मुख्य समाचार
बेलायतमा नेपाली विद्यार्थीका पीडा : सोचेझैं रैनछ जिन्दगी
बेलायतमा नेपाली विद्यार्थीका पीडा : सोचेझैं रैनछ जिन्दगी

— वोर्स्टर विश्वविद्यालयमा बिजनेस म्यानेजमेन्टमा स्नातक गर्न गत जनवरी इन्टेकमा बेलायत टेकिन् २१ वर्षीया अन्जली (नाम परिवर्तन) । कानुनमा स्नातक पढ्दापढ्दै बेलायत आउने रहर जागेपछि परिवारलाई ‘कन्भिन्स’ गरेर उनी यता आइन् । तर, आएदेखि नै उनले धेरै उतारचढाव खेप्नु परेको छ ।




अन्जलीले पढाइ शुल्कका रूपमा वार्षिक १६ हजार २ सय पाउन्ड तिर्नुपर्छ । तीन वर्षको कोर्ष पूरा गर्दासम्म शुल्कमात्र ४८ हजार ६ सय (झन्डै ८२ लाख रुपैयाँ) सकिन्छ । परिवारको आर्थिक अवस्थाअनुसार त्यो पैसा न नेपालबाट झिकाएर सम्भव छ, न यहाँ जागिरको कमाइले तिर्न । कानुनले दिएबमोजिम साताको २० घण्टा काम पाइहाले त्यसबाट दैनिक गुजारा मात्र चल्छ, विश्वविद्यालयको किस्ता तिर्ने सम्भावना न्यून छ । कामको खोजीमा भौंतारिरहँदा सामाजिक सञ्जालको एउटा ग्रुपमा भेटिएको म्यासेजले उनी उल्टो ठगिइन् ।


'जागिर खोजिदिन्छु भनेर मेरो सबै डिटेल्स माग्यो । पछि त स्क्यामर पो रहेछ,' उनले सुनाइन्, 'विश्वविद्यालयको फी तिर्न राखेको मेरो झन्डै ७ हजार ५ सय पाउन्ड गायब पारिदिएपछि छांगाबाट खसेजस्तो भएँ ।' पछि उनले १० हजार पाउन्ड नेपालबाट मगाएर पहिलो वर्षको शुल्क तिरिन् । 'सुरुमा नयाँ परिवेशमा त्यसै पनि अलमल हुने रहेछ, त्योमाथि अहिले बेलायतमा कामको एकदम अभाव देखें', उनी भन्छिन्, 'बेलायतमा कमाएर पढाइको फी तिर्छु भन्नु त दिवास्वप्नमात्र हो । त्यसकारण मास्टर्स ठीकै छ, तर तीन वर्षको ब्याचलर्स पढ्न नआएकै राम्रो छ ।'

बीपीपी युनिभर्सिटीमा एमएस्सी म्यानेजमेन्ट विथ प्रोजेक्ट म्यानेजमेन्ट (एक्सटेन्डेड) पढ्न अघिल्लो महिना बेलायत उत्रिइन् दाङकी दीपा चौधरी । १५ महिनाको कोर्षका लागि १५ हजार ६ सय पाउन्ड (नेपाली रुपैयाँ २६ लाख ५२ हजार) शुल्कमध्ये उनले १० हजार पाउन्ड नेपालमै छँदा बुझाइन् । अब २८०० पाउन्ड किस्ता फेब्रुअरीमा र बाँकी २८०० पाउन्ड कोर्स सकिने बेला बुझाउनुपर्ने सर्त विश्वविद्यालयसँग छ । ४ वर्षकी छोरी र श्रीमान् नेपालमै छाडेर एक्लै आएकी दीपाका दिन अहिले संघर्षपूर्ण छ । ‘परिवार छाडेर त्यत्रो पैसा खर्चेर बेलायत आएँ । अहिले यहाँको कष्टकर जीवन देख्दा पछुतो लागिरहेको छ,’ उनले गुनासो गरिन्, ‘चार दिन त पढ्नै जानु पर्छ । शनिबार, आइतबार बिदामा कसले दिने पार्टटाइम काम ? ५-६ महिनाका लागि पुग्ने खर्च जोहो गरेर आएमात्र विद्यार्थीलाई यहाँ सहज हुने रहेछ नत्र दुःख छ ।’ पढाइ सकिएलगत्तै फर्कने सोच उनले बनाएकी छन् ।

