मुख्य समाचार
रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली
रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली

— भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन् । तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुईको ठेगाना बिहीबार साँझसम्म खुलिसकेको छैन ।


मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी छन् । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।


घटनास्थलमा रहेकी पत्रकार ललिता मलाती सिंहका अनुसार घाइते अछाम मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए । रेलवे अधिकारीका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए । त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।

कलबजार–४ चाल्साकी ६० वर्षीया जयकला भारतमा बस्ने छोराबुहारीले उपचारका लागि बोलाएपछि आइतबार अछामबाट महाराष्ट्रका लागि गएकी थिइन् । पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम उनका माइतीतिरका नातेदार हुन् । उनै नन्दारामको साथ लागेर छोराबुहारी र नाति भेट्न गएकी जयकला बुधबार रेल दुर्घटनामा परिन् ।

५ छोरा र ४ छोरी भएकी जयकला वर्षौंदेखि पेट दुख्ने समस्याले पीडित थिइन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न पाएकी थिइनन् । एक बुहारी र एक नाति अछाममा छन् भने उनका बाँकी सबै सन्तान रोजगारीका लागि भारतका विभिन्न ठाउँमा छरिएर बसेका छन् ।

छोराबुहारी र छोरीज्वाइँसँग उनको भेट नभएको करिब ५ वर्ष भइसकेको थियो । एकातिर सन्तान भेट्ने इच्छा र अर्कोतिर वर्षौंदेखि सताइरहेको रोगको उपचार गर्न भनेर हिँडेकी जयकला गन्तव्यमा भने पुग्न सकिनन् ।




घटनास्थल पुगेका ज्वाइँ राजु विश्वकर्माका अनुसार बिहीबार साँझ जयकलाको शव परिवारले बुझेको छ । ‘छोराहरू कोही महाराष्ट्रमा टाढाका सहरमा छन्, कोही हिमाञ्चल प्रदेशबाट आउँदै छन्, म घटनास्थल आइपुगेको छु,’ राजुले फोनमा भने, ‘यतै उपचार गर्ने, ५/६ महिना बसेर सबै सन्तानसँग भेट्ने भनेर आउनुभएको थियो, सन्तानको मुखसमेत हेर्न पाउनुभएन ।’ सबै परिवार जम्मा भएर महाराष्ट्रको भिउन्डीमा दाहसंस्कार गर्नेबारे छलफल भइरहेको उनले बताए ।

कैलाली मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारीले ९ वर्षअघि श्रीमान् गुमाएकी थिइन् । त्यसपछि छोराछोरीको पालनापोषणको जिम्मेवारी उनीमाथि थपियो । छोराछोरी र परिवारको खर्च धान्न सक्ने अवस्था भएन । गाउँका मान्छेको भरोसामा श्रीमान्को मृत्यु भएको केही समयपछि उनी भारतको महाराष्ट्रमा कामको खोजीमा गइन् । त्यसयता उनले भारतमा बेबी केयरको काम गर्दै छोराछोरी पढाइन् ।

यतिखेर कान्छा छोराबुहारी काठमाडौंमा जागिर गर्दै पढिरहेका छन् । जेठा छोरा तपेन्द्र नेपाल र भारत दुवै देशमा सामान सप्लाई गर्ने एक कम्पनीमा काम गरिरहेका छन् । आफन्त भेटेर उही कर्मभूमिमा फर्कने क्रममा उनी रेल दुर्घनामा परेकी हुन् ।

‘एक महिना अघि हजुरबुबाको मृत्यु भयो, आमा काजकिरियाका लागि घर जानुभयो । सबै काम सकेपछि कान्छा छोराबुहारीलाई पनि भेट्न भनेर काठमाडौं पनि पुग्नुभएको थियो,’ घटनास्थल जलगाउँबाट कान्तिपुरको सम्पर्कमा आएका छोरा तपेन्द्रले भने, ‘काठमाडौंमा सबै परिवार भेटेर त्यतैबाट नेपालगन्ज जानुभयो । रुपैडिया हुँदै लखनउबाट रेल चढेर आउन लाग्नुभएको थियो । एक बजेतिर आमासँग अन्तिम पटक कुरा पनि भएको थियो । ५ बजे रेल दुर्घटनामा पर्नुभयो ।’

