मुख्य समाचार
ईसीएफको पाँचौं समीक्षामा आईएमएफसँग सहमति, नेपालले थप साढे ५ अर्ब लिन पाउने
ईसीएफको पाँचौं समीक्षामा आईएमएफसँग सहमति, नेपालले थप साढे ५ अर्ब लिन पाउने

। नेपाल सरकार र अन्तर्राष्ट्रिय मुद्राकोषबीच विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत हुने आर्थिक सुधारको पाँचौं समीक्षामा कर्मचारीस्तरमा सहमति भएको छ । यससँगै नेपालले आईएमएफसँग लिएको ऋणको पाँचौं किस्ताबापतको ४ करोड ६ लाख अमेरिकी डलर (करिब ५ अर्ब ६० करोड रुपैयाँ) निकाल्न पाउने भएको छ ।

कर्मचारीस्तरमा भएको सहमति आईएमएफको कार्यकारी बोर्डले स्वीकृत भएपछि मात्रै लागू हुनेछ । खासगरी नेपालले प्रतिबद्धता गरेअनुरुप देशका १० ठूला बैंकको ऋण पोर्टफोलियो समीक्षा सुरु गर्न महत्वपूर्ण कदम चाल्नुका साथै आर्थिक सुधारको गतिलाई कायम गरेको अवस्थामा मात्रै आईएमएफको कार्यकारी बोर्डले ईसीएफको समीक्षालाई निष्कर्षमा लैजाने जनाइएको छ ।




सारवत जहाँको नेतृत्वको आईएमएफको टोलीले २४ पुसदेखि ६ माघसम्म नेपालको भ्रमण गरेको थियो । टीमले नेपालको अधिकारीहरुसँगको छलफलपछि समीक्षामा कर्मचारीस्तरमा सहमति भएको जनाएको हो ।

नेपालले विदेशी मुद्राको अभाव झेलिरहेको बेला १२ जनवरी २०२२ मा आईएमएफले नेपाललाई २८ करोड २४ लाख स्पेसल ड्रइङ राइट (एसडीआर) अर्थात ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर निर्ब्याजी ऋण सुविधा दिने निर्णय गरेको थियो । यसलाई विस्तारित कर्जा सुविधा (ईसीएफ) भनिएको छ । यसरी नेपालले आईएमएफसँग ऋण लिंदा विभिन्न आर्थिक सुधार गर्ने भन्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसमध्ये बाह्य प्रतिष्ठित लेखापरीक्षकबाट नेपालका १० वटा ठूला बैंकको ऋणको पोर्टफोलियो समीक्षा (एलपीआर) गर्ने तथा नेपाल राष्ट्रबैंक ऐनमा संशोधन गर्ने विषयमा अपेक्षित प्रगति नभएको आईएमएफको गुनासो रहेको सरकारी अधिकारीहरु बताउँछन् ।



आईएमएफको अहिलेको मिसनले पनि एलपीआर र सुधारको गतिमा ठोस प्रगति भएपछि मात्रै पाँचौं समीक्षा बोर्डले पारित गर्ने उल्लेख गरेको छ । ‘नेपालले ईसीएफअन्तर्गतका कार्यक्रमको कार्यान्वयनमा प्रगति हासिल गरिरहेको छ । राजस्व संकलन र बालकल्याणको अनुदानका सांकेतिक लक्ष्यहरुबाहेक सन् २०२४ को जुलाई अन्त्यमा हासिल हुनुपर्ने तथ्यांकीय लक्ष्यहरु हासिल भएका छन्,’ मिसन प्रमुख जहाँले नेपाल भ्रमण सम्पन्न भएपछि जारी गरेको वक्तव्यमा भनेकी छन्, ‘२०२४ को अन्त्यसम्ममा हासिल हुनुपर्ने संरचनात्मक मापदन्डहरुको कार्यान्वयनमा गति आएको छ, तर केही क्षेत्रमा सुधारहरु अझै जारी छन् ।’

