मुख्य समाचार
आक्रामक ट्रम्प : अनधिकृत आप्रवासीको सामूहिक निष्कासन सुरु
आक्रामक ट्रम्प : अनधिकृत आप्रवासीको सामूहिक निष्कासन सुरु

— डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) कार्यालयका अनुसार ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा २ हजार ६ सय ८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् ।

ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । उनको घोषणासँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरिएको छ । रक्षा मन्त्रालयले थप १० हजार सैनिक खटाउने तयारी गरिरहेको छ ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अमेरिकामा ३ लाखभन्दा बढी नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाखले ग्रिनकार्ड र करिब ८७ हजारले नागरिकता प्राप्त गरेका छन् । २० हजार विद्यार्थी छन् भने २० हजारले शरणार्थीका रूपमा आवेदन दिएका छन् । साथै ७ हजार ५ सयले अस्थायी आवासीय अनुमति पाएका छन् । त्यस्तै इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) ले १३ सय नेपाली अनधिकृत रहेको अनुमान गरेको छ ।

अमेरिकामा सन् १९९० मा ३५ अनधिकृत आप्रवासी थिए । २०२२ मा हालसम्मकै उच्च अर्थात् १ करोड २२ लाख पुगेको थियो । त्यो संख्या केही घटेर हाल १ करोड १० लाख रहेको प्यु रिसर्चले जनाएको छ । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् ।

दोस्रो स्थानमा रहेको एल साल्भाडोरका ७ लाख ५० हजार छन् । तेस्रो स्थानमा रहेको भारतका ७ लाख २५ हजार अनधिकृत आप्रवासी छन् । तीमध्ये सबैभन्दा बढी पञ्जाब र गुजरात प्रान्तका भएको बताइएको छ ।

त्यस्तै, ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् । अनधिकृत आप्रवासीमध्ये सबैभन्दा बढी क्यालिफोर्निया राज्यमा १८ लाख छन् । टेक्सासमा १६ लाख, फ्लोरिडामा १२ लाख, न्युयोर्कमा ६ लाख ५० हजार, न्युजर्सीमा ४ लाख ७५ हजार र इलिनोईमा ४ लाख अनधिकृत आप्रवासी छन् । त्यस्तै, जर्जियामा ३ लाख ५० हजार, नर्थ क्यारोलाइनामा ३ लाख २५ हजार, मासाचुसेट्समा ३ लाख र वासिङ्टनमा ३ लाख अनधिकृत आप्रवासी छन् । अमेरिकी सरकारका अनुसार अनधिकृत आप्रवासी नेपालीहरू १३ सय ६३ छन् । पछिल्लो वर्षहरूमा ब्राजिल, मेक्सिको, ग्वाटेमालालगायतका मुलुक हुँदै अनधिकृत रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या बढ्दो छ । अमेरिका छिर्ने क्रममा कतिपय नेपाली पक्राउ पनि परेका छन् । र, कतिपयको ज्यानसमेत गएको छ ।




आईसीईका अनुसार सन् २०२४ मा १ सय ९२ देशका २ लाख ७१ हजार ४ सय ८४ गैरनागरिकलाई आफ्नो देश फिर्ता गरिएको थियो । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ८७ हजार २ सय ९८ जना छन् । त्यस्तै, ग्वाटेमालाका ६६ हजार ४ सय ३५, होन्डुरसका ४५ हजार ९ सय २३ र एल साल्भाडोरका १५ हजार २ सय ८४ जना थिए । त्यस्तै, भारतका १५ सय २९ र नेपालका ५७ जनालाई ‘डिपोर्ट’ गरिएको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जनाएको छ ।

पहिलो चरणमा ट्रम्प प्रशासनले न्युजर्सी, कोलोराडो, इलिनोई, क्यालिफोर्निया, आयोवा, न्युयोर्क, टेक्सास, युटा, मिनेसोटा, फ्लोरिडा, मेरिल्यान्ड, मासाचुसेट्सलगायतका राज्यमा रहेका अनधिकृत आप्रवासीलाई नियन्त्रणमा लिने योजना बनाएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाका टेक्सास, न्युयोर्क, क्यालिफोर्निया, मेरिल्यान्ड, मासाचुसेट्स, कनेक्टिकट, भर्जिनिया, वासिङ्टन डीसी, नर्थ क्यारोलाइना, ओक्लाहोमालगायत राज्यमा बाक्लो उपस्थिति छ ।

