— सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार रवि लामिछानेसहित ७ जनाविरुद्धको थुनछेकमा जाहेरवालकातर्फबाट कानुन व्यवसायीले बहस सकेका छन् । वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी, अधिवक्ताहरू युवराज पराजुली, बेदबहादुर विष्ट, आरसी गौतम र हरि कट्टेलले सातजनालाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गर्दै बहस गरे ।
बहसमा सहभागी अधिवक्ता पराजुलीका अनुसार कानुन व्यवसायीले सातजनालाई पुर्पक्षमा पठाउनुपर्ने आधार र कारण प्रस्तुत गरेका थिए । त्यसक्रममा सूर्यदर्शन सहकारीबाट एक करोड रुपैयाँ रवि लामिछानेका नाममा गएको सन्दर्भमा कानुन व्यवसायीले तर्क पेश गरे । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा लामिछानेको नाममा ऋण गएको उल्लेख थियो भने प्रहरी अनुसन्धानका क्रममा रवि लामिछानेको नाममा ऋण माग फारम भरेको फेला परेको थियो । उक्त माग फारममा लामिछानेको ठेगाना पोखरा–८ सिर्जनाचोक लेखिएको छ ।
माग फारममा लामिछानेको हस्ताक्षर नमिलेको सन्दर्भमा कानुन व्यवसायीले ठगी गर्ने नियतले नै प्रक्रिया नपुर्याइ ऋण झिकिएको तर्क गरे । ‘सेयर सदस्य भएर, धितो बन्धक राखेर, कागजी प्रक्रिया पूरा गरेर ऋण झिकेको भए सहकारी ठगी नै हुने थिएन नि,’ अधिवक्ता पराजुलीले भने, ‘प्रक्रिया नपुर्याइ ठगी गर्ने नियतले रकम लगिएको भएर नै अहिले मुद्दा चलेको हो ।’ लामिछानेले उक्त माग फारम भर्ने रवि लामिछाने आफू नभएको पटक-पटक बताउँदै आएका छन् । ‘ऋण लैजाने रास्वपा सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने होइनन् भने को हुन् ?,’ इजलासमा जाहेरवाला पक्षका कानुन व्यवसायीले प्रश्न गरे, ‘सो व्यक्ति म होइन, खोजी गरी कारबाही गरिपाउँ भनेर उहाँ (लामिछाने) ले अहिलेसम्म कहाँ निवेदन दिनुभयो ?’
कानुन व्यवसायीले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकबाट राजीनामा दिइसकेपछि पनि १४ वटा चेक काटेर विभिन्न सहकारीको किस्ता बुझाएको प्रमाण इजलासमा प्रस्तुत गरे । सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको प्रमाणित भइसकेको र उक्त रकम खर्च गर्ने क्रममा प्रबन्ध निर्देशक र सञ्चालकले स्रोत खोज्नुपर्नेमा ‘त्यस्तो रकम कहाँबाट आयो, थाहा भएन’ भनेर कानुनले उन्मुक्ति नदिने कानुन व्यवसायीको तर्क थियो ।
प्रतिवादीहरूले सहकारीको रकम अपचलन गरेको मिसिल संलग्न कागजबाट देखिएको, सम्पत्तिको स्रोत नखुलेको, ‘हाई प्रोफाइल’ व्यक्ति भएकोले धरौटीमा छोड्दा प्रमाण लोप गर्न सक्ने अवस्था समेत विद्यमान भएको, यसअघि सहकारी ठगीको मुद्दा मात्रै हुँदा पनि गोर्खा मिडियाका सञ्चालकसहित ६ जना पुर्पक्षमा रहेको अवस्थामा ‘इक्वेल फुटिङ’ को अवधाराणाका आधारमा पनि हिरासतमा रहेका सातजनालाई पुर्पक्षमा पठाउनुपर्ने कानुन व्यवसायीले तर्क गरे ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, जीबी राईकी सहयोग लीला पछाई, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, सहकारीकी संस्थापक तदर्श समिति अध्यक्ष एवं पूर्व प्रदेशसभा सदस्य मीना गुरुङ, उनका बुबा पूर्व उपाध्यक्ष कृष्णबहादुर गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ कास्की प्रहरीको हिरासतमा छन् । प्रतिवादीहरूको बयान पनि खण्डित भएको अधिवक्ता पराजुलीले बताए । ‘छविले रवि र जीबीलाई पोलेका छन् । रविले छवि र जीबीलाई पोलेका छन् । रामबहादुरले छविलाई पोलेका छन्,’ उनले भने, ‘यी सबै आधार र कारणबाट प्रतिवादीहरूलाई पुर्पक्षमा पठाउनुपर्ने पक्षमाा बहस गर्यौं ।’