— भारतको बिहार सरकारमातहत रहेको कोशी योजनाले नेपालतर्फ लिजमा लिएको जग्गामध्ये करिब ६ सय बिघा जग्गाको मालपोत १२ वर्षदेखि नतिरेको पाइएको छ । कोशी ब्यारेजबाट पश्चिमी कोशी नहर हुँदै बिहारतर्फ सिँचाइका लागि पानी लगेको बिहार सरकार कोशी योजनाले पश्चिमी कोशी नहर गएको जग्गाको मालपोत नतिरेको हो ।
सम्पर्क तथा भुआर्जन कार्यालय विराटनगरका अमिन सिताराम साहका अनुसार पश्चिमी कोशी नहरका लागि लिजमा लिएको ५ सय ९९ बिगहा ८ कठा १५ धुर जग्गाको मालपोत बिहार सरकारले तिर्न बाँकी छ । उक्त जग्गाको मालपोत २०६८ सालदेखि नै बाँकी रहेको उनले बताए ।
२०६८ सालदेखि २०७८ सालसम्म १० वर्षको कुल १३ लाख ५६ हजार ६ सय ४१ रुपैयाँ ४२ पैसा मालपोत कोशी योजनाले नेपाललाई बुझाउन बाँकी छ । सप्तरीतर्फ कोशी ब्यारेजबाट सप्तरीको हनुमाननगर कंकालिनी,महादेवा,तिलाठी कोइलाडी,राजविराज,विष्णुपुर,डाकनेश्वरी र राजगढ पालिका हुँदै कोशी पश्चिमी नहर बिहार लगिएको छ । उदयपुर,सप्तरी र सुनसरीका गरी कोशी ब्यारेसहित पश्चिमी कोशी नहर,डुबान क्षेत्र र कोशीको पूर्वी तथा पश्चिमी तटबन्धसहित सो क्षेत्र गरी भारत सरकारले १३ हजार ३ सय ३७ बिघा जग्गा १ सय ९९ वर्षका लागि जिलमा लिएको छ ।
कोशी पश्चिमी नहरका लागि लिइएको ५ सय ९९ बिघा ८ कठ्ठा १५ धुर जग्गाबाहेकको जग्गाको मालपोत २०७८ सालसम्म अमिन साहले बताए । बाँकी रहेको मालपोत कर बुझाउनका लागि कोशी योजना वीरपुरमा पत्राचार गरिएको उनले जानकारी दिए ।
बहुचर्चित कोशी सम्झौताअनुसार बिहार सरकार कोशी योजनाले लिजमा लिएको जग्गाको भूमि कर(मालपोत) कोशी योजनाले तिर्नुपर्ने उल्लेख छ । कोशी योजनाले लिजमा लिएको जग्गाको तथ्यांकमा कोशी योजना उल्लेख रहेको छ । यसअघि पनि पटक-पटक बिहार सरकार कोशी योजनाले मालपोत तिर्न ढिलाइ गर्दै आएको थियो । बक्यौता रहेको मालपोत तिर्नेबारे कोशी योजनाको बिहार वीरपुरस्थित अधिकारीहरूसित सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।