मुख्य समाचार
अर्बपतिले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट
अर्बपतिले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट

— भिडियो सेयरिङ प्लाटफर्म टिकटकले अमेरिकामा दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छँदै कतिपय अर्बपतिले आफू टिकटक किन्न तयार रहेको बताउन थालेका छन् । शार्क ट्यांक अमेरिकाका लगानीकर्ता केभिन ओलियरी, अर्बपति फ्र्यांक म्याककर्टजस्ता प्रख्यात अर्बपतिले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट गरेका हुन् ।


टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्ससँग यो एप किनेर अमेरिकाका प्रयोगकर्ताको डेटा अमेरिकामै बनेको डिजिटल पूर्वाधारमा संग्रृहीत गर्ने म्याककर्टको भनाइ छ । लस एन्जलस डजर्सका पूर्वमालिकसमेत रहेका म्याककर्ट नेतृत्वको समूहले गत साता मात्रै बाइटडान्सलाई पत्र पठाएर खरिद सम्झौताबारे विचार गर्न भनेको थियो । खरिद सम्झौता सफल भएमा यो प्लाटफर्म लाखौँ प्रयोगकर्ताका लागि जीवित रहने म्याकर्टले बताएका छन् ।


त्यस्तै, अर्बपति ओलियरीले पनि २० प्रतिशत चिनियाँ स्वामित्व कायम राखेर अमेरिकी नागरिक रहेको सञ्चालक समिति र नेतृत्व मातहत टिकटक सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन् । उनले म्याककर्टसँगै मिलेर किन्न तयार रहेको पनि बताएका छन् । एनबीसी न्युजका अनुसार डोनाल्ड ट्रप्पको अघिल्लो राष्ट्रपतीय कार्यकालमा अर्थमन्त्रीसमेत रहेका बैंकर स्टेभन म्युचिनले समेत टिकटक किन्ने सम्भावित लगानीकर्ताको समूह तयार रहेको बताएका थिए । त्यो समूहमा को छ भनेर उनले खुलाएका छैनन् ।

एक्टिभिजन ब्लिजर्डका बबी कोटिक, अनलाइन भिडियो प्लाटफर्म रुम्बलका प्रमुख क्रिस पाब्लोब्स्की लगायतले पनि टिकटक खरिदमा रुचि देखाएका छन् ।अमेरिकामा टिकटक प्रयोगकर्ताको संख्या १७ करोड छ । सन् २०२५ मा बाइटडान्सले टिकटकमार्फत लगभग १० अर्ब अमेरिकी डलर आम्दानी गर्न सक्ने विश्लेषकहरूको अनुमान छ ।

खरिदकर्ता इच्छुक भए पनि बाइटडान्सले टिकटकको बिक्री सम्भव नभएको प्रतिक्रिया दिँदै आएको छ । चीन सरकारले पनि टिकटक बिक्री गर्न नदिने संकेत गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । ‘बेइजिङले माने नै पनि टिकटक र यसको महत्त्वपूर्ण अल्गोरिदमको मूल्य निकै महँगो छ,’ टाइम्सकी पत्रकार लरेन हर्सले लेखेकी छन्, ‘सीबी इन्साइट्स रिसर्च संस्थाले बाइटडान्सको मूल्यांकन २२५ अर्ब डलर गरेको छ । तथापि टिकटकको अमेरिकी भर्सनको मूल्य कति पर्छ भन्ने स्पष्ट छैन ।’

आउँदो साताभित्र अमेरिकामा टिकटकका विषयमा छिनोफानो हुँदै छ । शुक्रबार भएको पछिल्लो सुनुवाइमा सर्वोच्च अदालतले टिकटकले जिकिर गरेका चुनौतीहरूप्रति शंका व्यक्त गर्दै अमेरिकी सरकारको धारणातर्फ झुकाव राखेको थियो । यसले पनि जनवरी १९ पश्चात अमेरिकामा टिकटक प्रतिबन्ध नै हुने सम्भावनातर्फ बढी संकेत गरेको छ । टिकटकले अमेरिकी प्रतिबन्ध उल्टाउने अन्तिम प्रयासस्वरुप सर्वोच्चमा मुद्दा हालेको थियो ।

अमेरिकी सरकार र टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सबीच अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय सुरक्षा चिन्ताका विषयमा लामो समयदेखि कानुनी विवाद चलिरहेको छ । गत अप्रिलमा अमेरिकी सरकारले बाइडान्सलाई टिकटकको अमेरिकी शेयर बेच्न वा प्रतिबन्धको सामना गर्न जनवरी १९ को समयसीमा तोक्दै एक कानुन पारित गरेको थियो । यही कानुन उल्ट्याउने उदेश्यले बाइटडान्स सर्वोच्च पुगेको हो ।

टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटा संकलन गरेर चिनियाँ सरकारलाई दिने आशंकासहित अमेरिकी सांसद्हरूले गत वर्ष अप्रिलमा टिकटक प्रतिबन्धसम्बन्धी विधेयक पारित गरेका थिए । राष्ट्रपति बाइडेनले तुरुन्तै हस्ताक्षर गरेर त्यसलाई कानुनी रूप दिए । बाइटडान्स र टिकटक प्रयोगकर्ताहरूले भने सो कानुनको संवैधानिकतामा प्रश्न उठाउँदै आएका छन् । एप प्रतिबन्धले अभिव्यक्ती स्वतन्त्रताको अधिकारलाई उल्लंघन गर्ने उनीहरूको दाबी छ ।

हाल राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘टिकटकलाई बचाउने’ प्रतिबद्धता दिएका थिए जब कि उनैले आफ्नो अघिल्लो कार्याकालमा सन् २०२० अगस्टमा एक कार्यकारी आदेश जारी गरी टिकटक र विच्याट गैरचिनियाँ उद्यमीलाई बिक्री नगरिए प्रतिबन्ध लगाइने घोषणा गरेका थिए । तर त्यो आदेश कार्यान्वयनको केही घण्टा मात्र अघि एक अमेरिकी संघीय न्यायाधीशले उक्त आदेश अमेरिकी संविधानको पहिलो संशोधविपरीत भएको भन्दै रोक्ने आदेश दिएका थिए । यसपटक उनी राष्ट्रपतीका रूपमा ह्वाइट हाउस छिर्नुअघि नै अमेरिकामा टिकटकको भविष्यबारे टुंगो लाग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...