— सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट कारागारमा मारिएका दुई कैदीबन्दीका परिवारले राहत तथा क्षतिपूर्ति पाएका छन् । २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले डेढ वर्षपछि राहत तथा क्षतिपूर्ति बापत जनही ५ लाख पाएका हुन् ।
जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिट मृत्यु भएको थियो ।
सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका मादी–५ का तोलाङगी र नुवाकोटको ककनी –७ का बलामीको परिवारले ५–५ लाख रुपैयाँ राहत तथा क्षतिपूति लिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।
पीडित परिवारले १० लाख रुपैयाँ राहत तथा क्षतिपूर्ति माग गरेपनि गृह मन्त्रालयबाट ५ लाख रुपैयाँ मात्र प्राप्त गरेको साहयक प्रजिअ घिमिरेले बताए । कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागार भित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देखिएको थियो ।
दुई जना कैदीको कुटपिटपछि हत्या घटनामा संम्लग्न भएको आरोपमा सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा २०८० भदौ २७ गतेको आदेशले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश भएको थियो । यो मुद्दा डेढ हालसम्म बित्दा समेत फैसला हुन सकेको छैन ।