— ठाडो भीरको उकालो बाटोमा तीन पुरुष र दुई महिलाले एउटी महिलालाई झाङ्गलझुङ्गुल पार्दै बोकिरहेका छन् । अप्ठ्यारो बाटोमा घरी उनको टाउको भुइँमा लाग्छ, फेरि सबै जनाले वरिपरिबाट उठाएर अलि अगाडि पुर्याएपछि भुइँमा बिसाउँछन् । सबै लागेर उनलाई हातखुट्टा समातेर झ्याइँकुटी गर्दै मुस्किलले बाटो सम्मजस्तो परेको ठाउँमा पुर्याउँछन् ।
पछाडि कोही महिला ‘यो मरिहाली, यसलाई बचाइदेऊ भगवान्’ भन्दै रुँदै गुहार मागेको सुनिन्छ । एउटा ‘पुरुषले अस्पताल लैजाऊ’ भन्छन् । कसैले ‘साल पनि आइसक्या हो ?’ भनेको सुनिन्छ । अर्को भिडियोमा बाटोमा तिनै महिलालाई अर्को कुनै महिलाले काखमा लिएकी छिन् । छेवैमा एक पुरुष र तीन जना महिला छन् ।
काखमा लिने महिलाले उनको घरी हात र खुट्टा छाम्छिन् । घरी गाला मुर्साछिन् । काखमा भएकी महिलाले हलचल नगरेपछि उनी अँगालो हालेर रुन थाल्छिन् ।
काखमा राखेकी महिलाले ‘हातखुट्टा चिसा भैग्या’ भनेर रुँदै गर्दा भिडियो खिच्ने पुरुषले ‘नरोउ, रुने हैन भन्या । दाँत खुलेका छन् कि नाई । केही हुँदैन । पख बेहोस भएकी हो’ भनेर रोइरहेकी महिलालाई सम्झाउँछन् । सँगै ‘बर्बाद भैगो । यस्तै हो अब के गर्ने ?’ भन्छन् ।
भिडियो खिच्ने पुरुष केदारस्यूँ गाउँपालिका–१ का वडा सदस्य पदमप्रसाद भट्ट हुन् । सोमबार बिहान भएको यो घटना सोही वडाको डुडिल गाउँको हो । सुत्केरी व्यथा लागेकी महिलालाई स्वास्थ्य संस्था पुर्याउन कोसिस गर्ने क्रममा खिचिएका यी भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेका छन् ।
समयमै स्वास्थ्य संस्थामा पुर्याउन नसक्दा उक्त घटनामा डुडिलकी २१ वर्षीया सविता बोहराले ज्यान गुमाउनु परेको छ भने नवजात शिशुको समेत मृत्यु भएको छ ।
आइतबार दिउँसोदेखि सुत्केरी व्यथाको संकेत देखिए पनि परिवारले समस्या भएपछि मात्रै स्वास्थ्य संस्था लैजान खोज्दा यो घटना भएको हो । सोमबार बिहान ३ बजेतिर गाह्रो हुन थालेपछि सविताको परिवारले उनलाई ४ बजेतिर स्वास्थ्य संस्था लैजानका लागि घरबाट हिँडाएको थियो । घरबाट केही तल पुगिसकेपछि बिहान ५ बजेतिर उनले बाटोमै छोरालाई जन्म दिएकी थिइन् ।
‘भाउजूले पेट दुख्न थाल्यो भन्ने बित्तिकै हामीले अस्पताल हिँडाएका हौं,’ उनकी नन्द देवकला बोहराले भनिन्, ‘घरबाट हिँडेको १० मिनेटमै अब म हिँड्न सक्दिन भनेर थ्याच्च बस्नु भयो । बसेकै ठाउँमा बच्चा पनि जन्मियो । त्यसपछि उहाँ बेहोस हुनु भयो ।’ बच्चा जन्मिएको केहीबेरमै बेहोस भएपछि नजिकै घर भएका वडा सदस्य भट्टलाई खबर गरेको उनले बताइन् ।
समयमै स्वास्थ्य संस्था पुर्याउन पाएको भए सविताको ज्यान बच्ने उद्धार कार्यमा संलग्न रहेका भट्टको भनाइ छ । ‘मलाई खबर हुने बित्तिकै बिहान सवा ५ बजे देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा फोन गरें । दुई पटक गर्दा उठेन । १५ मिनेटपछि उतैबाट सीअहेबले फोन गर्नु भयो । मैले एम्बुलेन्स पठाइदिनुस् भनें,’ भट्ट भन्छन्, ‘उताबाट साढे ६ बजे मात्रै एम्बुलेन्स पुग्यो । त्यतिन्जेलमा उनको मृत्यु भइसकेको रहेछ ।’
घटनास्थलबाट आधा घण्टाको सडक दूरीमा विशेषज्ञ चिकित्सकसमेत रहने देउरा प्राथमिक स्वास्थ्य चौकी छ । स्वास्थ्य चौकीको फोन नउठेपछि स्थानीय रुटमा चल्ने थुप्रै अटोलाई पनि फोन गरेको तर कसैले आउन नमानेको उनले बताए ।
देउरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख समेत रहेका केदारस्यूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. रोहित गिरीले पनि समयमै स्वास्थ्य संस्था पुर्याउन सकेको भए महिला र नवजात शिशुको ज्यान बचाउने सम्भावना बढी हुन सक्ने बताए ।घटनाको जानकारी पाएलगत्तै दुई जना स्वास्थ्यकर्मीसहित एम्बुलेन्स पठाएको तर स्वास्थ्यकर्मी पुग्दासम्म आमा र बच्चाको ज्यान गइसकेको उनले बताए । ‘व्यथा लाग्ने बित्तिकै खबर गरेको भए हामीसँग नि:शुल्क एम्बुलेन्स सेवा थियो । ढिलो गरी खबर आएका कारण यस्तो दुर्घटना भयो,’ उनले भने ।
