— करिब एक दशकसम्म क्यानडाको प्रधानमन्त्री बनेका जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । ट्रुडो सन् २०१५ नोभेम्बरमा क्यानडाको अर्थतन्त्र सुदृढ बनाउने, मध्यमवर्गीयको जीवनयापन सहज बनाउने र सरकार सञ्चालनको तरिकामा सुधार ल्याउने वाचासहित ४३ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए ।
लिबरल पार्टीबाट प्रधानमन्त्री बनेका ट्रुडो कुनै बेला निकै लोकप्रिय थिए । कूटनीतिक बैठकहरूमा समेत प्रशंसकहरूले ट्रुडोसँग सेल्फी खिच्न लाइन लागेर पर्खने गरेका थिए । तर पछिल्ला केही महिनामा भने उनले राजनीतिक संघर्षको सामना गरिरहेका थिए । जसका कारण उनी आश्चर्यजनक रूपमा बहिर्गमनको घोषणा गर्न बाध्य भए ।
सन् १९७१ को क्रिसमसका दिन क्यानडाको ओटावामा जन्मिएका ट्रुडो त्यतिबेलादेखि नै सेलिब्रेटी थिए । त्यसको कारण हो- बहालवाला प्रधानमन्त्रीको छोराका रूपमा जन्मिन पाउनु । उनका बाबु पियर एलिएट ट्रुडो १९६८ देखि १९७९ र १९८० देखि १९८४ सम्म क्यानडाका प्रधानमन्त्री थिए ।
उनको शासनकालमा क्यानडाले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना, फ्रान्सेली पृथकतावादी आन्दोलनको पराजय, ब्रिटिस संसद्बाट संवैधानिक स्वतन्त्रता क्यानडाको नयाँ संविधान लगायतका महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियो ।
२३ वर्षको उमेरमा सन् १९९४ मा साहित्यमा स्नातक गरेका ट्रुडोले १९९८ मा शिक्षा विषयमा डिग्री लिए । त्यसपछि उनले केही वर्ष भ्यानकुभरस्थित एक विद्यालयमा अध्यापन गरे । पछि उनले वातावरणीय भूगोलमा स्नातकोत्तर अध्ययन सुरू गरे पनि पूरा गरेनन् । केही समय मन्ट्रियल रेडियोमा पनि काम गरेका थिए ।
ट्रुडो सन् २००८ मा ३६ वर्षको उमेरमा क्यानडाको संसद्का लागि निर्वाचित भएका थिए । त्यतिबेला उनी लिबरल पार्टीभित्रका विपक्षीका रूपमा उदाए । सन् २०१० मा ट्रुडो नागरिकता र अध्यागन नीतिका कडा आलोचक थिए ।
सन् २०१२ मा कराँतेका ब्ल्याक बेल्ट कन्जरभेटिभ सिनेटर प्याट्रिक ब्राजिउलाई च्यारिटी बक्सिङ खेलमा पराजित गरेपछि ट्रुडोको राजनीतिक छबि र लोकप्रियता उचाईमा पुग्यो । उक्त खेलबाट क्यान्सरको अनुसन्धानका लागि २ लाख ३० हजार अमेरिकी डलर संकलन भएको थियो ।
ट्रूडो सन् २०१३ मा लिबरल पार्टीको नेतृत्वमा पुगेका हुन् । दशकौंदेखि क्यानडाको राजनीतिमा दबदबा कायमा गरेको पार्टीका तर्फबाट उनका बुबा १५ वर्ष प्रधानमन्त्री बनेका थिए । तर क्युबेकमा भएको ठूलो नैतिक घोटालापछि पार्टीको प्रभाव गिर्दै गएको थियो । जसका कारण लगातार पार्टीका तीन जना नेताहरूले मतदाताको मन जित्न सकेका थिएनन् ।
