— मोरङको कर्सियास्थित उमागौरी सहकारीको २२ करोड रुपैयाँ ठगी प्रकरणकी आरोपित अञ्जला कोइराला १० लाख धरौटीमा थुनामुक्त भएकी छन् । प्रतिनिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला जिल्ला अदालत मोरङले तोकेको १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् ।
तीन सातादेखि फरार रहेकी अञ्जला अदालतमा उपस्थित भएकै दिन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले थुनछेक बहस सकेर धरौटीमा रिहा गर्ने आदेश जारी दिएको थियो ।
सहकारी ठगीमा अञ्जलासहित २६ जनाविरुद्ध गत मंसिर २७ मा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले पुस २ मा उनीसहितका १० जना आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिए पनि अञ्जला तीन सातापछि मात्रै अदालतमा उपस्थित भएकी थिइन् ।
यसअघि सोही प्रकरणमा मुछिएका धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास भने पुस १८ मा ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
मुद्दा दायर भएको भोलिपल्ट मंसिर २८ मा अञ्जला आफूले पढाउने महेन्द्र विराट रात्री विद्यालयद्वारा आयोजित राष्ट्रपति रनिङ सिल्ड कार्यक्रममा उपस्थित थिइन् । पुस १ मा भने उनी ५ दिनको बिदा स्वीकृत गरेर बसेकी थिइन् । त्यसपछि विद्यालय नगए पनि अञ्जलाका पति पोखरेलले पुस ९ मा इमेलमार्फत पत्र पठाएर अनिश्चितकालीन बिरामी बिदा मागेको विद्यालयको दाबी छ ।
अदालतमा दायर मुद्दामा सहकारीका अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनालाई प्रतिवादी बनाइएको छ । यीमध्ये २३ जना अझै फरार छन् । अभियोगपत्रमा प्रतिवादीले बचतकर्ताको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद र हिनामिना भएको रकम असुलीको मागदाबी गरिएको छ ।
८ हजार ८ सय ४२ सेयर सदस्य रहेको उक्त सहकारीमा ३ करोड ८ लाख ९० हजार रुपैयाँ सेयर पुँजी रहेको र ७ सय ७ जना ऋणीका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको जनाइएको छ । मोरङको धनपालथान–३ स्थित सहकारीको कार्यालय हाल भने बन्द छ ।
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुर फरार छन् । लेखा समिति संयोजक विजयकुमार यादव तथा सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वास, दिलमाया राई, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, शरदराज सिंह, मो. नसरुदिन, मनोजकुमार सोनी, यशोदाकुमारी राजवंशी पनि फरार छन् ।
२०६८ सालमा स्थापित उमा गौरी कृषि सहकारीमा अञ्जला दुई कार्यकाल सदस्य थिइन् । २०७८ माघ ५ मा सहकारीबाट राजीनामा दिएको उनको भनाइ छ । आरएसडीसी लघुवित्त संस्थाबाट उक्त सहकारीले ऋण लिने निर्णय गर्दा अञ्जलाले ‘माइन्युट’ मा हस्ताक्षर गरेकी थिइन् । आरएसडीसीको कागजातअनुसार ०७७ पुस २९ मा थप ३ करोड रुपैयाँ कर्जा माग गर्ने सहकारीको निर्णयमा पनि उनको हस्ताक्षर छ ।
‘माइन्युट’ को विवरणअनुसार सहकारीले ०७७ पुस २९ अगावै पनि आरएसडीसीबाट ४ करोड २५ लाख कर्जा लिई कारोबार गरिरहेको र लगानी विस्तार गर्न थप ३ करोड कर्जा माग गर्ने निर्णय भएको थियो । कर्जा लिने विषयमा भएका तीन वटै बैठकमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाा तथा सञ्चालकहरू अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशी उपस्थित रहेको आरएसडीसीको भनाइ छ ।
सहकारीले समयमा ऋण चुक्ता नगरेको कारण देखाउँदै अञ्जलासहितका तत्कालीन सञ्चालक समितिका पदाधिकारीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिएको थियो । आरएसडीसीले उमा गौरी सहकारीका नाममा ०७९ कात्तिक १६ मा निकालेको कर्जा चुक्तासम्बन्धी सूचनामा अन्य सञ्चालकसँगै अञ्जलाको पनि नाम र तस्बिर छापिएको थियो ।