मुख्य समाचार
शक्तिशाली तानाशाहको 'रजत जयन्ती'
शक्तिशाली तानाशाहको 'रजत जयन्ती'

— रुसी राष्ट्रपति बोरिस यल्तसिनले सन् १९९९ डिसेम्बर ३१ मा अप्रत्यासित घोषणा गर्दै भनेका थिए, 'जब देशमा लगभग सबै नागरिकले भविष्य देखेको राष्ट्रपति हुन सक्ने बलियो नेता छ भने म किन थप ६ महिना सत्तामा टाँसिइरहने ?


येल्तसिनले सोभियत संघको विघटनबाट आमरुसी जनतामा परेको पीडा स्वीकार्दै भनेका थिए, 'उनको बाटोमा म किन उभिइरहनू ?' यल्तसिनले त्यतिबेला उल्लेख गरेको व्यक्ति अरू कोही नभएर भ्लादिमिर पुटिन हुन् । पुटिन त्यतिबेला रुसका प्रधानमन्त्री थिए ।


यल्तसिनले सन् १९९९ अगस्ट ९ मा पुटिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । करिब पाँच महिनाअघि मात्रै प्रधानमन्त्री बनेका पुटिन राजनीतिक रूपमा पनि खासै परिचित थिएनन् ।

तर यल्तसिनले राजिनामा दिएसँगै रुसी संविधानअनुसार पुटिन कार्यवाहक राष्ट्रपति बने । त्यसयता उनी निरन्तर सत्तामा छन् । पुटिनले रुसी सत्ताको नेतृत्व गरेको आइतबार २५ वर्ष पूरा भएको छ । दुई दशकभन्दा बढी त राष्ट्रपति नै भए । सन् २००८ देखि चार वर्ष भने उनी प्रधानमन्त्री थिए । तर पनि सत्ताको बागडोर भने आफ्नै हातमा थियो ।

अढाई दशकको अविधमा पुटिन सधैंजसो चर्चाको केन्द्रमा रहे । जता गए, जे गरे ती सबै विश्वभरका सञ्चार माध्यमहरूमा समाचारका शीर्षक बने ।

पुटिन तत्कालीन सोभियत संघ (रुस) को सेन्ट पिटर्सबर्गको एक सामान्य परिवारमा सन् १९५२ अक्टोबर ७ मा जन्मिएका हुन् । त्यसताका युवाका लागि अनिवार्य भएकाले उनी सैन्य तालिममा सहभागी भए र सन् १९७५ मा रुसी गुप्तचर विभाग केजीबी (राष्ट्रिय सुरक्षा समिति) का लागि काम गर्न थाले ।

करिब डेढ दशकभन्दा लामो गुप्तचर सेवाका क्रममा पुटिनले सोभियत संघको विघटनपछि १९९१ मा केजीबीको लेफ्टिनेन्ट कर्नेल पदबाट अवकाश लिए । त्यसको केही समयमा उनी सेन्ट पिटर्सबर्गका पहिलो जननिर्वाचित मेयरको सल्लाहकार र १९९४ मा सहरको उपमेयर बने ।



सेन्टपिटर्सबर्गमा भ्रष्टाचार र अव्यवस्था अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण चर्चित बनेका पुटिनले रुसी राष्ट्रपति कार्यालयम क्रेमलिनमा काम गर्न पाए । The 'silver jubilee' of a powerful dictator

सन् १९९९ मा बाेरिस यल्तसिनसँग भ्लादिमिर पुटिन । तस्बिर : एपी

सोभियत संघको विघटनसँगै मिखाइल गोर्बाचोभले राजीनामा दिएपछि बोरिस यल्तसिन रुसको राष्ट्रपति बने । पुटिनले १९९८ मा संघीय सुरक्षा सेवा (एफएसबी) को निर्देशकको जिम्मेवारी पाए । अर्को वर्ष यल्तसिनले पुटिनलाई प्रधानमन्त्री बनाए ।

पुटिनको राष्ट्रपतीय कार्यकालको सुरुआत भने चेचन्यासँगको द्वन्द्वबाट भयो । व्यवस्थित सैन्य कारबाहीसँगै चेचेन विद्रोहीलाई परास्त गरेसँगै उनी रुसको निर्विकल्प नेताका रूपमा अघि आए । यल्तसिनको राजीनामासँगै कार्यवाहक राष्ट्रपति बनेका पुटिन सन् २००० मार्च २६ मा भएको चुनावबाट पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भए ।

सन् २००० मे ७ देखि लगातार दुई कार्यकाल राष्ट्रपति भएपछि भने उनी कानुनी प्रावधानका कारण पदबाट बाहिरिन बाध्य भए । तर रणनीतिक रूपमा विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपतिमा निर्वाचित गराई सत्ताको साचो आफैंमा राख्न सफल भए ।

