मुख्य समाचार
ओमान पुगेकी युवतीको रहस्यमय मृत्यु, एजेन्ट प्रहरी फन्दामा
ओमान पुगेकी युवतीको रहस्यमय मृत्यु, एजेन्ट प्रहरी फन्दामा

: बर्दिया स्थायी घर भई काठमाडौं टोखा बसाइँ सरेका विनोद पौडेल हाल प्रहरी हिरासतमा छन्। वैदेशिक रोजगारीको लागि भन्दै कहिले दुबई त कहिले ओमान पुग्ने पौडेललाई एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ गरिएको हो। उनलाई इन्टरपोलबाट रेड नोटिस जारी गरी पक्राउ गरिएको हो।


एनसीबी काठमाडौंको अनुरोधमा उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट यही पुस १२ गते रेड नोटिस जारी गरिएको थियो। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरी अनुसन्धान भइरहेको छ। पौडेल हाल नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा छन्। मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी ओमबहादुर रानाका अनुसार उनीसहित अन्य चार जनाको समूहले स्याङ्जाकी २२ वर्षीया युवतीलाई भिजिट भिसामा दुबई हुँदै ओमान पुर्‍याएर बेचबिखन गरेको उजुरी प्राप्त छ।

एसएसपी रानाका अनुसार दुबई हुँदै ओमान पुगेकी ती युवतीको एजेन्टको निगरानी रहेकै अवस्थामा मृत्यु भएको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। ओमान पुगेर काम नपाई एजेन्टले बन्धक बनाएको अवस्थामा गत भदौ १७ गते युवतीको मृत्यु भएको थियो। उनी २०८० फागुन ७ गते भिजिट भिसामा दुबई हुँदै ओमानका लागि गएकी थिइन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका विनोद पौडेललाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको हो।




प्रहरीका अनुसार स्याङ्जाकी २३ वर्षीया जमुना कुमाललाई दलालहरूले महिनाको ४० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै प्रलोभन दिएर ओमान पुर्‍याएका थिए। टन्न पैसा कमाउने सपना देखेर विदेश उड्दा उनीसँग दुबईको भिजिट भिसामात्रै थियो। उनीसँग कुनै पनि देशका काम गर्ने श्रम स्वीकृति भने थिएन। घुम्न भनेर दुबई उडेकी जमुना ७ महिना विदेशको कष्टकर बसाइपश्चात् उतै अस्ताइन्। ६ महिनासम्म उनले काम नपाएको भन्दै परिवारलाई फोन गरिरहन्थिन्। घर फर्काउन भन्दै फोनमा गुहारिरहन्थिन्। घरमा फोन गरेको थाहा पाए, कहिले नेपाली एजेन्ट त कहिले ओमानी एजेन्टले उनको फोन खोसिदिने गर्थे। नेपाल फर्कनको लागि डेढ लाख रुपैयाँ लाग्छ भन्दै धम्काउथे।

स्याङ्जामा रहेका जमुनाका परिवारले एजेन्ट सन्तोष लोप्चनमार्फत विनोद पौडेलको खातामा एक लाख रुपैया जम्मा गरेका थिए। पैसा पठाएपश्चात् विनोदले तीजसम्म जमुना घर फर्कने जानकारी गराएका थिए। तर तीज आउनु तीन दिनअघि नै जमुनाको मृत्यु भएको खबर परिवारले पाएको थियो। भर्‍याङबाट हाम्फालेर आत्महत्या गरेको भन्ने खबर परिवारले पाएको थियो। परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार जमुनाको मृत्यु एजेन्टले बन्धक गराएको अवस्थामा आत्महत्या गरेको भनिएको छ। आत्महत्या नै गरेको भन्ने कुनै पुष्टि, प्रमाण भने उनका परिवारले पाएका छैनन्। मानव बेचबिखन ब्युरोका प्रमुख ओमबहादुर राना भन्छन्, भिजिट भिसामा जाने र दुःख पाउने महिलाहरूको संख्या अत्यधिक छ।

