एउटा यही कारणका लागि स्पेनी ला लिगालाई मज्जा नमान्नेहरू पनि छन् । हुन् पनि सन् २००४–२००५ को सिजनयता दुई दशकमा स्पेनी लिग फुटबलमा कोही च्याम्पियन हुन्छ भने त्यो कि त रियल म्याड्रिड हो, होइन भने बार्सिलोना । बीचमा दुईपल्ट एउटा टिमले उनीहरूको एकलौटीमा क्रमभंग गरेको छ र त्यो हो, एटलेटिको म्याड्रिड ।
के यसपल्टको सिजनको विशेषता पनि त्यस्तै हुने त होइन ? साँच्चै अहिले एटलेटिकोले गज्जब नै खेलिरहेको छ ।
यो सिजनको अंक तालिकामा एक नजर लगाउने हो भने एटलेटिको नै अगाडि छ । लिगले ठ्याक्कै आधा बाटो तय गर्दा एटलेटिको ४४ अंकमा शीर्ष स्थानमा छ भने उसको पछाडि रियल छ, ४३ अंकसहित । बार्सिलोना अझ पछाडि ३८ अंकमा छ । यस्तोमा एटलेटिको र बार्सिलोनाबीच ६ अंकको अन्तर छ । एटलेटिकोले आफ्नो पछिल्लो खेलमा ओसासुनालाई १–० ले हरायो । यही जितसँगै एटलेटिको अंक तालिकाको शीर्षमा उक्लेको हो ।
जति बेला एटलेटिकोले यही उपलब्धिको खुसियाली मनाइरहेको थियो, त्योभन्दा बढी खुसी बार्सिलोना पनि भयो । भौगोलिक रूपमा धेरै टाढा बार्सिलोनाले आत्मसात् गरेको खुसी हो, स्पेनी सुपरकपको उपाधि । साउदी अरेबियातिर फुटबलका दुई ठूला देशको सुपरकप हुन्छ । त्यसमा एउटा इटाली रह्यो, अर्को स्पेन । स्पेनी सुपरकपमा भने चार टिम थिए । फाइनलमा बार्सिलोना र रियल नै पुगेका थिए । यस्तोमा जेद्दामा भएको फाइनल यो सिजनको दोस्रो ‘एल क्लासिको’ रह्यो ।
उक्त खेलमा बार्सिलोनाको प्रदर्शन धेरै हदसम्म उच्च रह्यो । रियलले सुरुमै अग्रता लिएर पनि बार्सिलोनाले यो खेल ५–२ ले जित्यो । बार्सिलोनाले यो सफलता के चुम्यो, अब भन्न सुरु भएको छ, बार्सिलोना ब्युँझिएको छ । नयाँ वर्ष र क्रिसमसको अर्को छेउ बार्सिलोनाको प्रदर्शन खराब नै रह्यो । सिजनको सुरुआत त बार्सिलोनाको भव्य नै रह्यो । लामो समय जितेको जित्यै थियो । त्यसैले अंक तालिकाको शीर्षमा पनि लामै समय रह्यो ।
तर एकपल्ट हार्न थालेपछि बार्सिलोनाको दशा हारेको हार्यै पनि भयो । तर बीचको मध्यान्तरले बार्सिलोनालाई फाइदै फाइदा भएको छ । यही फाइनलमा पनि रियलले केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । त्यसपछि लामिन यामलले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । झन् त्यसपछि रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट एक, राफिन्हाले दुई तथा एलेजान्ड्रो ब्लाडले एक गोल गरे ।
रोड्रिगोले रियलका लागि एक गोल फर्काए । तर, त्यसले नतिजामा के नै फरक पार्न सक्थ्यो र ? सन् २०२५ लागेयता बार्सिलोनाको यो लगातार तेस्रो जित हो । सन् २०२४ को अन्त्यतिर यही टिम लगातार दुई खेलमा पराजित भएको थियो । अहिले बार्सिलोना टिम एक प्रकारले लेवनडोस्कीले हाँकिरहेका छन् भन्दा हुन्छ । भेट्रान खेलाडीको दर्जामा छन्, उनी । तर, उनीबाट नै गोल निस्किरहेको छ । उनले बार्सिलोनाका लागि यस सिजन सबैखाले प्रतियोगितामा गरेर २७ खेल खेलिसकेका छन् ।
अनि यसबीच उनले निकालेको गोल संख्या पुगेको छ, २६ । लेवनडोस्की आफैं भन्छन्, ‘क्रिसमसको विश्रामले हामीलाई फाइदै भयो । टिममा कहाँनिर समस्या थियो, त्यो चाल पायौं ।’ रियलसामु पछिल्लो ‘एल क्लासिको’ को हारको बदला लिने अवसर थियो तर त्यसमा नमज्जासँग उल्टै चुक्यो । बर्नाबाउमा भएको पछिल्लो खेल लिगको थियो र त्यसमा बार्सिलोना अचम्मले ४–० ले विजयी रहेको थियो । यसपल्टको फाइनल हारपछि रियल प्रशिक्षक कार्लोस एन्सोलाटीले भनेका छन्, ‘साह्रै खराब खेल भयो । निराशा त लुकाउने ठाउँ नै भएन ।’
फेरि बार्सिलोनामै फर्कने हो भने अझै फुटबलका पारखीहरूले लियोनल मेसी छँदाको समय बिर्सन सकेका रहेनछन् । त्यसैले केही भयो कि मेसी हुँदा बार्सिलोनामा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भन्ने कुरा चल्ने गरेकै छ । सायद धेरै हदसम्म बार्सिलोनाले मेसीबिना बाँच्न जानिसकेको छ । तर, बार्सिलोनामा त्यो आकर्षण भने फर्कन सकेको छैन, जुन मेसी छँदा थियो । प्रश्न त के पनि छ भने मेसीको ठाउँ लिने कोही खेलाडी बार्सिलोनामा आयो त ?
बार्सिलोनाले जति बेला आफ्नो लय गुमाएको थियो, त्यही बेला एटलेटिकोले भने उत्कृष्ट प्रदर्शनको क्रम सुरु गरेको थियो । त्यसैले त ओसासुनामाथि प्राप्त जित सबैखाले प्रतियोगितामा गरेर उसको १४ औं लगातार जित थियो । खेलको एक मात्र गोल जुलियन अल्भारेजको नाममा रह्यो । अक्टोबरयता एटलेटिकोले जति खेलेको छ, ती सबैमा विजयी रहेको छ । त्यसैले साँचो अर्थमा स्पेनमा कुनै एक टिम लयमा छ भने त्यो हो एटलेटिको ।
यहाँनिर रियलको खेल केही खस्केको छ । बार्सिलोनामा मात्र होइन, पूरा स्पेनी फुटबलमै मेसीको ठाउँ लिने अपेक्षा गरिएका रियल स्टार केयलिन एमबापेको कमजोर प्रदर्शनकै कारण रियल पछाडि परेको मानिन्छ । तर यिनै एमबापेले बार्सिलोनाविरुद्ध गरेको पहिलो गोल हेर्नुपर्छ, त्यो अद्वितीय छ । मैदानको मध्य भागबाट उनले एक्लै बल अगाडि लगेर गोल गरेका थिए । त्यसो भए, के उनी पनि लयमा फर्केका हुन् त ? बार्सिलोनामाथि पनि यस्तै विश्वास छ ।
यस्तोमा स्पेनी फुटबलमा यसपल्टको त्रिकोणात्मक होड मज्जाको हुनेछ ।