— नेपालमा आत्महत्या गर्ने दर निरन्तर बढ्दो छ । आर्थिक वर्ष २०७८/०७९ देखि गत कात्तिकसम्म २३ हजार २ सय ७५जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी देखिएको छ ।
बालकको तुलनामा भने आत्महत्या गर्नेमा बालिकाको संख्या बढी छ । कात्तिकसम्म ७ हजार ५ सय ६५ महिला, १३ हजार ४० पुरुष र २ हजार ६ सय ७० बालबालिकाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ ।
आत्महत्या गर्ने २ हजार ६ सय ७० मध्ये १ हजार ७ सय ७५ जना बालिका हुन् भने ८ सय ९५ जना बालक रहेका छन् । यही समयमा आत्मदाह गर्नेको संख्या भने १७ जनाको रहेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको यो तथ्यांकले आत्महत्या दर विकराल रहेको देखिन्छ । जुन बढ्दो क्रममा पनि छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ८ सय ३०, २०७९/०८० मा ६ हजार ९ सय ९३, २०८०/०८१ मा ७ हजार २ सय १९ जनाले हात्महत्या गरेका थिए । नयाँ आर्थिक वर्ष सुरु भएपछि कात्तिकसम्म २ हजार २ सय ३३ जनाले आत्महत्या गरेका छन् । नयाँ आर्थिक वर्षको चार महिनामा १ हजार २ सय २७ पुरुष र ६ सय ८६ जना महिलाले आत्महत्या गरेका हुन् । बालकको संख्या १०४ र बालिकाको संख्या २१६ रहेको छ ।
संसारमा कतै न कतै हरेक ४० सेकेन्डमा कसैले आत्महत्या गर्ने गर्छन् । झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओले जनाएको छ । आत्महत्या गर्ने मानिसका कारणले ती मानिसका छोराछोरी, आमाबाबु, पति वा पत्नी, मित्रहरू वा सहकर्मीहरूसमेत प्रत्यक्ष प्रभावित हुन्छन् । अमेरिकामा गरिएको एक अध्ययनले आत्महत्या गर्ने एक जना व्यक्तिको कदमबाट अन्य करिब १ सय ३५ जना मानिस प्रभावित हुन सक्छन् भन्ने देखाएको छ ।
जनस्वास्थ्यविज्ञ दीपक तिवारी अहिले छिटो पैसा कमाउने अपेक्षा र आर्थिक कारणले मानिसको जीवन निरासातर्फ गएको बताउँछन् । यससँगै सामाजिक र सांस्कृतिक पक्ष पनि आत्महत्या बढ्नुको कारण भएको उनी बताउँछन् । पहिले पहिले मानिसहरू धर्मकर्ममा पनि विश्वास गर्थे । जीवनमा कहिले सफल र असफल हुन्छौं भन्ने थियो तर अहिले मानिसहरूलाई सफलता मात्र चाहिएको छ । सामाजिक सम्बन्धहरू पनि कमजोर बन्दै गएका छन् । कोही कसैलाई कसैको कुरा सुन्ने फुर्सद छैन र मानसिक रोगका कारण पनि आत्महत्याको दर बढ्ने गरेको उनको अनुभव छ ।
राज्यले विभिन्न दिवसहरू मनाउँदै आत्महत्याका विषयमा छलफल गरेर यो विषयलाई प्राथमिकतामा राखे पनि अपर्याप्त रहेको तिवारी बताउँछन् । ‘यो सबै क्षेत्रको विषय बन्नुपर्छ,’ तिवारीले भने, ‘बृहत् छलफल र अभियानले अत्महत्या रोक्न सहयोग पुग्छ ।’ पछिल्ला दिनमा भने स्कुल नर्स लगायतका कार्यक्रमले समेत यसको न्यूनीकरणमा भूमिका खेलेको उनको अनुभव छ ।
मानसिक तनावबाट गुज्रिरहेका वा त्यस्तो तनाव भोगिरहेका मानिसका लागि पैसा नलाग्ने सरकारी हेल्प लाइन नम्बर ११६६ संचालनमा छ ।