— उच्च रक्तचापले मृत्यु भएको भन्दै दाहसंस्कारको तयारी गरिएका जिरी नगरपालिका-२ पटासेका ६१ वर्षीय होम्बबहादुर तामाङको हत्या भएको खुलेको छ ।
उच्च रक्तचापले मृत्यु भएको भनिएको तामाङको शव प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तामाङ हत्या भएको खुलेको हो । पुस २६ गते हत्या गरिएका तामाङको शव दुई दिनपछि मात्रै घरमा फेला परेको थियो । मृतकका जेठा छोराले हत्याको आशंकमा प्रहरीमा जाहेरी दिएपछि दाहसंस्कारको तयारी भइरहेका बेला जिल्ला प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी निरीक्षक शत्रुधन महतोको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको थियो ।
गत पुस २६ गते भैँसी हराएको भन्दै हत्यामा संलग्न स्थानीय छिमेकी धनबहादुर तामाङ, निजकी श्रीमती गंगामाया तामाङ र शान्ता जिरेल भैँसी खोजेर फर्केपछि तामाङको उनकै घरमा हत्या भएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक शत्रुधन महतोले बताए । सबै प्रमाण नष्ट गरेर रक्तचापले निधन भएको भन्दै दाहसंस्कारको तयारी भइरहेको रहेछ,’ महतोले भने, ‘हत्याको आशंकामा मृतकका जेठा छोराले जाहेरी दिएपछि शव नियन्त्रणमा लियौं, हत्यामा संलग्नहरू केही आफन्तले रक्तचापले भनेर घटनास्थलको सबै प्रमाण नष्ट गरिसकेका रहेछन् ।’
भैँसी खोजेर घर फर्केका ४ जना मध्ये मृतक होम्बबहादुर र गंगामायाबीचको सम्बन्ध खुलेपछि गंगामायाका श्रीमानले चिर्पटले हानेर हत्या गरेको अनुसन्धानका क्रममा फेला परेको उनले बताए ।
सँगै भैँसी खोज्न हिँडेकी श्रीमती घर नफर्केपछि धनबहादुर र शान्ताले खोज्ने क्रममा मृतक होम्बबहादुरको घरमा गंगामायालाई देखेपछि चिर्पटले हानेर हत्या गरेको हत्यामा संलग्नहरूले बयान दिएका छन् ।
हत्यापछि हत्यामा संलग्नहरूले सबै प्रमाण नष्ट गरेका थिए । हत्याको २ दिनपछि कुकुरको छाउरो लिन आएका छिमेकीले होम्बबहादुरको मृत्यु भएको थाहा पाएका थिए । तामाङको हत्या गरेपछि श्रीमती गंगालाई लिएर धनबहादुर र शान्ता घर फर्केको खुलेको निमित्त प्रहरी प्रमुख दाताराम अधिकारीले बताए । अनुसन्धानमा केही ढिलो भएको भए तामाङको रक्तचापले मृत्यु भएको भन्दै अन्तिम दाहसंस्कार हुने रहेछ,’ उनले भने, 'तत्काल अनुसन्धानको टिम पठाएर २४ घण्टामा हत्या संलग्नहरू पक्राउ गर्न सफल भएका छौँ ।’
हत्यामा संलग्नहरूलाई जिल्ला अदालत दोलखाबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।