— राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति गाउँघरबाट रित्तिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यो संकटबाट राष्ट्रलाई जोगाउन गाउँमै आम्दानी र रोजगारीको व्यवस्था पहिलो आवश्यकता रहेको औंल्याए ।
छिमेकी जिल्लाको छिमेकी गाउँ लमजुङको मध्यनेपाल नगरपालिका ३, सोतीपसलस्थित मंगला माविको हीरक जयन्तीलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने पेशामा रुपान्तरण गर्नपर्ने बताए । उनले कृषिजन्य उद्योग र नयाँ उद्योगधन्दा गाउँगाउँमा खोल्ने प्रवन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग ल्याउनुपर्नेमा जोड दिए । उनले ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको र उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको बताए । ‘पछिल्लो समय गाउँबाट सहर र सहरबाट विदेशिने श्रृंखला अटूट छ,’ उनले भने ।
राजनीतिक परिवर्तनपछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने भन्दै उनले गुणस्तरीय शिक्षा नै देश विकासको जग र आधार भएको बताए । ‘अब हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ । तर, आज म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिँदैछन्, त्यति नै गाउँ रित्तिँदैछन् ।’
The condition of the village should not be taken for granted: President Paudelराष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि शिक्षालाई उद्यमशीलतासंग जोड्नुपर्ने बताए । ‘अलिकति अठोट गर्ने हो भने कृषि क्रान्तिको सम्भावना छ । हाम्रो जीवन यही प्रकृतिमा सुखी र खुखी हुन सक्छन्,’ उनले भने । उनले कृषिको आधुनिकिकरण र व्यवसायिकीकरण गरी औधोगिकिकरणतर्फ फड्को मार्नुको विकल्प नभएको बताए । उनले उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने र नीतिनिर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको प्रस्ट पारे । उनले हिमाल, पहाड र तराईको हावा, पानी र माटो अनुपम रहेको र यसलाई उपयोग गरी मुलुकलाई आर्थिक विकासको क्षेत्रमा कायापलट गर्ने शिक्षा दिन जरुरी रहेको बताए । देश विकासका लागि कृषिलाई आधुनिकिकीकरण, व्यवसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता रहेको उनले बताए ।
‘गाउँबाट अस्थिर भएको मनलाई आधुनिक सेवा र सुविधा पुर्याएर गाउँमा नै बसौं बसौं बनाउन म राजनीतिमा लागेको हुँ,’ उनले पहिलोचोटि चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर भनेको स्मरण गर्दै भने, ‘त्यसपछि गाउँमा बिजुली, पानी, बाटो, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधासम्पन्न पूर्वाधार गर्ने गरी ग्रामीण स्वालम्बनको कार्यक्रम सुरु गरियो । त्यसयताको अवधिलाई फर्केर हेर्दा गाउँमा आधारभूत सुविधाको प्रबन्ध पनि भयो । गाउँको जनजीवन फेरियो । उत्पादन बजारमा लैजाने अवस्था पनि बन्यो । तर, सुविधा पुगेर पनि आज गाउँ रित्तिने जुन दुःखद् परिस्थिति देखापरिरहेछ, यसलाई सामान्य रूपमा हेर्नुहुन्न । यही अवस्था विद्यमान रहनु मुलुकको लागि चिन्ताको विषय हो ।’
राष्ट्रपति पौडेलले आफू जन्मे हुर्किएको नेपालको मध्यभागमा अवस्थित रिस्ति उपत्यकामा उभिँदा भावुक भएको बताउँदै भने, ‘बाहुनपोखराको एउटा किसानको छोरो आफ्नो लोकतान्त्रिक राजनीतिक निष्ठा, सिद्धान्त र आदर्शबाट कत्तिपनि बिचलित नभई जेलनेल, संघर्ष र यातनाको रत्तिभर पर्वाह नगरी आज जुन ठाउामा पुगेको छु, त्यसमा यही माटो, हावापानी र साथीसंगतको ठूलो योगदान छ ।’
देशको मध्यबिन्दुमा रहेको मध्यनेपाल नगरपालिका र रिस्तीक्षेत्रलाई बहुआयामिक विकास अवधारणाअनुरूप रिस्ती उपत्यका एकीकृत विकास योजनाकारुपमा अघि बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले विश्वास दिलाए ।