। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् ।
सरकारले जलविद्युत् उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढेको उनले बताए ।
‘जलविद्युत् उत्पादनमा समस्याहरू छन् । तर समस्याको समाधान सरकारले नै गर्ने हो । सरकार र निजी क्षेत्र मिलेर नै समस्या समाधान गर्ने हो । समृद्धि, सुशासन, रोजगारी सिर्जनाका लागि नै काम गर्ने हो,’ ऊर्जामन्त्री खड्काले भने, ‘सरकार र निजी क्षेत्रको लक्ष्य एउटै हो । निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह गर्न चाहन्छु ।’
सरकार निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने बताउँदै डर नमानी, खुट्टा नकमाई जलविद्युत्मा लगानी गर्न पनि उनले आग्रह गरे ।
जलविद्युत् उत्पादनमा समस्याहरू रहेको सरकारलाई जानकारी रहेको सुनाउँदै समस्याको समाधान सरकारले गर्ने पनि उनले बताए ।
‘निजी क्षेत्रका समस्याहरू सरकारले राम्रोसँग बुझेको छ । पीपीएका कुरा आएका छन् । पीपीए रोकिँदैन । सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए रोक्नुको कारण छैन,’ ऊर्जामन्त्री खड्काले भने, ‘सबै समस्याहरूको समाधान गरेर यो सरकार अगाडि जान्छ । नीतिमा सुधार गर्नुपर्छ भने सरकारले नीतिमा सुधार गर्छ । मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्यायौं । राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्नु पर्ने कारण छैन ।’