वर्षौंसम्म अर्काको देशमा दुःख गरेर सन्तान हुर्काएकी कमला केही समय काम गरेर नेपालमा आफ्नै छोराबुहारीसँग बस्न चाहन्थिन् । ‘बुबा बितेपछि हामीलाई पढाउन हुर्काउन आमा परदेशी हुनुभयो । महिला मान्छे अर्काको देशमा काम गर्न आउनु सजिलो पक्कै थिएन । अब त आमालाई सुखमा राखौंला भन्ने सोचेका थियौँ,’ तपेन्द्रले भने ।

श्रीमती र छोरासहित ज्यान गुमाएका नन्दारामका माइला दाजु पैला विकको पनि एक वर्षअघि काम गर्दागर्दै ४६ वर्षको उमेरमा भारतमै मृत्यु भएको थियो । जेठा दाजु बृकिसे विक पनि भारतमै लामो समयसम्म बिरामी भइरहे । रोग पत्ता नलागेपछि बिरामी अवस्थामा भारतबाट फर्केका उनको घरमा मृत्यु भएको थियो । ५ वर्षमा लगातार विक परिवारले ५ सदस्य गुमाइसकेको छ ।

भाइ दशरथ विकका अनुसार नन्दाराम श्रीमती र छोरालाई लिन भारतबाट नेपालगन्जसम्म आएका थिए । अछामबाट करिब १२ जनाको साथमा नन्दारामकी श्रीमती मैसरा छोरालाई लिएर नेपालगन्जसम्म झरेकी थिइन् ।

‘सोमबार भाउजूसहित १२ जना अछामबाट भारत जाने भनेर गएका हुन् । लामो बाटोमा बच्चासँग यात्रा गर्न गाह्रो हुन्छ भनेर दाजु नेपालगन्जसम्मैं लिन आउनुभएको थियो,’ दशरथले भने, ‘दाजुको परिवारका तीन जना र अर्की कमला भाउजूका दुई छोराछारी गरी ६ जना पुष्पक रेलमा चढेर महाराष्ट्र लागेका थिए भने अरू गुजरात जान अर्को रेलमा चढेका थिए ।’ नन्दारामको परिवारबाहेक अरूलाई केही नभएको उनले बताए ।

नन्दारामका एक छोरा सुर्खेतमा पढिरहेका छन् भने अरू छोरा कामको खोजीमा भारतमै रहेको उनले बताए । घटनास्थलमा रहेकी पत्रकार सिंहका अनुसार रेलवे विभागले तत्काल मृतकका परिवारलाई १ लाख ५० हजार र राज्य सरकारले ५ लाख भारु दिने घोषणा गरेको छ ।

दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले घटनालगत्तै भारतीय अधिकारीसँग दूतावास सम्पर्कमा रहेको बताए । घटनामा ज्यान गुमाएका व्यक्तिको शवलाई उनको परिवारसम्म पुर्‍याउने कामका लागि समन्वय भइरहेको जानकारी उनले दिए । भारतीय अधिकारीले शवलाई परिवारसम्म पुर्‍याउने आफ्नो जिम्मेवारी रहेको बताएको दूतावासमा कन्सुलर रहेका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले बताए ।

‘घटना हुँदा सुरुमा ४ नेपालीको मृत्यु भएको सूचना आएको थियो, पछि त्यो संख्या ७ पुगेको जानकारी आएको छ,’ कन्सुलर शर्माले भने ‘भारत सरकारले घोषणा गरेको मृतकका परिवारलाई दिने भनिएको क्षतिपूर्ति नेपाली पीडित परिवारले पनि पाउनुपर्ने विषयमा दूतावासले पहल गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...