रेभनबर्न युनिभर्सिटीमा मास्टर्स गर्न आएका शिव कँडेलको पीडा पनि उस्तै छ । अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीले यहाँ कष्टकर जीवन बिताइरहेका छन् । बेलायत टेक्नेबित्तिकै काम सुरु गरेर नेपालमा लिएको ऋण तिर्न र विश्वविद्यालयको शुल्क तिर्न विद्यार्थीहरूलाई धौधौ परेको छ ।

बढ्दो महँगीको मार

बेलायतमा कमाइ पर्याप्त नहुँदा महँगीको मारमा पनि छन् नेपाली विद्यार्थी । बेलायतमा खानाबाहेक कोठाभाडा र यातायात पनि खर्चिलो छ । आवास, यात्रा, पाठ्यक्रम सामग्री, खाना र पेय, मोबाइल, ग्यास र बिजुली बिल गरी एक जना विद्यार्थीलाई विश्वविद्यालय शुल्कबाहेक मासिक कम्तीमा एक हजार पाउन्ड (झन्डै १ लाख सत्तरी हजार रुपैयाँ) आवश्यक पर्छ । अहिले डबल र सिंगल रुमको मासिक क्रमशः कम्तीमा ८ सय र ५ सय पाउन्ड भाडा, यातायात, ग्रोसरी धान्नै नसक्ने छ ।



त्यसो त बेलायतको मुद्रास्फीति दर लगातार दोस्रो महिना वृद्धि भएर पछिल्लो आठ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । ‘अफिस फर नेसनल स्टाटिस्टिक्स’ (ओएनएस) का अनुसार गत नोभेम्बरसम्म एक वर्षको अवधिमा मुद्रास्फीति दर २ दशमलव ६ प्रतिशत पुगेको छ । जुन दर गत मार्चपछिकै सबैभन्दा उच्च हो ।अक्टोबरसम्मको वार्षिक अवधिमा यो दर २ दशमलव ३ प्रतिशत थियो ।

ओएनएसका अनुसार मुद्रास्फीतिको पछिल्लो वृद्धिका पछाडि इन्धन र कपडामा मूल्यवृद्धि प्रमुख कारक छ । विभिन्न मनोरञ्जनात्मक कन्सर्ट तथा थिएटरहरूको टिकट शुल्कमा भएको वृद्धिले पनि मुद्रास्फीति बढाउन मद्धत गरेको ठानिएको छ ।

लन्डनस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी बेलायतमा ‘विश्वस्तरीय’ विश्वविद्यालयहरू रहेकाले गुणस्तरिय शिक्षा लिने सोचका साथ आउनु सकारात्मक विषय भए पनि कमाउने वा पीआर लिने ठूलो अपेक्षासहित आउने विद्यार्थीका हकमा त्यो सम्भव नभएको बताउँछन् । ‘लन्डन आफैंमा खर्चिलो सहर हो । विद्यार्थीले पार्टटाइम काम गरेर जीविकोपार्जन गर्न धौधौ छ । काठमाडौंबाट ऋण जोडजाम गरेर विश्वविद्यालयको आधा फी तिरेर बाँकी किस्ता बेलायतमै कमाएर तिर्छु भन्ने अवस्था छैन, ’उनले भने ।

काम खोज्न सहयोगका लागि दूतावासमा आफन्तजन, साथीभाइको अनुरोध आइरहने गरेको उनी सुनाउँछन् । ‘नेपालबाट फोनमार्फत अभिभावकहरूले पनि आग्रह गर्नुहुन्छ । तर, हामीले जागिर खोजिदिन व्यवहारिक रूपमा सम्भव छैन’, उनले कान्तिपुरसँग भने ।

बेलायत सरकारले अहिले भिसा ‘डिजिटाइज’ गरिरहेकाले कन्भर्ट हुने ई-भिसामा सेयर कोडसहित काम गर्न पाउने/नपाउने, कति घण्टा गर्न पाउने जस्ता अधिकार खुल्ने हुँदा विद्यार्थीलाई क्यास इन ह्यान्ड (नगद) पाइने जागिर वा गैर कानुनी काम गरेर जोखिम नलिन उनको सल्लाह छ ।

नेपालमा लिएको ऋण तिर्नुपर्ने बोझले गर्दा कतिपय विद्यार्थीहरू मानसिक दबाबमा रहेको पनि उनले बताए । उनले अगाडि भने, ‘आर्थिक बोझ थेग्न नसकेर समस्या भएपछि साथीभाइ, परिवारले दूतावासलाई अप्रोच गरेको अवस्था पनि छ । धेरै ठूलो अपेक्षा लिएर नआउनु, आउनुअघि परिपक्व जानकारी लिएरमात्र आउन विद्यार्थी र अभिभावकहरूलाई हाम्रो सल्लाह छ ।’ अहिले नक्कली बिहे (पेपर म्यारिज) मात्र गरेर आउने र सम्बन्धविच्छेदको क्रमसमेत बढेको सुनिएको जनाउँदै कार्यवाहक राजदूत दुवाडीले यसले समाजमा नकारात्मक सन्देश जाने र विद्यार्थी स्वयंको मानसिक स्वास्थ्यमा पनि असर गर्न सक्ने उनको भनाइ छ ।

