— कर्णाली राजमार्गको जुम्ला–नाग्म ३२ किलोमिटर खण्डमा सडक मिचेर बनाइएका घरटहराले दुर्घटनाको जोखिम बढेको छ । जुम्ला खण्डमा रहेका उमगाड, तातोपानी, ऐरेनी, कुडारी, त्रिवेणी र रारालिहीमा सवारी दुर्घटनाको जोखिम छ।
सडकमा संरचना बनेका र निर्माण सामग्री समेत राख्ने गरिँदा दुर्घटनाको जोखिम बढेको हो । सडक आसपासमा मनपरी रुपमा बनाएका घरटहरा तत्काल हटाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन्।
तिला गाउँपालिका–३ का निराजन गौतमले साँघुरो सडकले जोखिम बढाएको बताए । उनका अनुसार त्रिवेणी र रारालिहीका ३३ जनाले सडक अतिक्रमण हटाउनुपर्ने भन्दै तिला गाउँपालिकामा निवेदन दिएका छन् ।
सडकमा बनेका संरचना नहटाउने हो भने जुनसुकै बेला दुर्घटना खेप्नुपर्ने उनीहरुको तर्क छ । सडक डिभिजन कार्यालय जुम्लालाई पटक-पटक सडकमा बनेका संरचना हटाउन माग गरिएको उनले बताए । नापी कार्यालय जुम्लाले रेखाकंन गरे अनुसारको सडक बन्नुपर्ने स्थानीयले बताएका छन् । तर न सडक डिभिजनले संरचना हटाउन सकेको छ न अतिक्रमण गर्नेलाई कुनै कार्वाही नै ।
स्थानीयको दबावमा तिला गाउँपालिका र सडकसँग जोडिएका वडा कार्यालयहरुले अतिक्रमण गरेर बनेका संरचना हटाउन पटक-पटक सुचित गरिसकेका छन् । ‘हरेक पटक सूचना जारी हुन्छ, तर घरटहरा जस्ताको त्यस्तै देखिरहेको अवस्था छ,’ कुडारीका ज्वारीलाल भट्टराईले भने, ‘सडक फराकिलो बनाउन तत्काल संरचना हटाइनुपर्छ ।’
तिला गाउँपालिका–३ का वडाध्यक्ष धनबहादुर शाहीले अतिक्रमित घरटहरा हटाउन डिभिजन कार्यालयलाई सहयोग गर्ने बताए । उनले भने, ‘सडकमा संरचना त बनिरहेका छन् । तर त्यो भन्दा बढी त निर्माण सामग्री राखिएकोले समस्या छ ।’
सडक अतिक्रमण हटाउने विषय पालिकाको प्राथमिकतामा रहेको अध्यक्ष मोतिलाल रोकायाले बताए । ‘लामो दबाव र ताकेताले केहीले घरटहरा हटाइसकेका छन् । बाँकी रहेका घरटहरा पनि छिट्टै हट्नेछन्,’ उनले भने ।सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरी घरटहरा हटाउन स्थानीयले असहयोग गरेको बताउँछन् ।
‘पटक-पटक सूचना जारी गर्यौं । तर घरटहरा हटेनन् । उल्टै सडक डिभिजन कार्यालयविरुद्ध होमिए,’ प्रमुख चौधरीले भने,‘सात दिने सूचना धेरै निस्किए । तर केही लागेन ।’ सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३)बमोजिम सडकमा बनाएका घरटहरा हटाउनु परेको खण्डमा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट नै असुलउपर गरिने उल्लेख छ ।
डिभिजन प्रमुख चौधरीले अतिक्रमण गरी सडकभित्र बनाएका घरटहराको तथ्यांक समेत पालिकामा नभेटिने गरेको बताए । ‘यसका लागि सडकसँग जोडिएका पालिकाहरुसँग समन्वय भइरहेको छ, तर कुनै तथ्यांक छैन,’ उनले भने । नाग्मदेखि जुम्ला खलंगासम्मको ३२ किलोमिटर सडक फराकिलो हुनुपर्नेमा जुम्लाबासीको जोड छ ।