— स्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला माधवपुर ग्राम पञ्चायत वडा नं ६ बस्ने रवि कुमार रहेका छन् ।
आज(बिहीबार) महोत्तरीको मटिहानी नपा–८ मटिहानी सीमा इलाकाबाट उनी स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीबाट खटिएको सशस्त्र प्रहरी टोली पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २–०२–००५प ५१६३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा रविको साथबाट स्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीले जनाएको छ ।
बरामद भएको पैसा र मोटरसाइकलसहित रविलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको सप्रबल मटिहानी बीओपीले जनाएको छ ।