पाँचौं समीक्षअन्तर्गत सम्पन्न भएका प्रमुख सुधारहरुमा सम्पत्ति शुद्धीकरण निवारण कानूनमा संशोधन, सार्वजनिक संस्थानहरुको वित्तीय निगरानीको सबलीकरण तथा अन्तर्राष्ट्रिय अनुभव भएका र अन्य केन्द्रीय बैंकको लेखापरीक्षण गरेका विज्ञहरुसमेतद्वारा नेपाल राष्ट्रबैंकको आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरणको लेखापरीक्षण रहेको आईएमएफले जनाएको छ ।

ठूला १० वाणिज्य बैंकको एलपीआर गर्न यसअघि सुरु गरिएको खरिद प्रक्रिया स्थगित भए पनि नेपाल राष्ट्र बैंक त्यो काम गर्न प्रतिबद्ध रहेको र त्यसका लागि स्वतन्त्र अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने प्रक्रिया पुनः सुरु भएको पनि आईएमएफले जनाएको छ ।

केन्द्रीय बैंकको स्वायत्तता र सुशासनलाई वृद्धि गर्न नेपाल राष्ट्रबैंक ऐनको संशोधन महत्वपूर्ण भएको आईएमएफको भनाइ छ ।

बाढीपहिरोले आर्थिक पुनरुत्थानमा अवरोध आयो

गत असोजमा गएको बाढीपहिरोका कारण गत आर्थिक वर्षबाट सुरु भएको नेपालको आर्थिक पुनरुत्थानमा अवरोध आएको आईएमएफले जनाएको छ । ‘त्यो बाढीपहिराले अर्थतन्त्रका प्रमुख क्षेत्रहरुमा गम्भीर क्षति पुर्‍यायो जसका कारण कमजोर अवस्थामा रहेको आन्तरिक मागलाई अझै कमजोर बनायो । बाढीका कारण खाद्यान्नको मूल्यमा वृद्धि हुँदा डिसेम्बरमा मुद्रास्फीति ६.१ प्रतिशत पुग्यो,’ जहाँले आफ्नो विज्ञप्तिमा भनेकी छन् ।

महामारीपछिको ‘क्रेडिट–बुम’बाट सुधार हुँदै जाँदा वित्तीय क्षेत्रको जोखिम बढ्दै गएको पनि आईएमएफले जनाएको छ । बैंकिङ क्षेत्रको खराब कर्जा साढे ४ प्रतिशत पुग्नु र वित्तीय सहकारीहरुको अवस्था बग्रँदै जानु यसको संकेत भएको उनले जनाएकी छन् ।

तर, तालू आर्थिक वर्षमा आर्थिक वृद्धिमा सुधार आई ४ प्रतिशत पुग्ने अपेक्षा पनि आईएमएफले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गुगलको पिक्सल १० सिरिजको डिभाइसले एप्पलको एयरड्रप पनि सर्पोट गर्नेछ । एन्ड्रोइडबाट आइफोन र आइफोनबाट एन्ड्रोइडमा सिफ्ट हुनु धेरैका लागि कठिन हुन्छ । मुभ टु आईओएसजस्ता एप्सले पहिलेको दाँजोमा डाटा ट्रान्सफरलाई केही सहज बनाइदिएका छन्, तर अझै पनि केही कठिनाई कायम छन् । पुरानो फोनबाट नयाँमा डाटा ट्रान्सफर गर्नमै घण्टौं लाग्नसक्छ । तर अब यी सबै ...
। नेपाल उद्योग परिसंघ (सीएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवम् समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर १३ (२७ मंसिर) शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रबर्द्धन, स्वदेशी उद्योग ...
चैते धान उत्पादनमा वृद्धिमात्र होइन, क्षेत्रफल र उत्पादकत्वमा समेत उल्लेख्य वृद्धि भएको सरकारी तथ्यांक
— आन्तरिक रूपमा मालवस्तु ढुवानीमा कर तथा शुल्क नलगाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रदेश सरकार र स्थानीय तहले एक प्रदेशबाट अर्को प्रदेश वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै पनि किसिमको कर र शुल्क लगाउन पाउने कानुनी व्यवस्था नहरेको भन्दै संघीय सरकारको ...
— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका ...