— कोरिया अन्तर्राष्टिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ।
मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कोरियाली सरकारमार्फत कोइकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर (१ अर्ब २३ करोड रूपैयाँ) खर्च गर्नेछ। परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्।
शुक्रबार नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्याङ्जाको फेदीखोला गाउँपालिकामा निर्माण गरिने प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
यो परियोजनाको मुख्य उद्देश्य २१औं शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने रहेको जनाइएको छ । परियोजनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम (टीभेट) नीति र १५औं राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पुर्याउने बताइएको छ ।
कोइकाले १ सय ६० रोपनी क्षेत्रमा प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ। यसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन्।
कोइकाले प्राविधिक शिक्षालयको गुरूयोजना, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ।
हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गरे ।उनले यो परियोजनाले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । उनले परियोजनाको सफलताका लागि पूर्ण प्रतिबद्धता व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले यो परियोजनाले युवा, महिला र सिमान्तकृत समुदायका व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने र तिनीहरूलाई आजको तीव्र रूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने बताए । उनले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको पनि उनले उल्लेख गरे ।
सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यो परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने र त्यसले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । उनले नेपाल सरकारलाई लगातार सहयोग गरेकोमा कोइकालाई धन्यवाद व्यक्त गरे ।