बेलायतस्थित नेपाली विद्यार्थी र विभिन्न पेसाकर्मीको छाता संगठन 'मर्जिङ नेप्सक्स'सँग अहिले बेलायतका सयभन्दा बढी विश्वविद्यालयका नेपाली विद्यार्थी सम्पर्कमा छन् । संगठनका अध्यक्ष पवन कँडेल पनि नेपाली विद्यार्थीका लागि बेलायत निकै गाह्रो बताउँछन् ।

‘पहिला-पहिला पढाइ गर्न नसके वर्क परमिटमा जान मिल्ने थियो । तर, अहिले पढाइ नसकी स्टाटस परिवर्तन गर्न मिल्दैन, काम गरौं सहजै पाइन्न,’ उनी भन्छन्, ‘नेपाली विद्यार्थीको चाप बढेकाले स्थानीय नेपाली समुदायले सहयोग गर्ने अवस्था पनि छैन । नेपालबाट नबुझिकन ओइरिँदा धेरै दुःख पाएको अवस्था छ । हामीले मानसिक अस्पताल र बाटोबाट कैयौं विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाएका छौं ।’

कँडेलले सामाजिक सञ्जालमा काम लगाइदिन्छु भनेर ‘स्क्याम’ बढेको पनि सुनाए । जागिरको लोभमा विद्यार्थीले उल्टो हजारौं पाउन्ड गुमाएको घटना उनले स्मरण गराए । तोकिएको अवधिभित्र शुल्क नतिर्दा विश्वविद्यालयले होम अफिस (ब्रिटिस गृह मन्त्रालय) मा जानकारी गराएपछिको सास्ती पनि उस्तै रहेको उनको भनाइ छ ।

बेलायत आएका विद्यार्थीले सास्ती खेप्नुमा नेपालका शैक्षिक कन्सल्टेन्सीहरूको गलत जानकारी र आश्वासन प्रमुख रहेको भन्ने आरोप पनि छ । कन्सल्टेन्सीहरूले बेलायत पुगेपछि काम सजिलै पाइन्छ, कमाएर ऋण तिर्न पनि सकिन्छ र पछि पीआर हुने अनेक उपाय छन् भनेर प्रलोभनमा पार्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

तर, बेलायत र नेपालबाट सञ्चालित एक शैक्षिक परामर्शदाता कम्पनी युनील्याडरका निर्देशक गणेश खड्का भने त्यो मान्न तयार छैनन् । साँच्चिकै पढ्ने उद्देश्यले बेलायत आएका विद्यार्थीले उत्कृष्ट नतिजासहित प्रगति गरेका कैयौं उदाहरण रहेको उनले सुनाए । पर्याप्त आर्थिक व्यवस्था नगरेका तथा अध्ययनभन्दा कमाउने सोचमात्र भएका विद्यार्थीले भने सास्ती खेप्नु परेको खड्काको भनाइ छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीमा गिरावट

बेलायत अध्ययनका लागि भिसा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या 'जुन इन्टेक'मा घटेको नयाँ तथ्यांकले देखाएको छ । होम अफिसको तथ्यांकमा सन् २०२३ को सोही अवधिको तुलनामा जुलाई र सेप्टेम्बरबीचमा १६ प्रतिशत कम भिसा आवेदन परेको छ ।

होम अफिसका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा २ लाख ६३ हजार ४ सय जनाले अध्ययन भिसाको आवेदन दिएका छन् । त्यही संख्या जुन २०२३ मा भने ३ लाख १२ हजार ५ सय थियो । सोही अवधिमा विदेशी विद्यार्थीका डिपेन्डेन्ट (आश्रित) ले ६ हजार ७ सय मात्र आवेदन दिएका थिए, जुन अघिल्लो वर्ष ५९ हजार ९ सय थियो ।