अप्ठ्यारो अवस्थामा पार्टीको नेतृत्व सम्हालेका ट्रुडोले सन् २०१५ को चुनावमा पार्टीलाई नयाँ उचाइमा पुर्याए । चुनावमा ट्रुडोको लिबरल पार्टीले १ सय ८४ सिट जितेको थियो । ३ सय ३८ सिटको संसद्मा अघिल्लो चुनावमा लिबरलले जम्मा ३६ सिट जितेको थियो । जसका कारण उनी क्यानडाको इतिहासकै दोस्रो कान्छा प्रधानमन्त्री बन्न सफल भए ।
ट्रुडोले देशकै पहिलो लैंगिक सन्तुलनसहितको मन्त्रिपरिषद् गठन गरे । त्यसबारे उनले भनेका थिए, 'किनकि यो २०१५ हो ।' आफूलाई एक नारीवादी र पर्यावरणवादी नेताका रूपमा अघि सारेका ट्रुडोले शरणार्थी र आदिवासी अधिकारका लागि वकालत गरे । The rise and fall of Trudeau
आफ्नो पहिलो कार्यकालमा ट्रुडोले 'क्यानाडा चाइल्ड बेनिफिट' को स्थापना, निको नहुने रोगका बिरामीका लागि इच्छामृत्यु, सीमित गाँजाको प्रयोगलाई कानुनी बनाउने ऐन, सिनेट नियुक्तिका लागि स्वतन्त्र सल्लाहकार बोर्ड स्थापना, संघीय कार्बन कर स्थापना लगायतका महत्त्वपूर्ण कार्य गरे ।
त्यसका साथै ट्रुडोले सरकारले क्यानडा-अमेरिका-मेक्सिको सम्झौता (सीयूएसएमए) र ट्रान्स-प्यासिफिक साझेदारी लगायतका व्यापार सम्झौताहरू गरे । त्यस्तै, उनकै कार्यकालमा क्यानडाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा हस्ताक्षर गर्यो ।
सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकाको यात्रामा अस्थायी प्रतिबन्ध लगाए र शरणार्थी कार्यक्रमहरू बन्द गरिदिए । त्यसको प्रतिक्रियामा ट्रुडोले सामाजिक सञ्जालमा एक पोस्ट लेखे । 'उत्पीडन, आतंक र युद्धबाट भाग्नेहरूलाई, क्यानाडेलीहरूले तपाईंलाई विश्वासका साथ स्वागत गर्नेछन् । विविधता नै हाम्रो शक्ति हो,' उनले लेखेका थिए ।
त्यही वर्ष ट्रुडोको छवि धुमिल पार्ने घोटालाहरूको श्रृंखला पनि देखा परे । खासगरी सन् २०१६ मा विलासी नि:शुल्क छुट्टीका लागि नियमहरू उल्लंघन गरेको नैतिक आयोगले पत्ता लगाएपछि ट्रुडो समस्यामा परे ।
सन् २०१९ मा ट्रुडोको प्रतिष्ठामाथि पुन: प्रश्न उठ्यो । संघीय नैतिकता आयुक्तले ट्रुडोले आफ्ना पूर्वन्यायमन्त्री र महान्यायाधिवक्तालाई एक बहुराष्ट्रिय इन्जिनियरिङ र निर्माण कम्पनी एसएनसी-लाभालिन विरुद्धको आपराधिक मुद्दाको सम्बन्धमा रोक्ने, कमजोर पार्ने र बदनाम गर्ने प्रयास गरेको फैसला गरेका थिए ।
यद्यपी उनी सन् २०१९ को चुनावमा पुन: निर्वाचित भए । तर लिबरल पार्टीले भने संसद्मा आफ्नो बहुमत गुमायो । लिबरल १ सय ५७ सिटमा सिमित भएको थियो । ट्रुडोमाथि सन् २००० मा एक पत्रकारलाई जिस्काएको आरोप पनि लागेको थियो । तर उनले त्यसलाई अस्वीकार गरेका थिए ।
सन् २०२१ मा लोकप्रियता अपेक्षाकृत रूपमा उच्च भएकै बेला ट्रूडोले मध्यावधि चुनाव आव्हान गरे । त्यतिबेला ट्रुडोले क्यानाडालाई महामारीबाट बाहिर निकाल्न र आर्थिक नेतृत्वका लागि आफ्नो पार्टीलाई बहुमत दिन आग्रह गरेका थिए । तर उनी आफै झिनो मतले विजयी भए र तर लिबरल पार्टी फेरि पनि बहुमत प्राप्त गर्न असफल भयो । चुनावमा लिबरल पार्टी १ सय ६० सिटमा विजयी भएको थियो । सरकार गठनका लागि १ सय ७० सिट आवश्यक पर्छ ।
