— नारायणी अस्पताल वीरगन्जको भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालका चिकित्सकले शुक्रबार राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । अस्पताल भवन निर्माण संघर्ष समितिको आह्वानमा बिहान ११ देखि १२ बजेसम्म १ घण्टा चिकित्सकले अस्पतालको दुवैतर्फको भवनको बीचमा रहेको त्रिभुवन राजपथ अवरुद्ध गरेका हुन् ।
समितिका संयोजक एवम् अस्पतालका चिकित्सक डा. नीरज सिंहले ५ सय शय्याको भवन निर्माणको विषय न्यायालयमा अड्किएको बताए । उनका अनुसार जीर्ण तथा पुरानो भवनका कारण बिरामी र चिकित्सकलाई सास्ती भइरहेकाले विवादको अविलम्ब निकास गरी भवन निर्माण सुरुवातका लागि दबाब दिन प्रदर्शन गरिएको हो ।
२०७४/७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सरकारले प्रत्येक प्रदेशमा ५ सय शय्याको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । त्यसअनुरूप मधेश प्रदेशअन्तर्गत नारायणी अस्पतालमा भवन निर्माण गर्न लागिएको हो । भवनका लागि १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार रुपैयाँ लागत अनुमानमा टेन्डर प्रक्रिया अगाडि बढेको थियो । टेन्डरमा एक मात्र बोलपत्रदाता ज्वाइन्ट भेन्चरको एनडीई/भीसीआईपी/एसएसएनसी ललितपुर पुल्चोक कम्पनी छनोट भएको थियो ।
टेन्डर बोलपत्र निर्माण प्रक्रियामा पूर्णता परीक्षण गर्दा तीमध्ये एउटा कम्पनीको राजस्व दाखिला नदेखिएपछि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीको विवाद सर्वोच्च अदालत पुगेको हो । लामो समय बित्दा पनि मुद्दाले निकास नपाउँदा टेन्डर प्रक्रियाले पूर्णता पाएको छैन । एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत देशका अन्य सरकारी केन्द्रीय अस्पतालमा नयाँ भवन निर्माण भइसके पनि वीरगन्जमा भने काम नै सुरु हुन नसकेको सिंहले बताए ।
नारायणीमा सरकारी तथा विकास समितिबाट ३ सय शय्याको भवन सञ्चालनमा छ । विभिन्न समयमा वीरगन्जका व्यापारी तथा उद्योग वाणिज्य संघले अस्पतालको भौतिक संरचना बनाइदिए पनि सरकारका तर्फबाट कुनै संरचना निर्माण हुन सकेको छैन । अस्पतालको जीर्ण भवनका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको डा. सिंहको भनाइ छ ।
अस्पतालका स्वास्थ्यकर्मीले आफ्नो क्षमताअनुरूप सेवा दिन नसकेर अन्य अस्पतालमा बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए । नारायणीमा पर्सादेखि सर्लाहीसम्म तथा छिमेकी भारतको बिहार राज्यका सीमावर्ती गाउँ तथा सहरका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् ।