गत जनवरीदेखि अनुसन्धानमा आधारित पाठ्यक्रमहरू वा सरकारी छात्रवृत्तिमा रहेकाबाहेक अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवारका सदस्यहरू बेलायत ल्याउन प्रतिबन्ध लगाइएको छ । अघिल्लो कन्जरभेटिभ सरकारले लागू गरेको यस नियमपछि विद्यार्थीका डिपेन्डेन्टहरूको भिसा आवेदन संख्या ८९ प्रतिशतले घटेको छ। तथ्यांकहरूले अन्तर्राष्ट्रिय विद्यार्थीबाट प्राप्त शुल्कमा निर्भर रहेका बेलायती विश्वविद्यालयहरूको वित्तीय अवस्थामा चिन्ता थपिएको देखाएको छ । यस क्षेत्रका विज्ञले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बेलायत आगामन घट्दा विश्वविद्यालयको वित्तीय संरचनालाई थप नोक्सान पुर्‍याउने चेतावनी दिएका छन् ।

१४१ संस्थाहरूको प्रतिनिधित्व गर्ने 'युनिभर्सिटी यूके'ले खस्कँदो विद्यार्थी भर्ना ‘धेरै चुनौतीपूर्ण’ रहेको र शीर्ष अध्ययन गन्तव्यका रूपमा बेलायतको स्थिति खतरामा रहेको देखाएको बताएको छ । उच्च शिक्षा नीति संस्थान (हेपी) थिंक ट्यांकका निर्देशक निक हिलम्यानले बीबीसीसँग भनेका छन्, ‘पूर्ववर्ती सरकारको नियम परिवर्तनका कारण बेलायतलाई कम आकर्षक अध्ययन गन्तव्य बनाएको छ ।’

नेपाली विद्यार्थी भने घटेनन्

बेलायतको इमिग्रेसनसम्बन्धी हालै सार्वजनिक एक तथ्यांकले अन्य मुलुकको तुलनामा नेपालबाट बेलायत आउने विद्यार्थीको संख्या भने अझै उच्च रहेको देखाएको छ । इमिग्रेसन कडाइपछि बेलायत भित्रिने अन्य मुलुकबाट बेलायत आउन विद्यार्थीहरूको संख्या जति धेरै घटेको छ, त्यही अनुपातमा नेपाली विद्यार्थीको संख्या भने नघटेको पाइएको छ ।

‘अप्लाई बोर्ड’ नामक समूहले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ को पहिलो त्रैमासिक अवधिमा २ हजार २ सय नेपालीले बेलायतको विद्यार्थी भिसा पाए । जुन संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । बेलायतमा सबैभन्दा धेरै विदेशी विद्यार्थी आउने भारत, नाइजेरियालगायत मुलुकबाट अध्यागमन कडाइपछि विद्यार्थी घटे पनि नेपालबाट भने झन् बढेको तथ्यांकले देखाएको हो ।

यसअघि सन् २०२३ मा नेपालबाट जम्मा ८ हजार ५ सय विद्यार्थीले बेलायतको विद्यार्थी भिसा प्राप्त गरेको तथ्यांकमा छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी थियो । लन्डनस्थित नेपाली दूतावासले बेलायतमा नेपाली विद्यार्थी कति छन् यकिन तथ्यांक नरहेको बताएको छ । तर, 'मर्जिङ नेप्सक्स'का अध्यक्ष कँडेलको अनुमानमा यहाँ करिब १५ देखि १८ हजार नेपाली विद्यार्थी छन् ।

'बेलायत सहज छैन्, तर असम्भव पनि होइन'

म निरुता रिजाल, लन्डन बस्ने एक अन्तर्राष्ट्रिय विद्यार्थी हुँ । बेस्ट लन्डन विश्वविद्यालयमा कम्प्युटर विज्ञान पढ्नका लागि गत फेब्रुअरी २०२१ मा मैले आफ्नो देश छोडेँ । धेरैजसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू जस्तै म पनि यहाँ आशा र ठूलो सपना लिएर आएको थिएं । तीन वर्षमा, मैले मेरो शिक्षाका लागि वार्षिक रूपमा १२ हजार ५ सय पाउन्ड तिरेको छु आफूलाई उज्ज्वल भविष्यतिर डोर्‍याउने आशामा । अब, स्नातकपछि म बेरोजगारीको वास्तविक पीडा सामना गर्दैछु। अपत्यारिलो छ तर यो मजस्तै धेरै विद्यार्थीहरूका लागि वास्तविकता पनि हो।

The suffering of Nepali students in Britain: Life is not as expectedम २० वर्षको कलिलो उमेरमा ठूलो सहर, नयाँ परिवेशमा जेलिएँ । जब म पहिलो पटक यूके टेकेँ, कुहिरोको कागजस्तै कता जाने के गर्ने भन्ने भयो । मलाई सबैतिरबाट यति धेरै बोझ महसुस भयो कि त्यो कल्पनामात्र गर्न सक्छु ।