स्वास्थ्य केन्द्र पुर्याउँदा मृतकका कपडाहरू पूरै रगताम्य देखिएकाले अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हुन सक्ने उनले बताए । यस्तै बिहान ५ बजेको समयमा जन्मेको शिशुको चिसोका कारण मृत्यु भएको हुन सक्ने उनले बताए ।
‘जाडोमा बिहान ५ बजे वयस्क मान्छेलाई पनि बाहिर निस्कन गाह्रो हुन्छ,’ उनले भने, ‘नवजात शिशु त्यो पनि प्रिमेचुअर थियो । हाइपोथर्मिया भएर मृत्यु भएजस्तो देखिन्छ ।’ केही दिनअघि झोता स्वास्थ्य चौकीमा जाँच गर्दा सवितालाई स्वास्थ्यकर्मीले माघ २६ गते सुत्केरी हुने मिति दिएका थिए ।
डोटीको सिलगढी माइती भएकी मृतक सविताको गत वैशाखमा विवाह भएको थियो । उनका श्रीमान् मजदुरीका लागि भारतको बैंग्लोर गएका छन् । विवाहको एक महिनापछि उनी भारत गएका थिए । श्रीमतीको मृत्युको खबर सुनेपछि उनी घर आउन लागेको परिवारले जनाएको छ ।
डुडिल गाउँबाट गाउँपालिकाको केन्द्रसम्म रहेको स्वास्थ्य केन्द्र पुग्न एक घण्टा हिँड्नु पर्छ । यो गाउँभन्दा माथि कनाडा र केही तल सीम गाउँ पर्छन् । जहाँ १ सय १० परिवारको बसोबास छ । कनाडाबाट देउरा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नु पर्छ । गत वर्ष पनि समयमै स्वास्थ्य सेवा नपाउँदा यो गाउँमा एक सुत्केरीले पाँच दिनको नवजात शिशु गुमाउनु परेको थियो ।
‘चुनाव जितेदेखि यहाँ बर्थिङ सेन्टर चाहिन्छ भनेर केन्द्रदेखि प्रदेशसम्म धायौं,’ वडा सदस्य भट्ट भन्छन्, ‘सबैले हुन्छ मात्रै भने कसैले बनाइदिएनन् । बर्थिङ सेन्टर भैदिएको भए यो हालत हुने थिएन ।’ उनले यही वडाका बासिन्दासमेत रहेका सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, संघीय सांसद भानुभक्त जोशीलगायतसँग बर्थिङ सेन्टरका लागि अनुरोध गरे पनि कतैबाट सुनुवाइ नभएको बताए ।
‘बर्थिङ सेन्टरको भवनका लागि प्रदेश र केन्द्रमा माग गर्दा बजेट नआएपछि अहिले पालिकाकै स्रोतमा बनाउने भनेर लागेका छौं,’ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले भने, ‘भाडाकै घरमा भए पनि चलाउने भनेर घरको खोजी पनि भैरहेको छ । बीचमा यस्तो दु:खद घटना भयो ।’ उनले यहाँका मानिसमा स्वास्थ्यसम्बन्धी चेतना अभावका कारण समयमा स्वास्थ्य संस्थामा नजाने गरेका कारण बर्सेनि यस्ता घटना हुने गरेको बताए ।
२०७९ सालमा पनि यहाँको विरालसैन गाउँकी एक गर्भवतीको ढिलो गरी अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको थियो । बझाङमा समयमै स्वास्थ्य सेवा नपाउँदा बर्सेनि गर्भवती तथा सुत्केरीले ज्यान गुमाउनु परिरहेको छ । गत असोजमा मात्रै मष्टा गाउँपालिकाकी एक सुत्केरीको अत्यधिक रक्तस्रावका कारण अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो ।
स्वास्थ्य कार्यालय बझाङको तथ्यांक अनुसार बझाङमा २०७९/०८० चार जना नवजात शिशुको मृत्यु भएको थियो । ०८०/०८१ तीन जना आमा र पाँच शिशुको मृत्यु भएको थियो । मृतक तीन आमामध्ये एकको स्वास्थ्य संस्थामा र दुई जनाको स्वास्थ्य संस्थाबाहिर मृत्यु भएको कार्यालयका तथ्यांक अधिकृत कटक सार्कीले बताए । चालु आर्थिक वर्षको यो अवधिसम्म दुई जना आमा र पाँच जना शिशुको मृत्यु भइसकेको उनले बताए । ‘यो तथ्यांक हाम्रो कार्यालयमा रिपाेर्ट भएको केसका आधारमा हो,’ उनले भने, ‘गाउँमा बितेका तर हामीकहाँ रिपाेर्ट नपुगेकाहरू जोड्ने हो भने संख्या बढ्न सक्छ ।’