मुख्य समाचार
दाहालद्वारा प्रस्तुत तीस पृष्ठको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरे
दाहालद्वारा प्रस्तुत तीस पृष्ठको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरे

माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको भर्खरै सम्पन्न छैटौं पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत तीस पृष्ठको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । अध्यक्ष दाहालले छैटौं बैठक रूपान्तरण, एकता र विजयको बैठक बन्न पुगेको संश्लेषण गर्नुभएको छ ।


यसअघि पार्टीका उपमहासचिवद्वय हरिबोल गजुरेल र जनार्दन शर्माले लिखित पूरक मत राख्नुभएकामा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनले मूलभूत विषय सम्बोधन गरेकाले उहाँहरू दुवैले सो प्रतिवेदनलाई समर्थन गर्नुभएको छ ।


अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको शीर्षक नै ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प, आजको आवश्यकता’ रहनुले बैठकको मुख्य जोड पार्टी रूपान्तरण नै हो भन्ने भावलाई अभिव्यक्त गरेको छ । पछिल्लो सरकारमा रहँदा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा महाअभियान चलाएको पार्टी र त्यसका नेता कार्यकर्ता आफैं पनि रूपान्तरण हुनुपर्ने आवश्यकतामा बैठकले जोड दिएको छ ।

पहिलो चरणमा पार्टी केन्द्रीय समितिदेखि प्रदेश पदाधिकारीसम्मकाले आफ्नो सम्पत्ति र आयस्रोतसहितको विवरण पार्टीमा पेस गर्नुपर्ने, त्यसलाई लेखा परीक्षण आयोगले अध्ययन तथा छानबिन गर्ने र गलत देखिएमा कारबाहीको सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । राजनीतिक दलको सन्दर्भमा गर्न खोजिएको यस नयाँ थालनीले पार्टी रूपान्तरणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा छ ।

नेता–कार्यकर्ताको जीवनशैली, रहनसहन र आचरण सर्वहारावर्गीय मान्यता अनुरूप हुनुपर्नेमा सबैको जोड रहेको छ । यससँगसँगै बैठकमा सहिद परिवार, बेपत्ता परिवार, जनयुद्धका घाइते तथा अपांगता भएका योद्धाहरूको हेरचाह, संरक्षण र सम्मानमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवाज उठेको छ ।

संघ र प्रदेश सरकारमा नभए पनि १२३ स्थानीय सरकार प्रमुख जितेको माओवादीले त्यसलाई नमुनाका रूपमा महत्त्वका साथ हाँक्ने विषयलाई विशेष जोड दिएको छ । हरेक स्थानीय सरकारमा समाजवादका भ्रूणको खोजी गर्न समाजवाद उन्मुख स्थानीय सरकारको साझा घोषणापत्र जारी गरिने प्रतिबद्धता जनाइएको छ ।

महाधिवेशनको बहस




माओवादी केन्द्रको आठौं महाधिवेशन २०७८ पुस ११–१८ र २०८० फागुन १–३ मा प्रथम विधान अधिवेशन सम्पन्न भएको थियो । यस बैठकमा नियमित नवौं महाधिवेशनमा वा विशेष महाधिवेशनमा जाने भन्नेमा पनि सघन बहस चलेको थियो । यस सम्बन्धमा स्वयं अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा नै बहस खुला गरिएको थियो ।

व्यापक छलफल पश्चात् पहिलो ६ महिना ‘जनतासँग माओवादी’ अभियान सञ्चालन गर्ने र दोस्रो ६ महिनामा नियमित महाधिवेशनमा जाने तय भएको छ । आठौं महाधिवेशनमा प्रस्तुत र पारित ‘समाजवादको नेपाली बाटो’ लाई अझ व्यापक बहस, छलफल र अन्वेषणपछि विचार संश्लेषण गर्ने र प्रथम विधान महाधिवेशनबाट पारित संगठनात्मक संरचना अनुसार प्रत्यक्ष निर्वाचनबाट नेतृत्व निर्वाचित गर्ने तय भएको छ । यसरी हेर्दा २०८२ सालको मंसिर–पुसमा नवौं महाधिवेशन सम्पन्न गर्ने गरी यो विषय टुंगो लागेको छ ।

यस पटकको माओवादी केन्द्रीय समिति बैठकमा विगतमा माओवादीबाटै विभाजित भएका विप्लव नेतृत्वको नेकपासहितका घटकसँगको एकताको विषयले पनि यथेष्ट स्थान पायो । विगतमा फरकफरक स्कुलिङ भएका पार्टीसँग पर्याप्त तयारी र छलफलबिना गरिएको एकता दिगो हुन नसकेको कटु अनुभवसहित समान स्कुलिङ र विचार मिल्ने घटकसँगको एकतालाई प्राथमिकतामा राख्नेमा सहभागीको जोड थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्र राय यादव नेतृत्वको नेसपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), प्रभु शाह नेतृत्वको आम जनता पार्टीसँग एकताका निम्ति उच्चस्तरीय एकता संवाद समिति बनाउने निर्णय बैठकले लिएको छ । तत्कालका लागि माओवादी घटकसँगको एकतामा जोड दिए पनि क्रमिक रूपले समाजवादतिर जान चाहने अन्य वाम तथा प्रगतिशील शक्तिसँगको एकताका लागि पनि छलफल खुला राखिएको छ ।

