— वैदेशिक रोजगारको नाममा ठगी गर्ने ५ जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी कारबाही अघि बढाएको छ ।
पीडित महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानाडा पठाइदिने भन्दै पटकपटक गरी ६६ लाख ६७ हजार रुपैयाँ ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो ।
विभिन्न विदेशी मोबाइल नम्बरहरुबाट व्हाट्सएपमार्फत सम्पर्क गरी गिरोहले उनीहरुलाई ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले माघ ८ गते पक्राउ गरेका अभियुक्तहरुमा २३ वर्षीय भारतीय नागरिक केशव यादव र २२ वर्षीय रोहितकुमार पासवान, २३ वर्षीय करण भन्ने अमित राय, ३० वर्षीय बुद्धनारायण मलाह र २५ वर्षीय बोधराज राजवंशी रहेका छन् ।
अनुसन्धानका क्रममा मुख्य अभियुक्त केशव यादवले अन्य व्यक्तिहरुलाई समेत पैसाको प्रलोभन देखाई ई-सेवा, खल्तीजस्ता डिजिटल वालेट र बैंक खाताहरु खोल्न लगाई तिनको प्रयोगकर्ता पहुँच र पासवर्ड लिई कारोबार गरेको खुलेको छ ।
मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमा विज्ञापन देखाई वैदेशिक रोजगारीको प्रलोभनमा पारी अनलाइन ठगी गर्ने यस्ता घटनाहरु बढ्दै गएको भन्दै सचेत रहन सर्वसाधारणलाई प्रहरीले आग्रहसमेत गरेको छ ।