मुख्य समाचार
१५ मध्ये १० जना इन्जिनियरले जागिर छोडेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी काममा बाधा भयो: महानिर्देशक कट्टेल
१५ मध्ये १० जना इन्जिनियरले जागिर छोडेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी काममा बाधा भयो: महानिर्देशक कट्टेल

— सरकारी कार्यालयहरूमा कम्प्युटर इन्जिनियरलगायत सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति टिकाउन मुस्किल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताएका छन् ।

विभागमा अहिले १५ दरबन्दीमध्ये १० जना इन्जिनियरले जागिर छोडेर कोही विदेश गएको र कोही अन्य क्षेत्रमा प्रवेश गरेपछि ५ जनाले काम गरिरहेको उनले बताए । दर्ता तथा परिचयपत्र छपाइका कामहरू प्रभावकारी बनाउन दक्ष जनशक्तीको अभावले समस्या सिर्जना गरिरहेको उनको गुनासो थियो ।


शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुसाशन समितिले राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा गरेको छलफलका क्रममा महानिर्देशक कट्टेलले परिचयपत्र छपाइमा भइरहेको ढिलाइ र यसबारे सर्वसाधरणमा रहेको अन्योल हटाउन नसक्नुमा स्रोत-साधन र जनशक्तिको अभाव पनि कारण रहेको बताएका थिए । ‘हाम्रा इन्जिनियरहरूले बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने हुन्छ तर उनीहरूलाई पर्याप्त प्रोत्साहन भने छैन,’ कट्टेलले भने, ‘नेपाल सरकारको सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत रूपान्तरण नै गर्नुपर्ने देखिएको छ ।’

तलब, सुविधा र प्रोत्साहन आकर्षक नहुँदा आईटी क्षेत्रका जनशक्तीको रुचि यसतर्फ नहुने र सरकारी सेवा प्रवेश गरेकाहरू पनि बीचमै जागिर छोडेर विदेश पलायन हुन थालेपछि चुनौती थपिएको कट्टेलको अनुभव छ । सो क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले पनि आईटीमा स्नातक अध्ययनरत आफ्नै भान्जाले घर बसी-बसी महिनाको तीन लाख रुपैयाँ आम्दानी गर्ने गरेको उदाहरण दिँदै सरकारी सेवामा यत्तिको पारिश्रमिक नहुने भएकाले दक्ष जनशक्ति जुटाउन गाह्रो भएको धारणा राखे ।


‘अब हामीले के बुझ्नुपर्छ भने शाखा अधिकृत वा उपसचिवसरहको तलबमा आईटी विशेषज्ञहरूले काम गर्दैनन्,’ सांसद पन्तले भने, ‘क्षमताअनुसारको काम पाएनन् भने उनीहरू यहाँ बस्दा पनि बस्दैनन् । यो कुरालाई ध्यानमा राखेर सरकारले नीति बनाउनुपर्छ, क्षमताअनुसारको पारिश्रमिक उनीहरूलाई दिनुपर्छ ।’

महानिर्देशक कट्टेलले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए । हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको र ५५ लाखवटा कार्ड विभिन्न जिल्लामा पठाइएको पनि बताए । तथापि, हालसम्म २० लाख कार्ड मात्रै वितरण भएको उनको भनाइ थियो । देशभर परिचयपत्र वितरणलाई प्रभावकारी बनाउन झापा, चितवन, कञ्चनपुर, मोरङ र काठमाडौंमा तीव्र रूपमा काम भइरहेको दाबी गरे । मुगु, डोल्पा र हुम्लामा छरिएको बस्ती भएकाले विवरण संकलनको काम बाँकी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण दुरुपयोग नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागिरकको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताए । उनले जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई ...
— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसमध्ये मात्र १३.६७ प्रतिशत पूर्ण रूपमा कार्यान्वयन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनका लागि आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुँदा आयोगप्रति जनआस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । अध्यक्ष मगरले आयोगका ...
— वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गर्न लागिएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा मन्त्री शाहीले उक्त भनाइ राखेका हुन् । कार्यक्रममा मन्त्री शाहीले उपलब्ध अवसरहरू र स्वच्छ प्रविधिको उपयोग ...
— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद तोक्नुपर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् । संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद ...
— साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनमा चितवन प्रहरीले रवि लामिछाने, छविलाल जोशीलगायत १४ जनाविरुद्ध अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयमा प्रतिवेदन बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । सरकारी वकिलको कार्यालयको थप अनुसन्धान गर्नु भन्ने निर्देशनबमोजिम प्रहरीले पूरक अनुसन्धान गरेको हो । प्रहरी कार्यालयबाट ...