— प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले कांग्रेस-एमाले गठबन्धन सरकारले दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउने षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको स्थायी समिति बैठकले सरकार अस्थिरता ल्याउन उल्टो बाटोमा हिँडेको निष्कर्ष निकाल्दै संसद् अधिवेशन बोलाउन माग गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसद् बोलाउनुपर्नेमा अध्यादेशको बाटोमा अघि बढ्न खोजेको र दल फुटाउने षड्यन्त्रमा लागेको बैठकमा बताएका थिए ।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाउन सरकारलाई दबाब दिने बताए । ‘सरकारले संसद् आहृवान गर्न आनाकानी गरेको छ । अब संसद् बोलाउन दबाब दिनुपर्छ । यतिबेला दलसम्बन्धी अध्यादेश ल्याउने कुरा सर्वथा गलत छ,’ उनले भने, ‘दल विभाजन गरी सरकार निरंकुश बाटोमा हिँड्न खोजेको छ । हाम्रो पार्टीले त्यसको सशक्त विरोध गर्छ ।’
बैठकमा दाहालले सरकार सुशासनविरुद्ध भएको आरोप लगाए । ‘सरकार सुशासनविरुद्ध छ । भ्रष्टाचारीको संरक्षकको रुपमा छ,’ उनको भनाइ थियो, ‘निरंकुशतातिर अघि बढेको छ । छलफल बहसलाई निषेध गरेको छ ।’