प्रधानमन्त्री केपी शर्मा ओलीले नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि समुद्रसम्म पहुँच विस्तार गर्ने काम थालिएको स्पष्ट पारेका हुन्।
उनले पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताए। प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको जनाए।
‘अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौं। त्यो वास्तविक छैन। खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यापार मान्न सकिँदैन।’, प्रधानमन्त्री ओलीले भने,‘हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्नेछ। अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ।’
नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफू सप्रिउँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एस्क्पो भएकामा खुसी व्यक्त गरे।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृत्रिम बौद्धिकताबारे नीतिगत स्पष्टता गरी कानुनी प्रबन्ध गर्ने र सूचना प्रविधि क्षेत्रको व्यवसायिक विकासका लागि सरकारले ल्याएका अध्यादेश उपयोगी हुने बताए।
नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ।