— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री पाण्डेले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भए पनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
मन्त्री पाण्डेले निगमले भएका वाइडबडी र न्यारोवडीसमेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको बताए । राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई बिस्तार र हवाई टिकट सर्वसुलभ (सस्तो) बनाउनुपर्ने भुमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताए । उनले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताए ।
‘नेपालको हवाई उडानलाई विस्तार र हवाई टिकट सर्वसुलभ (सस्तो) गर्ने हो भने राष्ट्रिय ध्वजावाहक बलियो र सुदृढ हुनुपर्छ,' उनले भने, 'राष्ट्रिय ध्वजावाहक बलियो भयो भने मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडालाई नियन्त्रण गर्ने अवस्था आउँछ ।' अन्तर्राष्ट्रिय उडानको हवाई भाडा पनि धेरै बढ्न नदिने र हवाई भाडा नियन्त्रण र सन्तुलनामा राख्ने अवस्था नेपाल एयरलाइन्सले गर्न सक्ने पनि उनले बताए । 'त्यसका लागि के गर्न सकिन्छ भनेर पटक–पटक नेपाल एयरलाइन्ससँग छलफल भएको छ,' उनले भने, 'तर विभिन्न समस्याहरू देखिएका छन् । जसमा जहाज खरिद गर्दादेखि विभिन्न विवादहरू र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेका छौं ।'
नेपाल वायुसेवा निगमलाई के गर्ने भन्ने विभिन्न सुझावहरू आइरहेको मन्त्री पाण्डेको भनाइ थियो । निगमको सुधार योजना हेरेर अगाडि बढ्ने पनि उनले बताए ।