सन् २०२२ मा खोपको माग गर्दै प्रदर्शनकारीहरूले राजधानी ओटावासँगै धेरै सीमाक्षेत्र ठप्प पारेपछि उनी संकटमा परे । जसका कारण ट्रुडोले आपत्कालीन अवस्था घोषणा गर्ने दुर्लभ कदम उठाए । आदेश जारी भएसँगै सार्वजनिक भेला र यात्रामा प्रतिबन्ध लाग्यो र अधिकारीहरूलाई सार्वजनिक सुव्यवस्था पुनर्स्थापना गर्न सहज भयो । त्यसले बढ्दो आवास लागत र मुद्रास्फीतिबाट गुज्रिरहेको क्यानडाका रूढिवादीलाई थप कुद्ध बनाएको थियो ।
आवासको लागत र उच्च बेरोजगारी समस्या समाधानमा जुटिरहेका बेला ट्रुडोको भारतसँगको सम्बन्ध पनि तनावपूर्ण बन्यो । ब्रिटिस कोलम्बियामा सिख समुदायका नेताको हत्या 'भारत सरकारका एजेन्टहरू' ले गरेको आरोप लगाएपछि भारतसँग उनको सम्बन्ध चिसियो ।
गत सेप्टेम्बरमा ट्र्डोले सिख कार्यकर्ताको हत्यामा भारतीय एजेन्ट संलग्न रहेको आरोप लगाएपछि दुई देशबीच तनाव चर्कियो । ट्रुडोले गत सेप्टेम्बरमा भारत र प्रमुख क्यानाडाली सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको सम्भावित सम्बन्धबारे छानबिन गरिरहेको बताएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । उक्त मुद्दामा आफ्नो संलग्नता अस्वीकार गरेको भारत ट्रुडोप्रति निकै रुष्ट बन्यो ।
क्यानाडाली अधिकारीहरूले आफूहरूसँग भारतीय सरकारी एजेन्टहरूले क्यानडाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने गतिविधिहरूमा भाग लिएको प्रमाणहरू रहेको बताएका थिए । संघीय रोयल क्यानेडियन माउन्टेड पुलिसले ‘भारतीय एजेन्टहरूले क्यानडामा गम्भीर आपराधिक गतिविधिमा भाग लिएको प्रमाण फेला पारेको,’ जनाएको थियो । The rise and fall of Trudeau
गत अक्टोबरमा अर्को आरोप सार्वजनिक भएपछि क्यानडाले ६ जना भारतीय कूटनीतिक र कन्सुलर कर्मचारीलाई देश छाड्न आदेश दिएको थियो । विदेश मामिलामन्त्री मेलानी जोलीले निज्जर मामलामा केहीलाई ‘चासोका व्यक्ति’ का रूपमा हेरिएको बताएकी थिइन् ।
क्यानडा सरकारको कदमपछि भारतले पनि ६ जना क्यानाडाली कन्सुलर कर्मचारीलाई देश छाड्न आदेश दिएको थियो । ‘अनुसन्धानको बहानामा, राजनीतिक लाभका लागि भारतलाई जानाजान बदनाम गर्ने रणनीति हो,’ क्यानडाको आरोप अस्वीकार गर्दै भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत वर्षको सेप्टेम्बरमा वामपन्थी झुकावको न्यु डेमोक्रेटिक पार्टीले उदारवादीहरूलाई कानुन पारित गर्न आवश्यक समर्थन नजनाएपछि भने क्यानडाको सत्तामा रहेको ट्रुडोको पकड गुम्यो ।
