’