मुख्य समाचार
शैक्षिक सुधारको माग गर्दै सातादेखि माइतीघरमा उभिएर धर्ना
शैक्षिक सुधारको माग गर्दै सातादेखि माइतीघरमा उभिएर धर्ना

— सार्वजनिक शिक्षा सुधारको माग राख्दै समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागार्इं एक सातादेखि माइतीघर मण्डलामा दिनभर उभिएर धर्नामा छन् । सात वटै प्रदेशको राजधानीमा २–२ दिन उभिएर धर्ना दिएपछि यही पुस १४ देखि माइतीघरमा उभिन थालेका हुन् ।



पुसको चिसोमा उनी सडकपेटीछेउ बिहान १० देखि साँझ ५ बजेसम्म उभिन्छन् । ‘दैनिक ७ घण्टा उभिँदा खुट्टा सुन्निन थालिसकेको छ । तर शिक्षा मन्त्रालयले माग र धर्नाप्रति कुनै सुनुवाइ गरेको छैन,’ उनले भने । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ को सुझावअनुसार शिक्षा ऐन शीघ्र जारी हुनुपर्ने उनको मुख्य माग छ ।


उनका १५ बुँदे मागमध्ये अधिकांश सामुदायिक विद्यालय सुधारमा केन्द्रित छन् । गत जेठमा पनि उनले माइतीघरमा उभिएर दुई सातासम्म धर्ना दिएका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठसँग सम्झौता भएपछि धर्ना टुंगिएको थियो । ६ महिनासम्म सम्झौता कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले तत्परता नदेखाएपछि पुनः धर्ना थालेको उनले सुनाए । शिक्षा सचिव दीपक काफ्लेले धर्ना बसेकोबारे जानकारी नभएकाले बुझेर मात्रै प्रतिक्रिया दिन सकिने बताए ।

गत असोजमा शिक्षामन्त्री विद्या भट्टराईलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै १४ बुँदे सुझाव दिएको चापागाईंको भनाइ छ । सुनुवाइ नभएपछि भट्टराईकै गृहसहर पोखराबाट धर्ना थालेर उनी धनगढी, जनकपुर हुँदै संघीय राजधानी काठमाडौं आइपुगेका हुन् ।

प्रारम्भिक बालविकास (ईसीडी) शिक्षालाई विद्यालय संरचनामा ल्याउनुपर्ने, विद्यार्थीलाई दिइने वार्षिक ४ सय रुपैयाँ छात्रवृत्ति बढाउनुपर्ने, सामुदायिक विद्यालयलाई सय युनिटसम्म बिजुली र पानी निःशुल्क उपलब्ध गराउनुपर्ने उनको माग छ ।

यस्तै, विद्यालयले पाउने प्रशासनिक खर्च लगायत रकम बढाउनुपर्ने, निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने, शिक्षकलाई दलगत संगठनमा आबद्ध हुन दिन नहुने, पहाडी जिल्लाहरूमा आवासीय विद्यालय सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाउने मासिक भत्ता वृद्धि गर्नुपर्ने, शिक्षा सुधारमा बजेट अभाव भए शैक्षिक सुधार कोष बनाउनुपर्नेलगायत माग उनले अघि सारेका छन् ।

उनको धर्नामा राजनीतिक दल, सांसद, विद्यार्थी संगठन, नागरिक अभियन्ता, शिक्षक महासंघ, ईसीडी शिक्षक र विद्यालय कर्मचारीले पनि ऐक्यबद्धता जनाउँदै आएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयक अघिल्लो सरकारकै पालामा संसद्मा दर्ता भए पनि पारित हुन सकेको छैन । संसद्को शिक्षा तथा समितिमा विधेयक विचाराधीन छ ।

समितिले प्रदेशस्तरमा सुझाव संकलन गरिरहेको छ । विधेयकमा ईसीडी शिक्षालाई विद्यालय शिक्षाको संरचनामा समावेश गरिएको छैन । चापागाईंले भने विद्यालय शिक्षाको मान्यता दिनुपर्ने र ईसीडी शिक्षा सरकारको प्राथमिकताको विषय हुनुपर्ने माग अघि सारेका छन् ।

