— गएको मंसिर अन्तिम साता थलारा गाउँपालिका–१ का २५ वर्षीय टेक गिरी केदारस्युँ गाउँपालिकाको देउरा बजारबाट घर फर्किंदै थिए । केदारस्युँ र थलारा गाउँपालिका जोड्ने सेती नदीको साँघु तर्दै गर्दा असन्तुलित भएर उनी नदीमा खसे । २३ दिनपछि डोटी जिल्लाको बोरीबगरमा उनको शव भेटियो ।
दुई वर्षअघि भट्ट थरका एक स्थानीय पनि काठेसाँघु तर्दै गर्दा सेतीमा खसेका थिए । उनको शव १९ दिनपछि भेटिएको थियो । २०७८ कात्तिकको बाढीले झोलुंगे पुल बगाएपछि डोटी, बैतडी र बझाङको व्यापारिक केन्द्रका रूपमा रहेको केदारस्युँको देउरा बजार आउजाउ गर्न स्थानीयले सास्ती बेहोरिरहेका छन् ।
पुल नहुँदा देउरा बजार पुग्न बझाङको थलारा, डोटीको सायल र आदर्श गाउँपालिका तथा बैतडीको सिगास गाउँपालिकाका स्थानीयलाई वर्षातमा देउरा पुग्न दिनभर हिँड्नुपर्ने बाध्यता छ । पुल नभएका कारण स्थानीय किसानले उत्पादन बिक्री नभएर खेर फाल्दै आएका छन् । स्थानीय उत्पादन बिक्री गर्न, औषधोपचार गर्न र दैनिक उपभोग्य सामान किन्न समस्या हुने गरेको छ । देउरामा रहेको बेताल माध्यमिक विद्यालयमा अध्ययनरत थलाराका १५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ ।
यता २०७९ चैतमै यो ठाउँमा नयाँ झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता गरे पनि निर्माणको काम अझै सकिएको छैन । १८ महिनाभित्र निर्माण सक्नुपर्ने सर्तमा १ करोड ५० लाखमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीमार्फत ठेक्का लागेको थियो । काम ढिलाइ हुनुमा ठेकेदार कम्पनीको लापरबाही जिम्मेवार रहेको स्थानीयको गुनासो छ ।
ठेकेदार कम्पनीले भने आफ्नो लापरबाही नभएर काम गरेको रकम आयोजना कार्यालयले भुक्तानी नदिँदा पुल निर्माण नसकिएको बताएको छ । दार्चुलाको लक्ष्य दुल्ला, बैतडीको सुर्नया, बझाङको पारीगाड र देउरा गरी चार पुल निर्माणको जिम्मा लिएको देवभूमि कन्स्ट्रक्सन कम्पनीले सम्पन्न भइसकेका पुलको समेत रकम भुक्तानी नपाएका कारण निर्माणमा ढिलाइ भइरहेको ठेकेदार रामबहादुर शाहीले बताए ।
‘२०८० माघमा सकिएको पुलको भुक्तानी पाएका छैनौं । एक करोडभन्दा बढी रकम कार्यालयले भुक्तानी दिएको छैन,’ शाहीले भने, ‘देउराको समस्या देखेर नसकिएका कुनै एक पुलको भुक्तानी दिनुस् । देउराको पुल एक महिनाभित्र बनाउँछु भनेर यहाँ (धनगढीस्थित कार्यालय) धाएको धायै छु ।’ देउराको पुल निर्माणका लागि चाहिने फलामे सामान बनाउन १२ लाख पेस्की दिएर २०८० वैशाखमै सामान निर्माण भइसकेको तर रकम नतिरेका कारण सामान ल्याउन नदिएको उनले बताए । ‘करिब ७० लाख तिर्न बाँकी छ । पैसा नदिएका कारण सामान दिन मानेको छैन । हामीले कसरी काम गर्ने ?’ उनले भने ।
लामो समयसम्म निर्माण सकिएको कामको भुक्तानी नपाउँदा स्थानीय मजदुर, दक्ष मिस्त्री र विभिन्न हार्डवेयर तथा सामान निर्माण गर्ने कम्पनीको हैरानी खेप्नु परिरहेको शाहीले सुनाए । सकिएको कामको भुक्तानी नपाएका कारण ठूलो तनाव झेलिरहेको अर्का निर्माण व्यवसायी शेरबहादुर बोहराले बताए । जगदम्बा सुर्मा सरोवर जेभी कम्पनीमार्फत ६ वटा पुल निर्माणको जिम्मा लिएका उनले तीन करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको सुनाए ।
‘चार वटा पुल पूर्ण रूपमा सम्पन्न गरेर असारमै बिल पेस गरिसकेको हो । अरू दुइटाको काम पनि सकिने चरणमा आएर रोकिएको छ,’ बोहराले भने, ‘काम गरेको पैसा माग्नेले मुद्दा हाल्छौं भनेर तनाव दिइरहेका छन् । गाली–बेइज्जती गरिरहेका छन् । सरकारले पैसा दिँदैन, हामी के गरौं ।’ काम रोकिँदा निर्माणस्थलसम्म ढुवानी गरिएको सिमेन्ट बिग्रने, सामान चोरी हुनेलगायत समस्याले निर्माण कम्पनीलाई थप पीडा भइरहेको उनले जनाए । ‘२०८० चैतदेखि तीन जना हाकिम सरुवा भइसके । हामी कार्यालयमा धाउँदा–धाउँदै थाकिसक्यौं,’ उनले भने ।
अहिले सुदूरपश्चिमका बझाङ, बाजुरा, दार्चुला, कैलाली, अछाम, कञ्चनपुर र डोटीमा निर्माण सकिएका र निर्माणाधीन १८ वटा पुलको रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीले बताएको छ । यी सबै पुलको गरेर ८ करोड १७ लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको कार्यालयको तथ्यांक छ । स्थानीय पूर्वाधार विकास विभागलाई भुक्तानी दिन बाँकी रकम माग गरिसकिएको तर अर्थ मन्त्रालयबाट रकमान्तर भएर नआएका कारण ढिलाइ भइरहेको आयोजना कार्यालयका प्रमुख टंक खनालले बताए ।
‘हामीले दिनुपर्ने रकमको फाइल सबै पेस गरिसकेका छौं । तर रकमान्तर भएर आएको छैन,’ खनालले भने, ‘छिट्टै रकम आउने आशा छ । आएपछि तत्काल भुक्तानी गर्ने गरी हामीले सबै कागजपत्र तयारी अवस्थामा राखेका छौं ।’