मुख्य समाचार
४८ हजारको मृत्युपछि युद्धविरामको संघारमा गाजा
४८ हजारको मृत्युपछि युद्धविरामको संघारमा गाजा

— इजरायल र प्यालेस्टिनी समूह हमास युद्धविरामका लागि सहमतिनजिक पुगेका छन् । कतारको मध्यस्थतामा भएको वार्तामा दुई पक्षबीच सहमति जुटेपछि १५ महिना लामो युद्ध अन्त्य हुने भएको हो, यद्यपि मंगलबार रातिसम्म घोषणा भएको छैन ।


युद्धविराम र बन्धकको रिहाइसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिबीच कतारको राजधानी दोहामा मंगलबार वार्ता भएको थियो ।


सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको रूपरेखालाई दुवै पक्षले स्वीकार गरेपछि सहमति भएको हो । गाजामा युद्धविरामका लागि अमेरिका, कतार र इजिप्ट लामो समयदेखि सक्रिय थिए । ४८ हजारभन्दा बढीको ज्यान गएपछि दुवै पक्ष युद्धविरामका लागि तयार भएका हुन् ।

बीबीसीका अनुसार दोहास्थित एउटै भवनमा रहेका इजरायल र हमासका प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता भएको थियो । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले गराएको वार्तामा इजरायलको प्रतिनिधित्व गुप्तचर एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र आन्तरिक सुरक्षा एजेन्सी शिन बेटका निर्देशक रोनेन बारले गरेका थिए । यस्तै, हमासका तर्फबाट राजनीतिक ब्युरोका कार्यवाहक प्रमुख तथा प्रमुख वार्ताकार खलिल अल–हाय्या सामेल थिए । वार्तामा इजिप्टको गुप्तचर संस्थाका निर्देशक हसन रसद, अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पका विशेषदूत ब्रेट म्याकगर्क र स्टिभ विटकफ पनि सहभागी थिए ।

प्यालेस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको थियो । हमासको आक्रमणबाट अक्टोबर ७ मा करिब १२ सयको ज्यान गएको थियो । हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार बीचमा अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी १ सय ९ जनालाई हमासले मुक्त गरेको थियो ।

८ जनालाई इजरायली सेनाले मुक्त गराएको थियो भने ३७ जनालाई मृत्युपछि जिम्मा लगाइएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको भने इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो । नेपालका विपिन जोशीका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणबाट मुक्त हुन बाँकी छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । उनीहरूमध्ये २ जना ५ वर्षभन्दा मुनिका हुन् ।

इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ६ सय ४५ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् ।




इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ । इजरायल–हमास युद्धका कारण एक वर्षमा (गत अक्टोबर ७ सम्म) १८.५ अर्ब डलर बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान विश्व बैंक, संयुक्त राष्ट्रसंघ र युरोपेली संघले गरेका थिए ।

युद्धविराम सम्झौताअनुसार ६ साताको अविधमा हमासले बन्धक बनाएका महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने समाचार संस्था एपीले जनाएको छ । ३३ जनामध्ये ५ जना इजरायली महिला सैनिक हुनेछन् । हमासले प्रत्येक महिला सैनिकलाई ५० जना प्यालेस्टिनी कैदीको सट्टामा रिहा गर्नेछ । रिहा हुने भनिएका प्यालेस्टिनी कैदीमध्ये ३० जनाले इजरायलमा आजीवन काराबासको सजाय काटिरहेका छन् ।

पहिलो चरणअन्तर्गतका ४२ दिनमा गाजा क्षेत्रमा रहेका इजरायली सेना मानिसको बसोबास भएका स्थानबाट फिर्ता हुनेछन् । प्यालेस्टिनीहरूलाई उत्तरी गाजास्थित आफ्नो घर फर्कन अनुमति दिइनेछ र त्यहाँ मानवीय सहायता प्रदान गरिनेछ । मानवीय सहायताका लागि हरेक दिन करिब ६ सय ट्रकलाई प्रवेश गर्न दिइने बताइएको छ । दोस्रो चरण कार्यान्वयनका विषयमा पहिलो चरणको अविधमा थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।

