— सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष मनास्लु क्षेत्र घुम्ने विदेशीको संख्या बढेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।
निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो । तर त्यसयता बर्सेनि पर्यटक बढिरहेका छन् ।
सुरुको वर्ष ३ सय ४४ जना पर्यटक मनास्लु क्षेत्र आएका थिए । सन् १९९५ यता सबैभन्दा बढी २०२४ मा १० हजार ६ सय पर्यटकले मनास्लु भ्रमण गरेको एमक्यापले जनाएको छ । सन् २०२३ मा ९ हजार १ सय ७७ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । गत चैत, वैशाख, असोज र कात्तिकमा मनास्लु भ्रमणको चाप देखिएको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए ।
कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र लयमा फर्किएको उनको भनाइ छ । कोरोनाको समयमा सन् २०२० मा तीन सय ७४ जनाले मात्र मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा ९ सय २५ र २०२२ मा ६ हजार १ सय २ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको शेरचनको भनाइ छ ।
असोज र कात्तिकमा मनास्लु क्षेत्रमा पर्यटकको चाप बढेको थियो । असोजमा २ हजार ४ सय १२ तथा कात्तिकमा ३ हजार ३ सय ३ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । गत चैतमा १ हजार ८ सय ११ तथा वैशाखमा १ हजार १ सय ३२ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको एमक्यापको तथ्यांकमा उल्लेख छ ।
मार्च, अप्रिल र मे तथा अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ । ‘ट्रेकिङका लागि मनास्लु क्षेत्र आकर्षक गन्तव्य हो, सडक सञ्जालको विस्तार नभएकाले पनि ट्रेकिङका लागि पर्यटकले मनास्लु रोज्ने गरेका छन्, ट्रेकिङकै लागि आउने पर्यटकलाई यो उपुयक्त गन्तव्य बनेको छ,’ उनले भने । साहसिक पदयात्रा गर्ने र प्रकृतिप्रेमी पर्यटकको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ ।
मनास्लु क्षेत्र जैविक विविधता र प्राकृतिक भू–बनोटका हिसाबले सुन्दर ठाउँ भएकाले पर्यटकको संख्यामा बर्सेनि वृद्धि भइरहेको शेरचनको भनाइ छ । यहाँ आएका पर्यटक चुम र नुब्री भ्याली क्षेत्रको भ्रमण तथा लार्के पासमा जाने गर्छन् ।
पछिल्लो समय मनास्लु क्षेत्र भ्रमण गर्ने नेपाली पर्यटकको संख्यामा पनि वृद्धि भएको उनले बताए । एमक्यापले विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ । उत्तरी क्षेत्रको भौगोलिक अवस्थिति, हिमशृंखला, सांस्कृतिक मठमन्दिर र गुम्बा अवलोकन पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।