अनधिकृत आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने र मेक्सिको सीमामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको योजना छ । शपथग्रहणपछिको सम्बोधनमा ट्रम्पले अनधिकृत आप्रवासीलाई ‘अनधिकृत एलियन’ को संज्ञा दिँदै उनीहरू ‘जहाँबाट आएका हुन् त्यहीँ फर्काइदिने’ बताएका थिए । ‘सबै अनधिकृत प्रवेश तुरुन्तै रोकिनेछ । हामी लाखौंलाख आपराधिक विदेशीहरूलाई तिनीहरू आएका ठाउँहरूमा फर्काउने प्रक्रिया सुरु गर्नेछौं,’ ट्रम्पले भनेका थिए ।

ट्रम्प प्रशासनका सीमा प्रमुख (बोर्डर जार) टम होमनले अनधिकृत आप्रवासीहरू कुनै पनि बेला पक्राउ हुन सक्ने जनाएका छन् । ‘आपराधिक पृष्ठभूमि नभए पनि कागजातविहीन प्रत्येक आप्रवासीहरू कुनै पनि समयमा पक्राउ पर्न सक्छन्,’ होमनले भनेका छन् ।

ट्रम्पले शपथ लिएकै दिन कार्यवाहक आन्तरिक सुरक्षा (होमल्यान्ड सेक्युरिटी) मन्त्री बेन्जामिन हफम्यानले अध्यागमन अधिकारीहरूले ‘संवेदनशील’ क्षेत्रहरूमा कारबाही सञ्चालन गर्न सक्ने भन्दै निर्देशन जारी गरेका थिए । ‘अपराधीहरू अब गिरफ्तारीबाट बच्न अमेरिकाको स्कुल र चर्चहरूमा लुक्न सक्षम हुने छैनन्,’ उनले एक विज्ञप्तिमा भनेका छन् ।

विद्यमान कानुनअनुसार शरणका लागि आवेदन दिएका र निर्णयको पर्खाइमा रहेका व्यक्तिहरू कानुनी बासिन्दा नभए पनि उनीहरूलाई देशनिकाला गर्न मिल्दैन । सामान्यतया अमेरिकाबाट निर्वासन वा निष्कासनको सामना गरिरहेका व्यक्तिहरूले ‘डिफेन्सिभ’ र निष्कासनको प्रक्रियामा नभएका व्यक्तिहरूले ‘एफर्मेटिभ’ शरणका लागि आवेदन दिने गर्छन् ।

सन् २०२२ जुलाईसम्म करिब ९ लाख १५ हजारले दिएको ‘डिफेन्सिभ’ र ७ लाख २० हजारले दिएको ‘एफर्मेटिभ’ आवेदन विचाराधीन छ । डिफेन्सिभ आवेदन न्याय मन्त्रालयको अध्यागमन कार्यालय र आन्तरिक सुरक्षा मन्त्रालय अन्तर्गतको नागरिकता र अध्यागमन सेवा कार्यालयले हेर्ने गर्छ ।

तर, होमनले अनधिकृत रूपमा रहेका जो कोहीले अमेरिका छाड्नुपर्ने र शरण लिन खोज्नेहरूले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् । ‘कानुनी प्रक्रियाका लागि दूतावास जानुहोस्,’ उनले भने, ‘यो देशमा आएर शरणका लागि अनुरोध गर्न पाइँदैन । अनधिकृत रूपमा अमेरिका प्रवेश गर्नु भनेको हाम्रो कानुन तोड्नु हो ।’ सेना मात्र नभई न्याय मन्त्रालयसहित सम्पूर्ण निकायलाई सामूहिक निर्वासन योजना र यसको कार्यान्वयनका लागि परिचालन गरिने होमनको भनाइ छ ।

