— गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण दुरुपयोग नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागिरकको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताए । उनले जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको पनि बताए ।
मन्त्री लेखकले सामाजिक सुरक्षा लगायतका सबै सेवाहरुको समुचित वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको निष्कर्षसहित सरकार अघि बढिरहेको बताउँदै भने, ‘डाटा लिक हुने समस्या र सर्भरमा आउने समस्यामा सरकार गम्भिर छ ।’ उनले राज्यले नागरिकका सबै डाटाहरु सरकारले नराख्ने हो भने को नागरिक कहाँ छ ? उसको आमाबुबाको नाम के हो ? घर कहाँ हो भन्ने जानकारी सरकारलाइ नहुने बताए ।
सरकारले नागरिकको विवरण दुरुपयोग हुन नदिने र व्यक्तिको विरुद्ध र गोपनीयताको खिलाप डाटाहरु प्रयोग नहुने विश्वास दिलाए । उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कि नगर्ने भन्ने प्रश्न पेचिलो रहेको बताउँदै भने, ‘अनिवार्य नगर्ने हो भने वितरण हुँदैन । गर्ने हो भने कतिपय नागरिकलाई दुःख भइरहेको छ ।’