ईसीडी शिक्षा सुधार हुन सकेमात्र समग्र शिक्षामा सुधार आउने उनले जनाए । ईसीडी शिक्षामा राज्यले लगानी बढाउनुपर्ने, त्यहाँ पढाउने शिक्षकलाई आकर्षक सेवासुविधा दिनुपर्ने उनको माग छ । ३५ हजार ईसीडी शिक्षकलाई न्यून पारिश्रमिकमा सरकारले काममा लगाएको छ । उनीहरूले मासिक १५ हजार मात्र तलब पाउँछन् । ‘अहिले कांग्रेस–एमालेको दुई तिहाइको सरकार छ । यो सरकारले चाह्यो भने शिक्षामा सुधार गर्न सम्भव छ,’ उनले भने, ‘उहाँहरूलाई सार्वजनिक शिक्षा सुधार गर्न कसले रोकेको छ ?’

२०६० सालदेखि विपन्न विद्यार्थीलाई वार्षिक ४ सय रुपैयाँ मात्र छात्रवृत्ति दिँदै आएकोमा त्यसलाई बढाउनुपर्ने उनको माग छ । ‘२०५२ सालदेखि प्रधानाध्यापकले मासिक २ सय भत्ता पाउँदा रहेछन्,’ उनले भने, ‘वडा कार्यालयले सञ्चालन खर्च २ लाख पाउँछ । विद्यालयले १० हजार मात्र पाउँछ ।’ सार्वजनिक शिक्षा सुधारमा राज्यले ध्यान नै नदिने उनले गुनासो गरे । एक महिनालाई पनि नपुग्ने विद्यालय सञ्चालन खर्च वृद्धि गरी कम्तीमा १ लाख बनाउनुपर्ने उनको सुझाव छ ।

‘सहरका ठूला विद्यालयमा पानी र बिजुलीको बिल नै मासिक एक लाखभन्दा बढी उठ्छ,’ उनले भने, ‘सरकारले मन्दिरमा निःशुल्क बिजुली दिन्छ । विद्यालयलाई मासिक १ सय युनिट बिजुली निःशुल्क किन दिन सक्दैन ?’ माध्यमिक शिक्षा निःशुल्क भने पनि परीक्षा, प्रमाणपत्रको नाममा सरकारले नै शुल्क लिने गरेकामा चापागाईंले असन्तुष्टि जनाए ।
‘सरकारले हाम्रो माग पूरा गर्न बजेट चाहिन्छ तर छैन भन्छ, यसको पनि विकल्प दिएका छौं । शैक्षिक सुधार कोषमा १० अर्ब रकम जम्मा गर्न सकिन्छ । त्यसका लागि सीएसआर (कम्पनीहरूले जनहितका काममा गर्ने लगानी) लाई सदुपयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोसी प्रदेशको विरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको निष्कर्ष निकालेको छ। च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख छ। ‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ...
: कोरियन भाषा पास गरेपछि हुने प्रक्रियागत ढिलाइको समाधान गर्न माग गर्दै नेपालस्थित इपीएस शाखाका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ। भाषा प्रशिक्षकहरूको सहभागितामा ईपीएसमार्फत कोरिया जाने विद्यार्थीहरूको फ्लाइट रद्द, सिप विल्डिङ तथा कृषितर्फ पास भएका विद्यार्थीहरूको प्रक्रियागत ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न समस्याहरू समाधानको माग गर्दै ईपीएस कार्यालय प्रमुख राजकुमार राईलाई ज्ञापनपत्र बुझाइएको हो। भाषा ...
: प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन्। आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरेका हुन्। उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता ...
: भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भवन हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ७९ लाख ३० हजारमा निर्माण गरिएको उक्त क्याम्पसको भवन तथा छात्रावास हस्तान्तरण गरिएको हो। जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौंस्थित भारतीय दूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्तरूपमा क्याम्पस व्यवस्थापन समितिलाई औपचारिकरूपमा हस्तान्तरण गरेका ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाइनेछ । कार्यदलमा कान्तिशिखा धिताल,डा नन्दन यादव,गणेश कार्की,सोभिता ...