ट्रम्पले जनवरी २० मा शपथ लिएसँगै अवैध रूपमा बसिरहेकालाई ‘डिपोर्ट’ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । लगत्तै अनधिकृत आप्रवासीहरू धमाधम पक्राउ गर्न थालिएको हो । आईसीईले आइतबार मात्रै ९ सय ५६ जनालाई पक्राउ गरेको छ । जुन ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता एकै दिन पक्राउ परेको सबैभन्दा ठूलो संख्या हो । शनिबार करिब ३ सय जना पक्राउ परेका थिए । ट्रम्पको शपथपछि दैनिक सरदर ४ सय ३३ जना अनधिकृत आप्रवासीलाई पक्राउ गरेको जनाइएको छ । आइतबार पक्राउ परेका मध्ये अधिकांश विभिन्न अपराधमा दोषी ठहरिएका व्यक्तिहरू भएको आईसीईले जनाएको छ । तीमध्ये केही हत्या र यौन दुर्व्यवहारजस्ता गम्भीर अपराधमा दोषी ठहर भइसकेका रहेको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टका अनुसार ट्रम्प प्रशासनले आईसीईलाई हरेक दिन कम्तीमा १२ सयदेखि १५ सय अनधिकृत आप्रवासीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । एनबीसी न्युजका अनुसार आइतबार वासिङ्टन, न्युयोर्क, क्यालिफोर्निया, लुजियाना, कोलोराडो, इलिनोइलगायत राज्यबाट पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये केहीलाई कोलम्बिया पुर्‍याइएको छ । सुरुमा अमेरिकाबाट फिर्ता ल्याइएका आप्रवासी रहेका सैनिक विमान अवतरणका लागि कोलम्बियाले अनुमति दिएको थिएन । त्यसलगत्तै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र ट्रम्पबीच वाकयुद्ध चलेको थियो ।

त्यसलगत्तै राष्ट्रपति ट्रम्पले कोलम्बियाविरुद्ध नयाँ प्रतिबन्ध र नीतिहरूको घोषणा गरे । उनले ‘आपत्कालीन २५ प्रतिशत कर’ लगाउने र केही सातामा ५० प्रतिशत पुर्‍याइने चेतावनी दिएका थिए । त्यसका साथै उनले कोलम्बियाली नागरिकका लागि यात्रा प्रतिबन्ध र कोलम्बियाली अधिकारीहरूको भिसा रद्द गर्ने घोषणा गरे । ट्रम्पको घोषणाको केही घण्टापछि कोलम्बियाका राष्ट्रपति पेट्रोले पनि वाणिज्य मन्त्रालयलाई अमेरिकी आयातमा २५ प्रतिशत कर बढाउन आदेश दिएका थिए । तर, ट्रम्पको चेतावनीपछि कोलम्बियाले सैन्य विमानहरूमा फिर्ता पठाइएका आप्रवासीलाई स्वीकार गर्ने निर्णयमा पुगेको छ ।

कोलम्बियाले ‘राष्ट्रपति ट्रम्पका सबै सर्तहरू’ मा सहमत भएको जनाएको छ । ‘हामी निर्वासितका रूपमा फर्कने कोलम्बियाली नागरिकलाई स्वीकार गर्नेछौं,’ विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले भनेका छन् । उनले आप्रवासी बोकेर अमेरिकाबाट फर्केका उडानहरू फेरि सुरु भएको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै ‘राष्ट्रपति ट्रम्पले राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने र अमेरिकामा अनधिकृत रूपमा रहेका आफ्ना नागरिकको निर्वासनलाई स्वीकार गर्न विश्वका अन्य सबै राष्ट्रहरूले सहयोग गर्ने आशा राखेको’ जनाएको छ । अमेरिकाले मेक्सिकोलाई पनि अमेरिका–मेक्सिको सीमामा प्रवेश गर्ने बन्दरगाहमार्फत आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ताका लागि मद्दत गर्न आग्रह गरिरहेको छ । मेक्सिकोले बिहीबार आप्रवासी बोकेको अमेरिकी सैन्य विमानलाई अवतरणका लागि अनुमति दिएको थिएन ।