त्यसबारे स्पष्टिकरण दिँदै गत अक्टोबरमा ट्रूडोले क्यानडाले तीन वर्षमा झन्डै ३० लाख मानिसहरूलाई देशभित्र स्वागत गरेका कारण स्वास्थ्यलगायतका अत्यावश्यकीय सेवा प्रदानमा कठिनाइ भएकाले क्यानाडाको अध्यागमन नीतिहरू कडा नीति अघि सारेको बताएका थिए ।
गत डिसेम्बरमा उनले उपप्रधान तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले अप्रत्यासित रूपमा राजीनामा दिएपछि भने ट्रुडोको करिब एक दशक लामो सत्ता धरापमा परेको थियो । उनले क्यानाडेली सामानहरूमा अमेरिकी शुल्क लगाउने डोनाल्ड ट्रम्पको धम्कीलाई कसरी व्यवहार गर्ने जस्ता नीतिगत असहमतिहरू उद्धृत गर्दै राजीनामा दिएकी थिइन् ।
तर पछिल्लो समय क्यानडामा बढ्दो महँगी र शासनशैलीका कारण ट्रुडोको लोकप्रियता निरन्तर ओरालो लागेको थियो । जसका कारण उनकै दलका २० भन्दा बढी सांसदहरूले ट्रुडोललाई राजीनामा दिन सुझाव दिएका थिए । अन्नत: ट्रुडोले सोमबार राजीनामाको घोषणा गर्न बाध्य भए ।
ट्रुडोको राजिनामासँगै लिबरल पार्टीको नेतृत्व कसले सम्हाल्छ भन्ने अनुमानहरू समेत हुन थालेका छन् । पूर्वउपप्रधानमन्त्री फ्रिल्यान्ड, केन्द्रीय बैंकका गभर्नर मार्क कार्नी, यातायातमन्त्री अनिता आनन्द, अन्वेषण, विज्ञान तथा प्रविधिमन्त्री फ्रान्स्वाँ फिलिप स्याम्पेन, विदेशमन्त्री मेलानी जोली लगायतका नेता पार्टी नेताको दौडमा अगाडि छन् । बीबीसीका अनुसार पार्टी नेताको दौडमा कार्नी सबैभन्दा बलियो देखिएका छन् ।
बैंक अफ क्यानडा र बैंक अफ इंगल्याण्डका पूर्वगभर्नर ५९ बर्षीय मार्क कार्नीले पार्टीको नेताको रूपमा जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्ने दौडमा रहेको प्रष्ट पारेका छन् । ट्रुडोले नयाँ नेता चयन नभएसम्म पदमा रहने बताएका छन् ।
यसअघि ट्रुडोले लामो समयदेखि कार्नीलाई अर्थमन्त्रीका रूपमा आफ्नो टोलीमा समावेश गर्न खोजिरहेको बताएका थिए । कार्नीले संघीय कार्बन कर, जलवायु लगायतका केही उदार नीतिहरूका समर्थक हुन् । ती नीतिहरू रूढिवादी राजनीतिज्ञ तथा आलोचकहरूले भने क्यानडालीहरूका लागि अनावश्यक आर्थिक बोझ भएको तर्क गर्छन् ।
पार्टीको नेता नै क्यानडाको आगामी प्रधानमन्त्री बन्नेछन् । आगामी प्रधानमन्त्रीले अमेरिकासँगको सम्भावित व्यापार युद्ध अन्त्य गर्ने चुनौतीको सामना गर्नुपर्नेछ । आगामी जनवरी २० देखि अमेरिकाको राष्ट्रपति पद सम्हाल्ने डोनाल्ड ट्रम्पले क्यानडेली सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् ।
क्यानडामा आगामी अक्टोबरअघि नै चुनाव हुनुपर्ने तालिका छ । तर लिबरल पार्टीको नेतृत्वमा हुने परिवर्तनले त्यसअघि नै मतदान हुने सम्भावना पनि बढाउन सक्नेछ । पछिल्लो समय लोकप्रियता निरन्तर घटिरहेकाले आगामी आमनिर्वाचनमा लिबरल पार्टी पराजयको बाटोमा रहेको सर्वेक्षणहरूले देखाएका छन् ।
(एजेन्सीहरूको सहयोगमा)