दोस्रो चरणको सम्झौता नभएसम्म युद्धविराम जारी रहने लिखित प्रत्याभूति भने गरिएको छैन । यसर्थ पहिलो चरण समाप्त भएपछि इजरायलले आफ्नो सैन्य अभियान पुनः सुरु गर्ने सम्भावना कायमै देखिन्छ । मध्यस्थकर्ताहरूले भने हमासलाई योजनाअनुसार नै वार्ता जारी रहने र सम्झौताको पहिलो चरण कार्यान्वयन हुनुअघि नै सम्झौताको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका लागि दबाब दिने मौखिक प्रत्याभूति दिएका छन् । सम्झौताले इजरायललाई पहिलो चरणमा इजिप्टसँगको गाजाको सिमानामा रहेको क्षेत्र फिलाडेल्फी करिडोरमाथिको नियन्त्रण कायमै राख्न अनुमति दिएको छ ।

यसअघिका वार्तामा हमासले इजरायली सेना फिलाडेल्फी करिडोर फिर्ता हुनुपर्ने अडान राख्दै आएको थियो । इजिप्ट र दक्षिणी गाजाको सीमामा पर्ने फिलाडेल्फी करिडोरलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिलाडेल्फी करिडोरबाट आफ्नो सेना फिर्ता गर्न नचाहेको बताउदै आएका थिए । नेट्जरिम कोरिडोरबाट भने सेना हटाउन इजरायल सहमत भएको छ । मध्य गाजाको नेट्जरिम क्षेत्र सन् २०२३ नोभेम्बरदेखि इजरायली सुरक्षा बल (आईडीएफ) को नियन्त्रणमा छ ।

सम्झौतामा उल्लेख भएअनुसार दोस्रो चरणमा गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने र त्यसको सट्टा हमासले सैनिकलगायतका थप बन्दी रिहा गर्नेछ । तर हमासले युद्धको अन्त्य र इजरायलको पूर्ण फिर्तीबिना बाँकी बन्धक मुक्त नगर्ने बताएको छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले विगतमा हमासको सेना र शासन क्षमता समाप्त नभएसम्म लडाइँ फेरि सुरु गर्ने बताउने गरेका थिए । तर पहिलो चरणको सम्झौता कार्यान्वयनका क्रममा हुने वार्तामा गाजामा वैकल्पिक सरकार नबन्दासम्म उक्त क्षेत्र हमासको जिम्मामा छाड्न सक्ने बताइएको छ । तेस्रो चरणमा अन्तर्राष्ट्रिय पर्यवेक्षणमा गाजामा गरिने ३ देखि ५ वर्षे पुनर्निर्माण योजनाको बदलामा हमासले बाँकी बन्धकको शव फिर्ता गर्नेछ ।

अर्को साता अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका डोनाल्ड ट्रम्पका कारण युद्धविरामका लागि दुवै पक्ष दबाबमा परेको ठानिएको छ । यही जनवरी २० मा राष्ट्रपति पद सम्हाल्ने ट्रम्पले गाजामा युद्धविराम सम्झौता नभए स्थिति थप भयावह हुने धम्की दिएका थिए ।

पश्चिम एसिया (मध्यपूर्व) का लागि उनका विशेषदूत स्टिभ विटकफ कतारको दोहामा जारी वार्ताका क्रममा अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग सामेल भएका थिए । ट्रम्पले सोमबार युद्धविराम ‘निकै नजिक पुगेको’ बताएका थिए । ‘त्यहाँ हातहरू मिलेका छन् र उनीहरूले यसलाई यसै सातामा टुंगोमा पुर्‍याउँदै छन्,’ ट्रम्पले भनेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नेतान्याहुसँग आइतबार कुराकानी गरेका थिए । वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल–थानीसँग उनले सोमबार कुरा गरेका थिए । त्यसलगत्तै वार्तामा थप प्रगति भएको बताइएको छ ।