नेपालबाट श्रम स्वीकृति लिएर नगएको अवस्थामा नेपाल सरकारले पनि थप केही अनुसन्धान गर्न सक्ने अवस्था छैन। एसएसपी राना भन्छन्, ‘हत्या हो या आत्महत्या विदेशमा गएर अनुसन्धान गर्न असम्भव प्रायः छ। उनलाई विदेश पुर्‍याउने एजेन्ट सन्तोष लोप्चनलाई पनि प्रहरीले गत पुस २४ गते पक्राउ गरेको छ।’ बेचबिखनमा संलग्न भएका अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेको समूहले नेपाल दुबई, कुवेत, ओमान आउजाउ गर्ने र भिजिट भिसाको नाममा मानव बेचबिखन गर्दे आएको अनुसन्धानका क्रममा खुलेको छ।

विदेशमा काम नपाएपछि आत्महत्याको बाटो

सरकारले खाडी मुलुकमा काम गर्न जान नेपाली महिलालाई रोक लगाएको छ। तर वैदेशिक रोजगारीका लागी विदेश जाने महिलाको संख्या बढेसँगै धेरै युवती तथा महिलाहरू भिजिट भिसामै दुबई जाने र उतै लुकेर काम गर्ने प्रवृत्ति बढ्दो छ। यस्ले गर्दा उनीहरू घरेलु हिंसामा पर्ने, यौन हिंसामा पर्ने, आर्थिक हिंसामा पर्ने तथा अनेक समस्यामा पर्ने घटना बढ्दो क्रममा छ। विदेश गएर आत्महत्या गर्ने जमुना एक उदाहरण हुन्। त्यस्तै मृत्यु धेरै नेपाली नागरिकको भएको छ। भिजिट भिसामा जाँदा पनि पैसा तिरेर जाने र उता गएर काम नपाउँदा फर्कनसमेत एजेन्टलाई पैसा बुझाएर आउनुपर्ने हुँदा नेपालीहरू दोहोरो मारमा पर्ने गर्छन्।

गत वैशाखमा ओमान पुगेकी धादिङ धुनिबेंसीकी २३ वर्षीया सुनिता तामाङ पनि जिउँदो फर्कन सकिनन्। यही मंसिर ९ गते उनले ओमानमा नै आत्महत्या गरेको खबर परिवारमा पुग्यो। उनको शव नेपाल ल्याउनको लागि परिवारले पाएको दुःख भनिसाध्य छैन। यस्तै गत फागुनमा कुबेत पुगेकी मोरङ केराबारीकी करिशा राई पनि जिउँदो फर्कन पाइनन्। कुबेतमा काम नपाएर निकै हण्डर र ठक्कर खाएकी उनको उतै रहस्यमयी मृत्यु भयो।

नेपाल सरकार वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम खनालका अनुसार श्रम स्वीकृत नलिई विदेश जाने नेपालीको कुनै पनि रेकर्ड सरकारसँग हुँदैन। बोर्डको तथ्यांकअनुसार आव २०८०/०८१ मा वैदेशिक रोजगारीमा विभिन्न देश गएर मृत्यु भएकामध्ये १ हजार ३ सय ४६ जनाको परिवारले क्षतिपूर्ति लिएका छन्। यस्तै १ सय ८३ जनाको उद्धार तथा खोजतलास भएको छ। ७ सय ७५ वटा शव ढुवानी गर्नका लागि बोर्डले समन्वय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...
: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको ...
: हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल ...
: दुई वर्षअघि इजरायलमा कृषि अध्ययनका लागि आएका नेपाली विद्यार्थी समूहको पहिलो दिनको तस्बिर अहिले एक सम्झना बनेको छ। सो समूह इजरायलको परराष्ट्र मन्त्रालयको कृषि लाभान्वित परियोजना अन्तर्गत एसजीओटी जीभ लाभान्वित केन्द्रमार्फत आएको थियो। त्यो दिन इजरायली प्रशिक्षक र अधिकारीहरूले उनीहरूलाई उत्साहका साथ स्वागत गरेका थिए। उनीहरू हर्ष, जिज्ञासा र भविष्यप्रतिको आशाले भरिएका युवा थिए। तर, ...