त्यसपछि प्रधानमन्त्री बनेका पुटिनले चार वर्ष मेदभेदेभलाई ‘रबर स्ट्याम्प’ राष्ट्रपतिका रूपमा चलाए । मेदभेदेभकै कार्यकालमा रुसी राष्ट्रपतिको कार्यकाल ४ वर्षबाट बढाएर ६ वर्ष पुर्‍याइयो । त्यसपछि सन् २०१२ मा तेस्रो, २०१८ मा चौथो र २०२४ मा चौंथो कार्यकालका लागि निर्वाचित भए ।

२०१८ मा अन्तिम ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका पुटिनले २०२१ मा नयाँ कानुनमार्फत थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गरेका थिए । कानुनतः पुटिन सन् २०३६ सम्म राष्ट्रपति हुन पाउँछन् ।

राष्ट्रपतिको पहिलो कार्यकालमै सञ्चार माध्यम, इन्धन व्यापारीमाथि नियन्त्रण कायम गर्दै कुलीनतन्त्रको विरोधमा उत्रिएपछि पुटिनसँग शक्ति र पैसा सबैमा पहुँच छ । पछिल्लो समय पुटिन आफ्ना हरेक क्रियाकलापलाई सरकारी निर्णय र कानुनी प्रक्रियाको खोल ओढाइदिन सक्षम देखिन्छन् ।

आफ्ना विरोधी तथा आलोचकलाई तह लगाउनु पुटिनका लागि सामान्य हो । पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नी सन् मा २०२० अगष्ट एक शंकास्पद विष आक्रमणमा परे । जर्मनीमा उपचारपछि रुस फर्केका नाभाल्नीलाई पक्राउ गरियो आर्थिक अपचलनको मुद्दा लगाइयो । उक्त मुद्दामा दोषी ठहर भएपछि जेल सजाय काटिरहेका नाभाल्नीको सन् २०२४ फेब्रुअरीमा रहस्यमय तरिकाले मृत्यु भइसकेको छ ।

उदारवादी सोचको प्रविधितन्त्र र राजनीतिलाई अर्थतन्त्र जिम्मा लगाउनु भनेको केजीबीका पूर्वअधिकारीलाई आँखा चिम्लेर विश्वास गर्नुसरह भएको बताउने गर्छन्  पुटिन । त्यसका साथै, ‘पुटिन नभए रुस रहन्न’ भन्ने समर्थकको दाबी ठीक रहेकामा जनतालाई आश्वस्त पार्न पनि सफल देखिन्छन् उनी । आवश्यक परेको खण्डमा दमन र सैनिक शक्तिमार्फत आफ्नो शक्ति सुदृढ गर्छन् उनी ।The 'silver jubilee' of a powerful dictator

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ-उनसँग भ्लादिमिर पुटिन । तस्बिर : एपी

उमेरले ७३ वर्ष टेकिसकेका पुटिन अझै पनि हट्टाकट्टा र तन्दुरुस्त छन् । कहिले साइबेरियाको चिसो तालमा नुहाउँदै गरिरहेका वा माछा मारिरहेका देखिन्छन् पुटिन । त्यस्तै, पुटिनलाई जंगलमा सिकार गरिरहेको, घोडा कुदाइरहेको, आइस हक्की वा जुडो खेलिरहेको देख्नु सामान्य हो । लडाकु विमान उडाउने, पन्डुब्बी चलाउने क्षमता पनि छ उनको । अचुक निसानेबाज पुटिन कुकुर र घडीका पनि सौखिन छन् । ५ फिट ७ इन्च उचाइका पुटिन फेसनप्रति पनि निकै सचेत देखिन्छन् ।

सार्वजनिक कार्यक्रममा भने पुटिनले अठारौं शताब्दीका रुसी सम्राट् ‘पिटर द ग्रेट’ को प्रशंसा गर्छन् । निर्मम र स्वेच्छाचारी शासक पिटर द ग्रेट पश्चिमा सोच, विज्ञान र संस्कृतिका प्रशंसक थिए । नेतृत्वमा रुसले लडेको युद्धमा बल्टिकदेखी ब्ल्याक सीसम्मको भूभाग नियन्त्रण गरेको थियो । युक्रेन युद्धलाई पुटिनले तीन शताब्दीअघि पिटरले देशको भूमि विस्तार गर्न लडेको उक्त युद्धसँग तुलना गर्ने गरेका छन् ।