ट्रम्पले मेक्सिकोले अनधिकृत आप्रवासीलाई प्रवेश गर्न बाटो दिएकाले मेक्सिकोविरुद्ध २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए । तर, यो कार्यान्वयनमा भने ल्याइसकेका छैनन् । ह्वाइटहाउसले भने प्रशासनिक समस्याका कारण उडान नभएको जनाएको छ । ह्वाइटहाउस प्रेस सचिव कारोलिन लेभिटले मेक्सिकोले एकै दिनमा ४ वटा निर्वासित आप्रवासी बोकेका उडान स्वीकार गरेको बताएकी छन् । तर, ती उडान सैन्य, व्यावसायिक वा निजी कुन विमानले गरे भन्नेबारे उनले केही उल्लेख नगरेकी सीएनएनले जनाएको छ । ब्राजिलले आइतबार आप्रवासी फिर्ता गर्ने क्रममा ट्रम्प प्रशासनले आफ्ना नागरिकलाई ‘अपमानजनक व्यवहार’ गरेको भन्दै निन्दा गरेको थियो । ब्राजिली अधिकारीका अनुसार अमेरिकाबाट ब्राजिली नागरिकलाई फिर्ता गरिएको जहाजमा ८८ जनालाई हतकडी लगाइएको थियो ।

उक्त जहाज तोकिएको भन्दा फरक सहरमा अवतरण गरिएको ब्राजिली अधिकारीहरूको भनाइ छ । ‘हतकडी र सिक्रीको प्रयोग, विमानको खराब अवस्था, खराब वातानुकूलित प्रणाली र अन्य समस्याहरूका कारण’ विमानलाई गन्तव्यमा पुग्न रोकिएको र फिर्ता गरिएका नागरिकलाई ब्राजिलको हवाई सेनाको जहाजबाट गन्तव्यमा पुर्‍याइएको सीएनएनले जनाएको छ ।

यसअघि गत बिहीबार पनि ठूलो संख्यामा अनधिकृत आप्रवासीलाई पक्राउ गरेको थियो । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार बिहीबार ५ सय ३८ अनधिकृत आप्रवासी पक्राउ परेका थिए । तीमध्ये २ सय ६५ जनालाई सैनिक विमानबाट उनीहरूकै देश फिर्ता गरिएको ह्वाइटहाउसकी प्रेस सचिव लेभिटको भनाइ छ । ५ सय ३८ मध्ये ३ सय ७३ जनाको पृष्ठभूमि आपराधिक रहेको लेभिटको भनाइ छ । १ सय ६५ जना भने गैरआपराधिक पृष्ठभूमिका हुन् । तीमध्ये केहीलाई ग्वाटेमाला पुर्‍याइएको छ । सीबीएस न्युजका अनुसार तीन वटा सैनिक विमानले २ सय ६५ जनालाई ग्वाटेमाला पुर्‍याएको हो । तीन वटा विमानमध्ये एउटामा १ सय ५ जना र दुइटामा ६०/६० जनालाई लगिएको हो ।

भारतले भने अमेरिकामा ‘अवैध रूपमा’ बसोबास गरिरहेका भारतीय नागरिक फिर्ता गर्न तयार रहेको जनाएको छ । भारतले तत्काल करिब १८ हजार अवैध वा कागजात नभएका नागरिक फिर्ता ल्याउन ट्रम्प प्रशासनसँग काम गरिरहेको जनाइएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकरले अवैध रूपमा अमेरिकामा बसिरहेका नागरिक फिर्ता लिन भारत तयार रहेको बताएका हुन् । ‘यदि हाम्रा नागरिक यहाँ कानुनी रूपमा बसिरहेका छैनन् र उनीहरू हाम्रो देशका नागरिक हुन् भने हामी उनीहरूको न्यायोचित भारत फिर्तीका लागि सधैं तयार छौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...