राष्ट्रपतिले रोके भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश
राष्ट्रपतिले रोके भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश

— भूमिसम्बन्धी ऐन, २०२१, वन ऐन, २०७५ र राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन, २०२९ लाई संशोधन गर्न प्रस्तावित अध्यादेशमा निकुञ्ज र वन क्षेत्रको जग्गासमेत व्यक्तिलाई दिन सकिने नयाँ प्रबन्ध राखिएपछि त्यसको दुरुपयोग हुन सक्ने भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश जारी नगरी रोकेका छन् । अध्यादेशमा घरजग्गाको कारोबारदेखि अपार्टमेन्ट, हाउजिङलगायत विषयसमेत जोडिएकामा आशंका उब्जिएको शीतल निवास स्रोतको भनाइ छ ।



सरकारले सिफारिस गरेका पाँचमध्ये सोमबार ४ अध्यादेश जारी गरे पनि राष्ट्रपतिले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेशमाथि अध्ययन गर्न आवश्यक रहेको भन्दै रोकेका हुन् । सरकारी जग्गा दर्ता सन्दर्भको नयाँ व्यवस्थामाथि चासो राख्दै राष्ट्रपतिले विद्यमान कानुनी प्रबन्ध, सर्वोच्चका नजिरसमेत अध्ययन गरेर निर्णय लिने भन्दै उक्त अध्यादेश ‘होल्ड’ गरेको स्रोतले जनाएको छ ।

सुरु नापी हुँदाको बखत गौचर, हाट, घाट र बजार वा वन क्षेत्र या बुट्यान ढाकिएको भनिएको तर त्यस्तो जग्गामा घरटहरा बनाई लामो समयदेखि बसोबास गरेका भूमिहीन दलित तथा सुकुम्बासीलाई निःशुल्क स्वामित्व उपलब्ध गराउने व्यवस्था अध्यादेशमा छ । अव्यवस्थित बसोबासीलाई भने तोकिएको दस्तुर लिई जग्गाको स्वामित्व उपलब्ध गराउने व्यवस्था राखिएको छ ।

अध्यादेशमा भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गरेर घरजग्गा व्यवसाय हदबन्दीमा छुट दिइएको छ । ‘हदबन्दी बढीको जग्गा बिक्री गर्न रोक लगाउने कानुनमा परिवर्तन गरी घरजग्गा व्यवसायीले हदभन्दा बढीको जग्गामा स्वीकृत लिई तोकिएको अवधिभित्र विकसित गरी घरघडेरीका रूपमा बिक्री गर्न पाउने व्यवस्था राखिएको छ,’ एक अधिकारीले भने ।

राष्ट्रिय निकुञ्ज, खोला, नदी किनारका जग्गा सोबासी (लामो समय भोगचलन गरेकाको) नाममा दर्ता गर्न सकिने प्रावधानले दुरुपयोगको जोखिम बढाएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । ‘अन्तर्राष्ट्रिय सन्धि र सम्झौतासमेत आकर्षित हुने भएकाले त्यसको रिफरेन्ससमेत लिएर अध्ययन गर्नुपर्ने देखिएको छ,’ उनले भने ।

‘अध्यादेशको म्याद जम्मा ६० दिनको हो । संसद् बसेको पहिलो बैठकमा नै अध्यादेश प्रस्तुत गर्नुपर्छ । त्यसको साठी दिनभित्र अध्यादेश स्वीकार नभए स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशन बोलाउने बेलामा यस्तो गम्भीर खालको सार्वजनिक सरोकारको विषयमा अध्यादेश जारी गर्नुर्पर्ने हतारो सरकारलाई किन पर्‍यो भन्ने जिज्ञासा शीतल निवासलाई स्वाभाविक रूपमा उठेको छ,’ स्रोतले भन्यो, ‘संविधानको धारा ४८ ले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने दायित्व राष्ट्रपतिलाई दिएकाले थप अध्ययन गर्नुपर्ने आवश्यक देखिएको हो ।’




राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले अध्यादेश अध्ययनकै क्रममा रहेको बताए । ‘सार्वजनिक सरोकार र गम्भीर विषय भएकाले राष्ट्रपतिका केही चासो देखिए, त्यसमा थप अध्ययन गर्न सोमबार समयसमेत अभाव भयो, मंगलबार सार्वजनिक बिदा नै भयो,’ कुँवरले भने, ‘अध्ययन गरेपछि राष्ट्रपतिबाट त्यसमा आवश्यक निर्णय हुनेछ ।’

