— चुरे क्षेत्रसँग जोडिएको ब्रह्मदेव करिडोर तथा आसपास क्षेत्रमा क्यामेरा ट्र्यापिङ विधिबाट बाघ र बाघको आहारा प्रजातिको अनुगमन थालिएको छ । करिडोरमा पर्ने वेदकोट नगरपालिकाको छेला सबडिभिजन वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर शुक्रबार गणनाको शुभारम्भ गरिएको छ ।
बाघ अनुगमनका लागि महाकाली नदी किनारदेखि लालझाडी मोहोना संरक्षित क्षेत्रसम्म कञ्चनपुर र डडेलधुराको वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिनेछन् । जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का कार्यक्रम अधिकृत सन्तोष पौडेलले बाघ र हात्तीको मुख्य करिडोरमा अन्य वन्यजन्तुको उपस्थितिसमेत अनुगमनबाट पहिचान हुने बताए ।
अहिले जेडएसएल र राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा गणना तथा अनुगमन भइरहेको हो । ब्रह्मदेव करिडोर २०१८ र २०२२ को राष्ट्रिय बाघ गणनामा समावेश गरिएको थियो । २०२२ को राष्ट्रिय गणनामा डडेलधुराको परशुराम क्षेत्रमा एउटा वयस्क बाघ देखिएको थियो ।
‘जलवायु परिवर्तनका कारण बाघलगायत वन्यजन्तु तथा वनस्पति उचित हावापानीको खोजीमा सरिरहेका छन्,’ वन विज्ञान अनुसन्धान केन्द्र हेटौंडाका उपप्राध्यापक शैलेन्द्र यादवले भने, ‘त्यसका लागि यो करिडोर महत्त्वपूर्ण छ, किनकि यो चुरेसँग उत्तर–दक्षिण जोडिएको छ ।’
व्रह्मदेव करिडोर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई चुरे क्षेत्रसँग र महाकाली पारी भारतको नान्धौर संरक्षित क्षेत्रसँग जोडने भएकाले महत्त्वपूर्ण मानिन्छ । यो करिडोर उत्तर–दक्षिण जोडिएकाले जलवायु परिवर्तनको असरका कारण उत्तरी क्षेत्रतर्फ बसाइ सर्ने वन्यजन्तुका लागि समेत यो महत्त्वपूर्ण रहेको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए ।