मुख्य समाचार
अमेरिकाले पहिलो चरणमा १३ सय ६५ नेपाली अमेरिकाबाट फर्काइँदै
अमेरिकाले पहिलो चरणमा १३ सय ६५ नेपाली अमेरिकाबाट फर्काइँदै

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक कागजातबिना बसोबास गर्दै आएका आप्रवासीलाई देश निकाला गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै १३ सय नेपाली पहिलो चरणमा फर्काइनेको सूचीमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) का अनुसार नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने तयारी छ ।

आईसीईका अनुसार उक्त सूचीमा २०२४ नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेका समावेश छन् । आईसीईले सूचीमा रहेका नेपाली पक्राउ परे/नपरेको र देश निकाला गरिएको/नगरिएको केही तथ्यांक सार्वजनिक गरेको छैन । पहिलो चरणको सूचीमा २०१५ जुन २४ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका नेपाली छन् ।

२०१५ जुन २४ अघि अमेरिका आएका र देश निकालाको आदेश पाइसकेका अधिकांश नेपाली ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) को संरक्षणमा छन् । ३ हजार ५ सयभन्दा बढी नेपालीले अदालतबाट देश निकालाको आदेश पाए पनि टीपीएसको संरक्षणमा रहने करिब २ हजार मात्र छन् । बाँकी आईसीईको सूचीमा छन् ।

पहिलो चरणमा पूर्ण रूपमा कानुनी कागजपत्रविहीन, आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट आदेश गरिएका र पहिले नै देश छाड्न भनिएकालाई पक्राउ गरिने आईसीईले जनाएको छ । टीपीएस संरक्षण खारेज गरिए थप २ हजारभन्दा बढी नेपाली निकालाको सूचीमा समावेश हुनेछन् ।

वासिङटन डीसीस्थित नेपाली दूतावासले यसबारे औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ । दूतावासका ‘इकोनोमिक कन्सुलर’ युगराज पाण्डेले नेपाली पक्राउ परेको वा देश निकाला भएकोबारे जानकारी नआएको बताए । आधिकारिक कागजातबिना अमेरिकामा बसोबास गर्दै आएका नेपालीको यकिन संख्या दूतावाससँग नभएको पनि उनले बताए ।

अमेरिकामा आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासी १ करोड १० लाख रहेको तथ्यांक सार्वजनिक गरिएको छ । ‘प्यु रिसर्च’का अनुसार तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार र तेस्रोमा भारतका ७ लाख २५ हजार छन् ।




त्यस्तै, ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् । त्यस्ता आप्रवासी सबैभन्दा बढी क्यालिफोर्निया राज्यमा १८ लाख छन् । टेक्सासमा १६ लाख, फ्लोरिडामा १२ लाख, न्युयोर्कमा ६ लाख ५० हजार, न्युजर्सीमा ४ लाख ७५ हजार र इलिनोईमा ४ लाख छन् । ट्रम्पले शपथ ग्रहणलगत्तै आधिकारिक कागजात नभएका आप्रवासीलाई फिर्ता गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...