— राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार भूमिसम्बन्धी अध्यादेश जारी भएको जानकारी दिएकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन् ।
मन्त्रिपरिषद्ले योसहित ५ अध्यादेश सिफारिस गरेकोमा ४ अध्यादेश यसअघि नै जारी भइसकेका थिए । भूमिसम्बन्धी ऐन, २०२१, वन ऐन, २०७५ र राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन, २०२९ लगायत संशोधन गर्न प्रस्तावित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश भने राष्ट्रपतिले रोकेका थिए । यो अध्यादेशमा निकुञ्ज र वन क्षेत्रको जग्गासमेत व्यक्तिलाई दिन सकिने नयाँ प्रबन्ध राखिएपछि त्यसको दुरुपयोग हुन सक्ने भन्दै राष्ट्रपति पौडेलले रोकेका थिए ।
अध्यादेशमा घरजग्गाको कारोबारदेखि अपार्टमेन्ट, हाउजिङलगायत विषयसमेत जोडिएकामा आशंका उब्जिएको थियो ।