मैले पूर्णकालीन अध्ययन र पार्टटाइम काम कसरी व्यवस्थापन गर्ने भनेर अलमिलनु परेको थियो। मेरो विकडेज लेक्चर र असाइनमेन्टले भरिपूर्ण हुन्थ्यो, साँझ रेस्टुरेन्टमा काम गरेर बित्थ्यो। सप्ताहन्तमा आराम गर्न पनि समय मिल्दैनथ्यो । मैले बाँच्नका लागि रिटेलमा पनि काम गरें। पहिले कहिल्यै काम नगरेको मान्छे, यहाँ छिटोछिटो काम गर्ने संस्कृतिमा घुलमिल गर्नु एक वास्तविक चुनौती थियो ।

यसबाहेक मेरा लागि सबैभन्दा गाह्रो कुरा साथी बनाउनु थियो। तीन वर्षमा मैले मुश्किलले तीन घनिष्ठ साथीहरू बनाएँ। विदेशमा बस्दा साथी बनाउन कत्तिको गाह्रो हुन सक्छ भनेर कसैले पनि कुरा गर्दैनन्, तर यो पनि जटिल हुने रहेछ। यदि मैले नयाँ विद्यार्थीहरूलाई कुनै सल्लाह दिन सक्छु भने त्यो हो विश्वविद्यालयमा धेरैजनासँग जोडिने प्रयास गर्नुहोस्। सोसाइटीमा सामेल हुनुहोस्, कार्यक्रमहरूमा जानुहोस्, सहपाठीहरूसँग कुरा गर्नुहोस् । यसले यहाँ तपाईंको समय सुखःद बनाउनेछ र पछि जागिर खोज्न मद्दत पनि ।

चुनौतीका बाबजुद पनि मैले यो यात्राबाट धेरै कुरा सिकेको छु। एक्लै बस्नु र सबै कुरा आफैंले सम्हाल्नुले मलाई बलियो र आत्मनिर्भर बनाएको छ। यो सधैं सजिलो छैन, तर मैले हरेक संघर्षलाई अंगाल्ने र आनन्द लिने प्रयास गरेको छु।

यो एक कठिन संसार हो, तर म अझै पनि मैले पाएका अवसर र बाँचेका क्षणहरूको कदर गर्छु। मलाई आशा छ कि हरेक अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँ आउनुअघि देखेका सपना हासिल गर्न पाउँछन् । यो सजिलो बाटो होइन, तर असम्भव पनि छैन।

(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेन भ्रमण नगर्न र त्यहाँ भएकालाई तुरुन्त नेपाल फर्किन आग्रह गरेको छ । बर्लिनस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै रुस र युक्रेनबीचको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै युक्रेन भ्रमणमा जान लागेका नेपालीलाई अर्को सूचना नभएसम्म भ्रमण स्थगित गर्न र युक्रेनमा रहेका नेपालीलाई यथाशिघ्र सकुशल नेपाल फर्किन आग्रह गरेको हो । दूतावासले ...
। यूएईमा रोजगारीको क्रममा विभिन्न समयमा दुर्घटना तथा कार्यस्थलमा ज्यान गुमाएका सयौं नेपाली श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमा रकमबाट वञ्चित हुनुपरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) को अवुधावीस्थित नेपाली दूतावासले समयमा काम नगर्दा पीडित परिवार क्षतिपूर्ति र बीमा रकम पाउनबाट वञ्चित भएका हुन् । नयाँ सरकार बनेपछि पनि पीडित परिवारले न्याय नपाएपछि यूएईमा रहेका ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ६१६ जना नेपाली नागरिकको उद्धार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ६१६ जना नेपाली नागरिकको उद्धार गरिएको र अन्य ठगीमा परेका नेपालीहरुको उद्दार कार्य जारी रहेको जानकारी दिए । कम्बोडियाबाट ४९१, म्यानमारबाट १११, लाओसबाट ८ ...
: साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा दशकौंदेखि स्थापित रहँदै आएको छ। यहाँ करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ तर समयसँगै यहाँको नेपाली समुदायको स्वरूप परिवर्तन हुँदै गएको छ। नेपाली केवल श्रमिकमा सीमित छैनन्, उनीहरू व्यवसायी, लगानीकर्ता र व्यवस्थापकका रूपमा पनि उदाउँदैछन्। यो परिवर्तनले केवल व्यक्तिगत उन्नतिलाई मात्र होइन, समग्र नेपाली ...
। भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ । भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ को मे १५ ...