— दोलखाबाट काठमाडौं जाँदै गरेको मालवाहक ट्रकले शुक्रबार मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार लामोसाँघु जिरी सडकखण्डको सुनकोशी गाउँपालिका-७ अन्तर्गत पर्ने ८ किलोमा मधेश प्रदेश ०३ ०२ ख ०५३४ नम्बरको ट्रकको ठक्करबाट लिसंखुपाखर गाउँपालिका-७ डाँडापाखरका दावा छिरिङ तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकले ठक्कर दिएपछि तामाङको बा०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकलमा एक्कासी आगो लागेको थियो । मोटरसाइकलसहित तामाङ जलेको देखेपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । घटनालगत्तै त्यही मालवाहक ट्रकले बा प्र ०२-०४८ प ७५३९ स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त स्कुटीमा सवार भएका दुई घाइतेको बलेफी गाउँपालिका-७ स्थित खाडीचौर बजारस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै मालवाहक ट्रकका चालक फरार भएका थिए । तनहुँका ट्रक किरण शाहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जनाए ।
सडकमा स्थानीयको अवरोध
दुर्घटनामा स्थानीय युवाको ज्यान गएपछि आक्रोशित स्थानीयले भेला गरेर आठ किलोमा सवारीसाधन आउजाउ ठप्प पारेका छन् । लामोसाँघु-जिरी सडकखण्डको आठ किलोमा सडक अवरुद्ध भएपछि दोलखा र रामेछाप हिँडेका सवारीसाधन, यात्रु बीचैमा अलपत्र परेका छन् ।
जिल्लाबाट प्रहरी निरीक्षक किरण लामाको कमाण्डमा ११ सहित इप्रका जलविरे, बलेफी र मुडेबाट गरी ४० जना प्रहरी घटनास्थलमा खटिएका छन् ।