: संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै नेपाली कांग्रेसका सांसद हृदयराम थानी आक्रोशित भएका छन्।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो। सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहँदा धेरै उजुरीहरू छलफलका लागि किन ल्याएको भन्दै प्रश्न गरेका थिए।
'अख्तियारको उजुरी यहीँ, विद्युत् प्राधिकरणको उजुरी यहीँ, गृहको उजुरी पनि यहीँ। सारा संसाभरिको उजुरी राखेर सक्छ त राज्य व्यवस्था समितिले?,' थानीले प्रश्न गरे। उनले समितिमा धेरै विधेयकहरू अड्केर बसिरहेको बताए। उनले राज्य व्यवस्था समितिलाई 'आइसीयु'को संज्ञा दिए।
'संवैधानिक न्याय परिषद्वाला पास गर्यौं, त्यो संसदमा सुतेर बसेको छ। अस्ति भ्रष्टाचारको पास गर्यौं त्यो जाँदै होला। अख्तियारको यहीँ (मैले आइसीयु भन्ने गरेको छु) राज्य व्यवस्थामा सुतिरहेको छ। अरु सबै विधेयक यहीँ लटरम्म छरेर बसिरहेको छ,' उनले भने।
सांसद थानीले राज्यव्यवस्था समितिलाई आइसीयु भनेपछि सभापतिले बीचमै रोकेका थिए। त्यसपछि थामी आक्रोशित बनेका थिए। 'कति बोल्नुहुन्छ। म पनि त्यहीँको सभापति बसेको मान्छे। तपाइँ नै बोल्नुस् उसो भए,' थानीले भने। उनले सभापति खतिवडाले धेरै 'ओभरटेक' गर्नेगरेको गुनासो गरे।
सभापति खतिवडाले समितिमा ल्याइसकेपछि लगिहाल्छौं भनि भनिरहँदा थानी 'म बोल्दिनँ तपाइँ नै बोल्नुस् भन्दै आक्रोशित बनिरहे। 'तपाइँ नै माननीय। तपाइँ नै राज्य व्यवस्था समिति। तपाइँ नै बोल्नुस्। कुरा काटेको छ, काटेको छ,' उनले भने।
सभापति खतिवडाले सबैको सहमतिमा विधेयक लैजाने र तपाइँकै समय हो भन्दै सांसद थानीलाई आग्रह गर्छन्। तर थानीले नबोल्ने अडान लिन्छन्, 'तपाइँलाई सम्पूर्ण कुरा थाहा छ। तपाइँ नै बोल्नुस्।'