बहसमा जेन–जी

विश्वका अन्य मुलुक जस्तै नेपालमा जेन–जी पुस्ताले जबर्जस्त रूपमा समाजमा आफ्नो भूमिका र प्रभाव बढाउँदै लगेको देखिन्छ । यो यस्तो पुस्ता हो जो मानव समुदायले आविष्कार गरेका नवीनतम सूचना प्रविधिबाट अभूतपूर्व रूपमा शिक्षित, दीक्षित र प्रभावित छ । जेन–जी पुस्ता एकप्रकारले सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्राम, टिकटक पुस्ता हो ।

हिजोको पुस्ताले समाजमा घटेका घटना, अन्तर्विरोध र परिवेशका आधारमा धारणा बनाउँथ्यो । तर जेन–जी पुस्ताले समाजमा भन्दा पनि सामाजिक सञ्जालमा आउने बहस, तरंग र तुफानका आधारमा दृष्टिकोण निर्माण गर्दछ । यसले समाजका परम्परागत मानकहरू क्रमशः भत्कँदै गएका र नयाँ नयाँ मानकहरू स्थापित हुँदै गएका छन् । यो पुस्ताका लागि हिजोको अर्थशास्त्र, हिजोको समाजशास्त्र र हिजोको राजनीतिशास्त्रका मानकहरूले काम गर्न छाड्दै गएको देखिन्छ ।

यसको सबभन्दा ठूलो प्रभाव राजनीतिक प्रणाली र निर्वाचनहरूमा देखिन थालेको छ । ०७९ को आमनिर्वाचनमा जेन–जी पुस्ताको उदयसँगै थुप्रै परिघटनाहरू देखापरे । नयाँ नयाँ राजनीतिक दल र नेतृत्वको रातारात उदय भयो । यो विगतमा दल र नेता जन्मने तरिका विल्कुल भिन्न थियो । वर्षार्ैं जेल बसेका, लामो संघर्ष गरेका र पार्टी जीवनको शृंखलाबद्ध अभ्यास गरेका मानिस नेता बन्ने चलन ०७९ को चुनावमा एकहदसम्म भत्कियो । सामाजिक सञ्जालका विभिन्न माध्यममा छाएका मानिसहरू रातारात नेता भए । जेन–जी पुस्ताको चासो र हस्तक्षेपले चुनावलाई विभिन्न तरहले प्रभावित गरेको देखियो ।

आगामी ०८४ सालको चुनावमा जेन–जी पुस्ताको हस्तक्षेप अझ बढेर जानेछ । उनीहरू आफू स्वयं मात्र होइन आफ्नो परिवार र समाजलाई समेत प्रभावित गर्ने ठाउँमा पुग्नेछन् । तर उनीहरूले पार्ने प्रभाव सकारात्मक नै मात्र हुन्छ भन्ने ग्यारेन्टी चाहिँ छैन । यो पुस्तामा हुर्किएको एउटा डरलाग्दो मनोवृत्ति के हो भने यो पुस्तालाई सत्य र तथ्यभन्दा बढी ‘भाइरल’ विषयले गाँजिरहेको देखिन्छ । यसका नकारात्मक आयामबाट बच्नका लागि सूचना प्रविधि साक्षरता, मिडिया साक्षरता र डिजिटल साक्षरता बढाउनु आवश्यक छ ।

विगतमा युवा पुस्ताको राजनीति र निर्वाचनमा चासो कम थियो । तर जेन–जी पुस्ताको आगमनसँगै राजनीति र निर्वाचनमा युवा सहभागिता र सचेतना गुणात्मक रूपले बढेको छ । जेन–जी पुस्ताले आगामी चुनावमा धेरैको हिसाब बिगार्न सक्छ र नयाँ–नयाँ हिसाब कायम गर्न सक्छ ।

जेन–जी पुस्ता आफूले सोचेजस्तो र खोजेजस्तो समाज र राजनीति चाहन्छ । यसै पृष्ठभूमिमा जनयुद्ध नदेखेको, नभोगेको यो पुस्तासँग कसरी आफ्नो विचार, राजनीति र नेतृत्व स्थापित गर्ने भन्ने सवालमा पहिलो पटक महत्त्वपूर्ण छलफल भएको छ । अध्यक्ष दाहालको प्रतिवेदनले यस विषयलाई प्राथमिकताका साथ समेटेको छ ।

– बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको जानकारी गराएका छन् । सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले सरकारले सार्वजनिक संस्थाहरू सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत् प्राधिकरण जस्ता संस्थाहरूमा सर्वसाधरणको स्वामित्व २५ प्रतिशत ...
। पूर्वसांसद राधेश्याम अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्थामा सुधार आउन आवश्यक रहेको बताएका छन् । सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राज्यका तीन अंगमध्ये कार्यपालिकाको हातमा डाडु पन्युँ छ । तर संसद्ले एउटा पुस्तकसम्म निकाल्न नसक्ने अवस्था छ । यो अवस्था घिनलाग्दो हो’, ...
— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका ...
। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्तर्घात कांग्रेसको महारोग बनेको बताएका छन् । कांग्रेसमा वर्षौंदेखि झांगिएको अपराधपूर्ण अन्तर्घातले मात्र पार्टीलाई निर्वाचनमा बहुमत ल्याउन रोक्ने गरेको उनको भनाइ छ । नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा गरेको ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रममा उपसभापति खड्काले अन्तर्घातले कांग्रेसले गाँजेको बताएका हुन् । ‘अन्तर्घात कांग्रेसको ...
। नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । ‘१२ फागुनदेखि झापाको कचनकवलबाट अभियान सुरु गर्दैछौं, यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ’, सापकोटाले भने । २१ देखि २३ ...