२०/३० वर्षदेखि भोगचलन गरेको, फिल्डमा जंगल र बुट्यान नभएको तर नक्सामा जंगल देखिएको विषयले सिर्जना गरेको अप्ठ्यारो फुकाउन मात्र खोजिएको गृहमन्त्री रमेश लेखकले बताए । ‘असार १७ मा कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिकै जगमा आर्थिक सुधार, लगानीको वातावरण र सुशासनका क्षेत्रमा तत्काल परिणाम आउने गरी काम गर्नका लागि सरकारले अध्यादेश ल्याएको हो,’ उनले भने ।

मुलुकको आर्थिक अवस्था अझै ठीक लयमा नआएकाले अर्थतन्त्रलाई लयमा फर्काउन, निजी क्षेत्रलाई उद्योग व्यवसायका लागि वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउने वातावरणको सुनिश्चितता गर्न, आईटी क्षेत्रलाई विदेशमा समेत विस्तारको वातावरण बनाउन र सुशासनको क्षेत्रमा तत्काल काम गर्नुपर्ने भएर तत्सम्बन्धी अध्यादेश ल्याइएको गृहमन्त्री लेखकको भनाइ छ । ‘यसमा गठबन्धनभित्र कुनै विवाद छैन, दुई दलको सहमतिमै अध्यादेश ल्याइएको हो, ल्याउने संवैधानिक अधिकार सरकारको हो,’ उनले भने ।

तर, कांग्रेसभित्र नेता शेखर कोइराला पक्षले भने हिउँदे अधिवेशनको मुखमा अध्यादेश ल्याएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको प्रतिक्रिया दिएको छ । हाल बेलायत भ्रमणमा रहेका कोइरालाले आइतबार नेपाली जनसम्पर्क समिति बेलायतको कार्यक्रममा दुईतिहाइको सरकार तानाशाहीको बाटोमा अघि बढ्न खोजेको हो कि भन्ने चिन्ता भएको बताए । उनले गैरआवासीय नेपाली नागरिकलाई १० वर्षको निःशुल्क भिसा दिने गरी ल्याइएको अध्यादेशप्रति पनि असन्तुष्ट जनाए । ‘नेपाली नागरिकता दिइसकेपछि भिसाको कुरै आउँदैन, सरकारको यो वाहियात निर्णय सच्याउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । सहकारी ठगी लगायतका मुद्दामा काठमाडौं जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएपछि लामिछानेले न्याय प्रक्रियालाई सघाएको बताए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी वापत बैंक ग्यारेन्टी बुझाएर ...
— गैंडाले आक्रमण गर्दा मंगलबार चितवन माडीमा एकजनाको निधन भएको छ । चितवन निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार आक्रमणमा परेर चितवन माडी नगरपालिका-३ बैराठका ५६ वर्षीय छविलाल बोटेको निधन भएको हो । निकुञ्जको सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापामगरले भैंसी चराउन रिउ खोला बगरको काँसघारीमा गएका बेलामा बोटेलाई गैंडाले आक्रमण गरेको बताए । उनको घटनास्थलमै निधन ...
: कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमाछुटेका लामिछाने काठमाडौंमा पनि धरौटीमा रिहा भएका हुन्। स्वर्णलक्ष्मी सहकारी ...
कहिलेकाहीं राजनीति रोचक सञ्जोगबाट अगाडि बढ्छ । जस्तो, गतसाता काठमाडौंमा एउटा त्यस्तै रोचक सञ्जोग बन्यो । अर्थात् एकैदिन एमाले र माओवादीको केन्द्रीय समितिको बैठक बस्यो । र, एकैदिन सकियो । रोचक के भने, दुवै पार्टीका बैठकमा उनीहरूले मनग्गे एकअर्काको कुरा गरे । कुरा गर्नु स्वाभाविक पनि हो, किनभने यी पार्टीहरूको सम्बन्धको आफ्नै ऐतिहासिक सिलसिला र उतारचढाव छ । जो, कहिले तीव्र अन्तरविरोधको ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार भूमिसम्बन्धी अध्यादेश जारी भएको जानकारी दिएकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले योसहित ५ अध्यादेश सिफारिस गरेकोमा ४ अध्यादेश यसअघि ...