पुटिन सम्भवतः विश्वकै एकमात्र शक्तिशाली तानाशाह हुन् । पश्चिमाहरू रूसलाई सोभियत संघको अवयवका रूपमा हेर्छन् भने पुटिनलाई स्टालिनपछिको सबैभन्दा शक्तिशाली शासकका रूपमा लिन्छन् । नेतृत्व कमजोर हुँदा देशले सामना गर्नुपर्ने समस्याबारे राम्ररी बुझेका पुटिन शक्तिका लागि कसैसँग सम्झौता गर्न जान्दैनन् । पुटिनको यही बानीलाई भने अमेरिका लगायतका पश्चिमा देशहरूले ‘अटेरी शासक’ को संज्ञा दिएका छन् । सन् १९९० को दशकमा रुसलाई अराजकताबाट निकालेर पुनः विश्व शक्तिका रूपमा स्थापित गर्न सकेकाले मात्र पुटिनले यो उपाधि पाएका हुन् ।

चेचेन विद्रोह दबाएका पुटिनले सन् २०१४ मा क्राइमियालाई रुसमा गाभे । लेबनानमा आक्रमण मात्र होइन, सिरियामा सैन्य हस्तक्षेप पनि गरे । यद्यपी सिरियामा रुस समर्थित नेता बसर अल असदको शासन हालै ढलेको छ । विद्रोहीले देश कब्जा गरेपछी भागेका असद हाल रुसी राजधानी मस्कोमा छन् ।

पुटिनले सन् २०१६ मा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउन चुनावमा साँठगाँठ गरेका समाचारहरू पनि बाहिरिए । अमेरिकी गुप्तचर संस्थाले त चुनावमा साँठगाँठ गरिएको निष्कर्ष समेत निकालेको थियो । उनी ट्रम्प गत नोभेम्बरमा भएको चुनावबाट दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । यही जनवरीबाट पद सम्हाल्ने ट्रम्प र पुटिनबीचको सम्बन्धले नै विश्वराजनीति निर्देशित हुने निश्चित छ ।

यसबीचमा पुटिनले सबैलाई जितेका छन् र रुसी हात माथि पारेका छन् । तर तीन वर्षअघि उनले चालेको कदमबाट भने उनी आफै अप्ठ्यारोमा परेका छन् । त्यो हो-युक्रेनमाथिको आक्रमण । युक्रेनमाथि पूर्ण रूपको आक्रमण सुरू गर्ने पुटिनको निर्णय भने केही हदसम्म प्रत्युपादक देखिएको छ । यसले विध्वंसकारी परिणामहरू निम्त्याएको छ र रुसले पनि ठूलो संख्यामा हातहतियार, सैन्य शक्ति र आर्थिक नोक्सानी व्यहोरेको छ ।

पछिल्लो समय रुसी सहरहरू नियमति ड्रोन आक्रमणको सिकार भइरहेका छन् । युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्र कब्जामा लिएको छ भने अन्तर्राष्ट्रिय प्रतिबन्धहरूका कारण रुसी अर्थतन्त्र दबाबमा छ । देशभित्रै पनि विरोध प्रदर्शहरू हुन थालेका छन् ।

२५ वर्षअघि पद छाड्ने बेला यल्तसिनले पुटिनलाई भनेका थिए, 'रुसको ख्याल राख्नू ।' उमेर सात दशक नाघिसकेका पुटिनले अझै कतिन्जेल रुसको ख्याल राखिरहन सक्लान् त ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानलाई राजनीतिककरण गर्ने प्रयास भइरहेको बताएको छ। आइतबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितमाथि भइरहेको अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्न खोजिएको उल्लेख छ। आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट ...
: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोसी प्रदेशको विरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको निष्कर्ष निकालेको छ। च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख छ। ‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ...
: कोरियन भाषा पास गरेपछि हुने प्रक्रियागत ढिलाइको समाधान गर्न माग गर्दै नेपालस्थित इपीएस शाखाका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ। भाषा प्रशिक्षकहरूको सहभागितामा ईपीएसमार्फत कोरिया जाने विद्यार्थीहरूको फ्लाइट रद्द, सिप विल्डिङ तथा कृषितर्फ पास भएका विद्यार्थीहरूको प्रक्रियागत ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न समस्याहरू समाधानको माग गर्दै ईपीएस कार्यालय प्रमुख राजकुमार राईलाई ज्ञापनपत्र बुझाइएको हो। भाषा ...
: प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन्। आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरेका हुन्। उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता ...
: भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भवन हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ७९ लाख ३० हजारमा निर्माण गरिएको उक्त क्याम्पसको भवन तथा छात्रावास हस्तान्तरण गरिएको हो। जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौंस्थित भारतीय दूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्तरूपमा क्याम्पस व्यवस्थापन समितिलाई औपचारिकरूपमा हस्तान्तरण गरेका ...