— नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । उनी बैठकस्थलको मञ्चको अग्रपंक्तिको पहिलो लहरमा छन् । उनीसँगै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल रहेका छन् ।
मञ्चको दोस्रो लहरमा भने उपमहासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत छन् । माओवादीमा ४ उपाध्यक्ष छन् । उपाध्यक्ष कृष्णबहादुर महरा भने बैठकमा उपस्थित छैनन् । बैठकमा पूर्वउपराष्ट्रपति पुनको अगाडि 'उपाध्यक्ष' को 'नेमप्लेट' समेत राखिएको छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रीय समिति बैठक बुधबारसम्म चल्नेछ ।
पूर्वउपराष्ट्रपति पुन यसअघि पनि माओवादी स्थायी समिति बैठकमा सहभागी हुँदै आएका थिए । माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेको छ । पुन आफैंले पनि आफू सक्रिय राजनीतिमा आइसकेको र त्यसबारे द्विविधा नराख्न भनिरहेका छन् । उपराष्ट्रपति हुनुअघिसम्म पुन अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र थिए । पुनलाई पार्टीमा भित्र्याउँदा नेतृत्व समूहमा आफ्नो पक्ष बलियो हुने कारणले दाहालले उनलाई जिम्मेवारी दिन खोजेको बताइन्छ । दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन दलीय राजनीतिमा सक्रिय हुन थालेका हुन् । उनी पछिल्लो समय माओवादी पदाधिकारी बैठकमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएका छन् ।
सशस्त्र द्वन्द्वका बेला नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चन्द्रदेव खनाल माओवादी लडाकुको डेपुटी कमान्डर थिए । २०२२ कात्तिक ७ गते राङ्सी रोल्पामा जन्मिएका नन्दबहादुर पुन २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गरे पनि कांग्रेसका गगन थापाबाट पराजित भएका थिए । उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए । २०७९ चैतमा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनको पदावधि सकिएको थियो ।