इजरायली आक्रमणका कारण गाजामा हजारौं सर्वसाधारण मारिएको भन्दै अमेरिकामाथि इजरायललाई सैन्य सहायता नगर्न दबाब बढेको थियो तर त्यसलाई बाइडेन प्रशासनले बेवास्ता गर्दै आएको थियो । तर ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाको नीतिमा केही बदलाब आउने अपेक्षा गरिएको छ । बाइडेन प्रशासनले अघि सारेका योजना ट्रम्पले रोक्ने सम्भावना छ । ट्रम्पले विदेशी द्वन्द्वमा अमेरिकी संलग्नता कम गर्ने बताउँदै आएका छन् । इजरायलको समर्थनमा देखिएका भए पनि उनले गाजामा तत्काल युद्ध अन्त्य गर्नुपर्ने बताउने गरेका छन् ।

इजरायलका लागि अमेरिकाले सबैभन्दा धेरै अस्त्र तथा आधुनिक उपकरण आपूर्ति गर्दै आएको छ । सन् २०१९ देखि २०२३ मा इजरायलले प्रयोग गरेका हतियारमध्ये ६९ प्रतिशत अमेरिकाबाट निर्यात गरिएका थिए । हमासले वार्ता बारम्बार असफल हुनुमा इजरायललाई दोष दिँदै आएको थियो । मध्यस्थकर्ताको प्रस्ताव इजरायलले अस्वीकार गरेको वा तुरुन्तै नयाँ सैन्य कारबाही सुरु गरेको हमासको भनाइ थियो । तर इजरायल र उसको निकट सहयोगी अमेरिकाले भने युद्धविराम सम्झौता नहुनुमा हमास जिम्मेवार रहेको बताउँदै आएका थिए ।

पछिल्लो युद्धविराम सम्झौतालाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्ने जनाइएको छ । बीबीसीका अनुसार इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले सन् २०२३ नोभेम्बरमा भएको अस्थायी युद्धविरामजस्तै कुनै पनि सम्झौतालाई मतदानका लागि मन्त्रिपरिषद्मा पेस गरिने बताएका छन् । तर युद्धविराम सम्झौताका विषयमा इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्नो गठबन्धनभित्रबाट कडा विरोध सामना गर्नुपरिरहेको छ । नेतान्याहुकै लिकुड पार्टीका केही सदस्यले युद्धविरामको विरोध गर्दै पत्र पठाएका छन् ।

अल जजिराका अनुसार राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिर र अर्थमन्त्री बेजलेल स्मोट्रिच सम्झौताप्रति असहमति जनाएका छन् । तर कृषिमन्त्री एभी डिच्टरले अपहरणमा परेकालाई फिर्ता गर्ने सम्झौतामा गम्भीर र स्मोट्रिचको मत निर्णायक नहुने प्रतिक्रिया दिएका छन् । अमेरिकी दबाबसँगै इजरायल र लेबनानी संगठन हेजबुल्लाहबीच युद्धविराम भएका कारण पनि हमास युद्धविरामका लागि थप लचिलो बनेको देखिन्छ । इजरायल र हेजबुल्लाहबीच गत नोभेम्बर २७ मा युद्धविराम सम्झौता भएको थियो । (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश दिएको बताएका छन् । रूसी पूर्वराष्ट्रपति मेदवेदेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रूसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । तर ट्रम्पले ती पनडुब्बी कहाँ ...
। पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्ताहरूलाई जेल सजाय सुनाएको छ। उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्ध प्रदर्शनमा सहभागी भएको आरोपमा सजाय सुनाइएको हो। मे २०२३ मा भ्रष्टाचारको आरोपमा अदालतमा पेशीको क्रममा सुरक्षाकर्मीहरूले इमरान खानलाई गिरफ्तार गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू सुरु भएका थिए। बिहीबार आएको यो फैसला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का लागि ठूलो ...
। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छन्। क्यारोलिन लेविटका अनुसार, राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानसहित ६ वटा प्रमुख अन्तर्राष्ट्रिय संघर्ष अन्त्य गराएका छन् । प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अहिले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवाण्डा र रिपब्लिक अफ कङ्गो, भारत र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि नै त्यसलाई ९० दिनका लागि ...
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...